राप्रपामा भएन कोषको एकीकरण !

राप्रपामा भएन कोषको एकीकरण !


Rpp

लामो गृहकार्यपश्चात् एकीकृत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले मातहतका सबै निकायलाई एकताबद्ध बनाउने कार्य सम्पन्न गरिसक्दा पनि पार्टीको नगद तथा अन्य सम्पत्तिबारे सामान्य छलफलसमेत नहुँदा उक्त दलको दोस्रो तहका नेताहरू छक्क परेका छन् । पार्टी एकता हुनुअघि राप्रपा नेपालको कोषाध्यक्ष उद्धव पौडेल थिए भने राप्रपामा नीलकण्ठ काफ्लेले उक्त जिम्मेवारी सम्हालेका थिए । अहिलेसम्म न कोषाध्यक्षहरूले एकीकृत पार्टीको बैठकमा हिसाब बुझाएका छन् न नेताहरूले नै पार्टीको कोषबारे छलफल गर्न एजेन्डा बनाएका छन् ।

राप्रपाको एकीकृत महाधिवेशन आउन एक महिनाभन्दा कम समय बाँकी रहँदा पनि पार्टी कोषबारे पार्टीमा छलफल नहुनु आश्चर्यजनक मानिएको छ । दुवै पक्षले आ–आफ्नो पक्षको नगद र सम्पत्ति जे छ त्यसलाई ‘पेवा’का रूपमा लुकाइराख्ने र भविष्यमा पार्टी विभाजन भएपछि आ–आफ्नै प्रकारले त्यसको उपयोग गर्ने उद्देश्यले कोषबारे बैठकको एजेन्डा नबनेको आशङ्का पार्टीकै केही नेताहरूले गरेका छन् । विघटित राष्ट्रिय प्रजातन्त्र पार्टीको कोष पशुपति राणाको ‘मुड’अनुसार उपयोग हुने भए पनि कमल थापा नेतृत्वको राप्रपाले चाहिँ हिसाबकिताब व्यवस्थित गर्ने गरेको बुझिन्छ । थापाले भूकम्पपीडितहरूलाई सहयोग पु¥याउन भनी एक करोड रुपैयाँको त अक्षय कोष नै स्थापना गरेका थिए । तर, अहिले एकीकृत राप्रपाको नेतृत्व यी सब विषयमा ‘अनभिज्ञ’ रहेको बताइन्छ ।