‘बकुल्ले ध्यान’मा प्रचण्ड सरकार

‘बकुल्ले ध्यान’मा प्रचण्ड सरकार


केही दिनअघि मात्र प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको बिमा रकममा वृद्धि गरिएको घोषणा गरे । भारतमा रहेका कामदारलाई समेत ‘वैदेशिक रोजगारी’को मान्यता दिइने उद्घोष गर्दै गर्दा उनी के–के न ठूलो काम गरेझैँ गर्वित मुद्रामा देखिए । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने कुरा सब हावादारी सावित हुँदै गर्दा युवालाई जबर्जस्ती विदेश धपाएर प्रचण्डजीहरू कस्तो नेपालको कल्पना गर्दै छन्, प्रस्टिँदै गएको छ । वास्तवमा प्रचण्ड उर्फ पुष्पकमल दाहालको वर्तमान सरकार स्वयम् नै मानवतस्करीमा लागेको विभिन्न घटनाले सिद्ध गरिरहेका छन् । प्रचण्ड सरकारका गृहमन्त्री विमलेन्द्र निधिकै मिलेमतोमा मानवतस्करहरूले दैनिक दुई सयको हाराहारीमा विमानस्थल सेटिङ गर्ने गरेका अध्यागमनसम्बद्ध कर्मचारीहरू नै खुलासा गर्छन् ।

दुबईलाई ‘ट्रान्जिट प्वाइन्ट’ (प्रस्थानबिन्दु) बनाएर म्यानपावर व्यवसायी, दलाल, एजेन्ट, मानवतस्कर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनमा कार्यरत कर्मचारीले जनही एक लाखको हाराहारीमा घुस लिएर भिजिट भिसाको सेटिङ गर्दछन् । यसरी सेटिङबाट जम्मा हुने रकम प्रधानमन्त्री, गृहमन्त्रीलगायत प्रमुख पार्टीका शीर्षनेतासम्म पुग्ने गरेको छ । यहाँसम्म कि सरकारकै घटक दलको प्रमुख नेताकी पत्नीसम्म पनि गरिब युवाबाट चुसिएको यस्तो रकमको हिस्सा पुग्ने गरेको जानिफकारहरू दाबी गर्छन् ।

पञ्चायतकालमा पञ्चनेताको रूपमा उपल्लै तहमा रही पछि काङ्ग्रेस र पछिल्लो समय राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष बनेका शरत्सिंह भण्डारीको पार्टीमा त झन् म्यानपावर सञ्चालकहरू नै केन्द्रीय सदस्य रहेको भन्दै सोही पार्टीका केही नेता खिसिट्युरी गर्छन् । सर्सर्ती हेर्दा नेपालका कुनै पनि राजनीतिक दल मानवतस्करीको विकारबाट अलग रहन सकेका छैनन् भन्दा अत्युक्ति हुँदैन । यसरी वैदेशिक रोजगारीको नाममा स्वयम् सरकार र राजनीतिक पार्टीहरूको संलग्नता देखिनु भयावह अवस्थाको सङ्केत हो ।

गाउँपाखाका सर्वसाधारण नेपाली नागरिक दुबईलगायत संसारका अन्य मुलुक घुम्न जाने हैसियत राख्दैनन् । घुम्न जानलाई उद्योगपति नै हुनुपर्छ या धनाढ्य । मानवतस्करहरूले मोटो रकम लिएर भिजिट भिजामा एक हजार अमेरिकी डलर र केही खर्च बोकाएर दुबई पठाउँदै आएका छन् । दुबईको भिजिट भिसामा जाँदा लगभग दुई लाख खर्च लाग्ने गरेको छ । यो रकम मुलुक हेरेर घटबढ हुन्छ । विदेश जाने अधिकांश नेपाली महिलालाई भिजिट भिसामार्फत सेटिङ मिलाएर दुबई ट्रान्जिट प्वाइन्ट बनाई श्रीलंका हुँदै खाडीलगायत युद्धग्रस्त मुलुक सिरिया र सरकारद्वारा प्रतिबन्धित मुलुकहरूमा घरेलु कामदारका रूपमा तस्करी हुँदै आएको थाहा पाएर पनि प्रचण्ड सरकार बकुल्लाले झैँ आँखा चिम्लिएर बस्नुको अर्थ के हो, अब बुझाइरहन सायद पर्दैन होला ।
Baideshik-rojagar-bivag
– बिसुराल राजेश, काठमाडौं