अमेरिकाद्वारा एक वर्षमा १६ करोड डलर सहयोग

अमेरिकाद्वारा एक वर्षमा १६ करोड डलर सहयोग


USA

स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनर्निर्माण र शासनको सुधारका लागि सहायतास्वरूप गत वर्ष (सन् २०१६ भित्र) अमेरिकी सरकारले नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको बताइएको छ । अमेरिकी राजदूतावासद्वारा गत साता जारी विज्ञप्तिअनुसार उल्लिखित रकममध्ये १३ करोड ३० लाख डलरको व्यवस्थापन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी), अमेरिकी रक्षा मन्त्रालय, कृषि मन्त्रालय, विदेश मन्त्रालय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लगायत नेपालमा कार्यरत अमेरिकी सरकारका निकायले जुटाएका थिए ।

यसैगरी नेपालको विपत् प्रतिकार्य क्षमता र विश्वव्यापी रूपमा राष्ट्रसङ्घीय शान्तिसेनामा भाग लिने क्षमतालाई सुदृढ बनाउन अमेरिकी रक्षा मन्त्रालयमार्फत दुई करोड ७० लाख डलर सहायता प्रदान गरिएको जनाइएको छ । विज्ञप्तिमा भूकम्पपछि तत्काल राहत, पुनरुत्थान, पुनर्निर्माण र विपत् व्यवस्थापन तयारीका लागि सहायतास्वरूप १३ करोड अमेरिकी डलर र भूकम्पपछिको पुनर्निर्माणमा चार करोड १० लाख अमेरिकी डलर प्रदान गरिएको उल्लेख छ ।
उपरोक्त सहायता रकमबाट विद्यालय तथा अस्पतालको पुनर्निर्माणका साथै निर्माण व्यवसायी तथा भूकम्पपीडित घरधनीलाई भूकम्पप्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम र प्राविधिक सहायता प्रदान गर्न तथा भूकम्पबाट अति प्रभावित जिल्लामा खानेपानीको आपूर्ति र सरसफाइको अवस्थामा सुधार ल्याउनसमेत प्रयोग गरिएको बताइएको छ ।

यसका अतिरिक्त अमेरिकी सरकारले आफ्नो रक्षा मन्त्रालयमार्फत नेपाली सेनालाई विपत् प्रतिकार्यमा सघाउन ‘फिक्स्ड विङ प्लेन’ उपलब्ध गराउन सन् २०१६ मै एक करोड ८० लाख डलर प्रदान गरेको र अमेरिकी सरकार, एमसीसीले नेपालको विद्युत् प्रसारण तथा सडक यातायातका क्षेत्रमा लगानी गर्नेसम्बन्धी परियोजनाको मूल्याङ्कनका लागि सन् २०१६ जुलाईमा एक करोड डलर प्रदान गरेको जनाइएको छ । अर्को चरणमा रहेको बहुवर्षीय सहायता अर्थात् एमसीसी र नेपाल सरकारबीचको ‘कम्प्याक्ट’ कार्यक्रमको आकारसम्बन्धी अन्तिम निर्णय यस वर्ष (सन् २०१७) को पछिल्लो भागमा गरिने राजदूतावासले जनाएको छ ।

usa nepal 3