फिल्म बनाउने हिरोइनको ताँती

फिल्म बनाउने हिरोइनको ताँती


Nisha-Silpa

सडकबाट उठाएर छविराज ओझाले रेखा थापालाई चलचित्रकी नायिका मात्रै बनाएनन्, आफ्नी घरवाली नै तुल्याए । तर, यौवन र रूपको घमण्ड गर्ने महत्वाकाङ्क्षी रेखाले छविको दायरामा बाँधिएर रहनुलाई सायद दासत्व नै ठानिन्, अर्थात् छविको साथले उनलाई बिझायो होला, साथ छोडेर एक्लै सङ्घर्ष गरिरहेकी छिन् । चलचित्रको अभिनेत्रीबाट दलको नेतृ बन्ने धुनमा बगेकी उनी यतिबेला राप्रपा नामक पार्टीको शरण परेकी छिन् । छवि ओझाबाटै सिकेको फिल्म निर्माण धन्दा पनि उनको बाँच्ने सहारा बनिरहेकै छ । नेतागिरीसँगसँगै फिल्म निर्माणलाई पनि निरन्तरता दिने उनको उद्घोष छ ।
निर्मात्री रेखा एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै हिरोइन हुँदै निर्मात्री बन्ने सुन्दरीहरूको होड नै चलेको छ । करिश्मा मानन्धर त पुुरानै खेलाडी भइहालिन् । चलचित्रको धन्दामा मन्दी आए पनि नेतागिरीको ‘व्यवसाय’ उनलाई पनि फाप्लाजस्तै देखिएको छ । कम्युनिज्म त्यागेर नयाँ शक्तिको नारा उराल्ने बाबुराम भट्टराईको दर्बिलो साथ पाएर करिश्मा रातारात नेतृका रूपमा उदाउँदै छिन् । तथापि, उनले पनि फिल्म निर्माणलाई चटक्कै नछोड्ने अभिव्यक्ति दिएकी छिन् ।

यस्तैमा नाम चलेका दुई सुन्दरीले आफूलाई फिल्म निर्माताको रूपमा अघि बढाउने घोषणा गरेका छन् । ती सुन्दरी नायिकाहरू हुन्– निशा अधिकारी र शिल्पा पोखरेल । बोल्ड छवि बनाएकी निशा त सगरमाथा आरोहीसमेत हुन् । सुन्दरता, साहस, सफलता, असफलता र विवादका अनेक किस्सा निशाको जिन्दगीसँग जोडिएका छन् र पनि सशक्त रूपमा आफूलाई समाजसामु उभ्याउन उनी चुकेकी छैनन् । यिनै निशाले ‘झ्यानाकुटी’ नामक सिनेमा निर्माण गर्ने भएकी छिन् । आगामी फागुनबाट उनको सिनेमा फ्लोरमा उत्रने बताइन्छ । उनीद्वारा अभिनीत अधिकांश फिल्म फ्लप रहे पनि सिमोस सुनुवारको निर्देशनमा बन्ने झ्यानाकुटीले आफूलाई निर्मात्रीको रूपमा स्थापित गर्ने विश्वास निशाले सँगालेकी छिन् ।

यसैगरी छवि ओझाकै अर्की खोज शिल्पा पनि निर्माताको रूपमा करिअर अघि बढाउन उत्ताउलिएकी छिन् । छविराज प्रोडक्सनबाट बन्न लागेको ‘मंगलम्’बाट शिल्पा निर्मात्रीका रूपमा प्रस्तुत हुन लागेकी हुन् । ओझाको ‘लज्जा’बाट उनी नायिकाको रूपमा झुल्केकी थिइन् । गत साताबाटै सुटिङ प्रारम्भ भएको मंगलम्को निर्देशन नवल नेपालले गर्दै छन् । लज्जापछि छविराजका सबै फिल्ममा प्रमुख भूमिका निर्वाह गर्दै आएकी शिल्पाले गत दशैँमा ‘किस्मत–२’ प्रदर्शनका क्रममा छविसँग आफूले बिहे गर्न लागेको हल्लासमेत चलाएकी थिइन् । तर, फिल्मको चर्चा चुल्याएर सफल पार्ने रणनीतिअन्तर्गत त्यस्तो हल्ला चलाइएको ठान्दै सो प्रसङ्ग फिल्मप्रेमीहरूले एकप्रकारले बिर्सिसकेका छन् ।

यसप्रकार, करिश्मा मानन्धर, शर्मिला मल्ल, मौसमी मल्ल, रेखा थापा, झरना थापा, ऋचा घिमिरे, ऋचा सिंह ठकुरी, ऋचा शर्मा, रेजिना उप्रेती, पूजना प्रधान, नम्रता श्रेष्ठ, जेनी कुँवर, शुभेच्छा थापा आदि हिरोइनहरूले विभिन्न नामका फिल्म निर्माण गरिसकेका छन् भने ‘नोभेम्बर रेन’की सहनायिका छुल्ठिम डोल्माले समेत ‘डायरी’ नामक फिल्म बनाएकी छिन् । छुल्ठिम गायक धीरज राईकी पूर्वपत्नी हुन् ।

Silpa-Nisha