गणतन्त्र भारत र हामी

गणतन्त्र भारत र हामी


ghatana-logo-1

करिब डेढ वर्षअघि जारी गरिएको गणतन्त्रात्मक लोकतान्त्रिक संविधान कार्यान्वयनमा नेपालले जटिलता व्यहोरिरहँदा छिमेकी मित्रराष्ट्र भारतले आफ्नो ६८औँ गणतन्त्र दिवस धुमधामले मनाउँदै छ । धेरै लामो समयसम्म पराधीन रहनुका साथै विभिन्न राजा–रजौटाहरूको शासनको छाया परेर अनेक बाधा–अप्ठ्याराको सामना गर्दै भारत आज हातका औँलामा गन्न सकिने विश्वकै समृद्ध शक्तिराष्ट्रको पङ्क्तिमा उभिन पुगेको तथ्य छर्लङ्ग छ । पराधीनताको तिक्तता व्यहोरेको हुँदा राष्ट्रिय स्वाधीनताको महत्व कस्तो हुन्छ भन्ने कुरा भारत वा भारतीय जनताले राम्ररी महसुस गरेका छन् । त्यसैको प्रतिफल आज उनीहरूको राष्ट्रियताप्रतिको भावना अनुकरणीय मानिन्छ । गणतन्त्रले प्रदान गरेको समानता र आत्मगौरवको भावले पनि भारतलाई विकासको फड्को मार्न जनताको साथ–समर्थन दिइरहेको विज्ञजनको धारणा छ । यसर्थ, भारतका लागि गणतन्त्र दिवस सुखद तथा खुसियालीको एक अहम् अवसर बन्ने गरेको छ ।

गणतन्त्रमा प्रवेश गरेपछि भारतले प्राप्त गरेको सफलता, विकास र समृद्धि लोभलाग्दो छ । अधिक नजिकको खुला सीमायुक्त छिमेकी हुनुको नाताले भारतबाट नेपालले यसको लाभ उठाउन सक्दो कोसिस गरिनुपर्नेमा यो अझै अपर्याप्त नै रहेको कटु यथार्थ हो । यस सवालमा आर्थिक तथा राजनीतिक रूपमा स्थिर बन्न नसक्नु हाम्रो दुर्भाग्य हो । निश्चय नै भूगोल बदलिँदैन, परापूर्वकालदेखि रहेको अन्तरसम्बन्ध पनि टुट्न सक्दैन र पनि समयसँगै पुस्ता बदलिन्छ अनि बदलिएको पुस्तासँगै सम्बन्धले नयाँ व्याख्या, नयाँ आयाम र अवसर खोजिरहेको हुन्छ । तर, यो बदलावको खोजीलाई भ्रमपूर्ण अपव्याख्याको जलप दिएर मित्रराष्ट्र भारतसँगको अन्योन्याश्रित सम्बन्धलाई नै खलल पु¥याउन खोज्ने प्रवृत्ति यदाकदा यहाँ टाउको उठाउन खोज्छ । तथाकथित राष्ट्रवादको आवरणमा द्विदेशीय सम्बन्ध भड्काउन खोजिए पनि सम्बन्धको अन्तरनिर्भरता भने ज्युँकात्युँ रहेको सत्य अस्वीकार गर्न भने कसैले सक्दैन ।

सर्वाधिक निकटको छिमेकी मित्रदेश हुनुको नाताले भारतका सामाजिक, आर्थिक, राजनीतिक क्रियाकलाप वा आयामहरूको सोझो प्रभाव नेपालमा पर्दछ । त्यसमाथि नेपाल तीनतिरबाट भारतवेष्टित हुनुको कारण नेपालसँग जोडिएका भारतका पाँचवटा प्रदेशसँग त भौगोलिक एकरूपता र सांस्कृतिक समानता मात्र नभई हाम्रो अन्तरनिर्भरता पनि त्यत्तिकै छ । दुवै देशका नागरिक विशेष गरेर भारतका पाँच प्रदेश र ती पाँचसँग जोडिएको नेपाली भूभागका मानिस एक–अर्कासँग अविभाज्यझैँ गाँसिएका छन् । भारतका हरेकजसो भूभागमा नेपाली पुगेका छन् भने कतिपय ठाउँमा त रैथानेसरह (आफ्नै देशमा झैँ) भएर बसेका छन् । यस भौगोलिक–सांस्कृतिक परिवेशमा नेपालले आफ्नो भारतसँगको सम्बन्धलाई हेर्दै आएको छ, हेर्नुपर्ने हुन्छ ।

तथापि, सम्बन्धको प्रगाढताका कारण नै मान्नुपर्छ– दुई छिमेकी राष्ट्रबीच बेलाबेला तिक्तताको माहोल पैदा हुने गर्छ । सम्बन्धको महिमा–महत्व नबुझेर या मित्रवत सम्बन्धमा जानाजान विद्वेषको चिसोपानी छर्किन खोज्ने प्रवृत्तिका कारण पनि यस्तो अप्रिय अवस्था दुवैले झेल्नुपरेका अनेक सन्दर्भ नभएका होइनन् । यसका बाबजुद दुई छिमेकीबीचको सम्बन्धमा स्थायी कटुताले घर गर्न नसक्नु दुवै मुलुकका लागि सन्तोषको विषय हो । सम्बन्धका कतिपय उतारचढावपूर्ण उहापोहबीच पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल र नेपालीहरूसँगको बहुआयामिक सम्बन्धको सम्मान एवम् पारस्परिक हित वा सहयोगका लागि लालायित रहेको सचेत तप्काबाट छिपेको विषय होइन । दुःखको कुराचाहिँ के छ भने मित्रराष्ट्र भारतबाट नेपालसँगको सम्बन्धलाई उन्नत बनाउने लालसा अनेक सन्दर्भ वा कोणबाट प्रकट भइरहँदा पनि नेपाली नेतृत्वले भने भारतसँगको सम्बन्धका नयाँ आयाम पहिल्याउनेबारे ठोस नीति र परियोजना पहिल्याउनै नसकेको अवस्था छ ।

नेपाल–भारत सम्बन्ध जति गहिरो छ त्यत्तिकै जटिल पनि छ भन्ने आवाज बेला–बेलामा मुखरित हुने गरेको सन्दर्भमा सम्बन्धलाई यसरी जटिल गाँठोको रूपमा चिनाउन उद्यत् प्रवृत्ति कसरी किन निम्तिने गर्छ भन्ने प्रश्नको चुरो पहिल्याउनु अपरिहार्य ठानिएको छ । सम्बन्धलाई नयाँ परिभाषा दिनका लागि विश्वासिलो राजनीतिक र व्यावहारिक वातावरण बनाउन हामी वास्तवमै चुकिरहेका छौँ र पनि सम्बन्धको ‘जटिलता’ आफ्नो ठाउँमा र जनता–जनताबीचको सम्बन्ध आफ्नै लयमा चलिरहनु सुखद् पक्ष हो ।

अन्त्यमा, विश्वमा नयाँ आर्थिक शक्तिका रूपमा स्थापित हुने क्रममा रहेको भारतसँगको मित्रता दिनानुदिन सङ्लियोस्, गणतन्त्र दिवसको अवसरमा समस्त भारतीय जनतामा हार्दिक बधाईका साथ नेपाल–भारतबीचको सम्बन्ध अझै प्रगाढ एवम् उदाहरणीय हुँदै जाओस् भन्ने कामना गरौँ ।