
दमकको रेडक्रस भवनमा सुरु भएको बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सवमा दर्जनौँ नयाँ एवम् पुराना स्रष्टा (कवि)ले सुन्दर–सुन्दर कविता सुनाए । सहिद दिवसको अवसर पारेर नेपाल लिटरेरी ग्रुपको संयोजनमा भएको कविगोष्ठीमा पूर्वाञ्चलका कविले सहिदलाई सम्झन पनि भ्याए । जस्तो कि,
अँधेरो ओडारभित्रै बसेर
उज्यालो भविष्य बुनिरहेको
एउटा त्यस्तो यात्रा
जसले अधिकारको सुकिलो आकाश
जीवनपर्यन्त खोजिरहेको हुन्छ
जसले
सिङ्गो जिन्दगीलाई बलिदानको धागामा
उनिरहेकै हुन्छ
सम्भवतः
त्यही आराध्य मानवको अर्को नाम हो
सहिद !
गोकुल अधिकारीले यसरी सहिद सम्झँदा माहोललाई निकै भावुक बनायो ।
बिचरी
दिलसरा नामजस्तै थिई
मानौँ गुडिया सम्झन्थे उसलाई
हुर्कंदै गई समयसँगै
एक, दुई, तीन क्रमशः
मस्त तरुनी भई एक दिन ।
जुनेली टोलाउँथी
र मनको आकाशमा उडान भर्थी, उसले पनि ।
र, एक दिन हो
साथीहरूको लहैलहैमा लागेर
गाउँबाट सहर हेर्ने रहरमा
गाउँ छाडी उसले
गाउँमा हल्ला चल्यो
दिलसराको पखेटा पलाएछ …!
विराट किरातीले कवितामार्पmत एउटी सोझी गाउँले केटीले बन्दुक बोकेको कथा सुनाए ।
प्राज्ञ विवश पोखरेलले भने कवितामार्फत देशको चिन्ता गरे–
व्यस्त सहरको एउटा कुनामा
अनायास भेटेँ उसलाई
मलाई देखेपछि एकाएक लजाई
एक छेउमा सियो राखेकी रहिछे
अर्को छेउमा
चाइनिज ब्याट्री, ग्यासलाइटर
र केही चुरोट सलाई
सोधेँ,
ठूली कसरी चल्दै छ जीवन
मुसुक्क हाँस्दै भनी उसले
जसरी चलिरहेको छ देश ।
प्रकाश बुढाथोकी, मनु मञ्जिल, प्राज्ञ विवश पोखरेल, देवान किराती, सुमन पोखरेल, श्रीशिशा राई, तारा पराजुली, मुनाराज शर्मा, विद्रोही कलम, धीरज राई, विराट अनुपम, कैलाश शिखर, घनश्याम पथिक, शुभलक्ष्मी लम्साल, बद्री भिखारी, सुमन पोखरेल, निहाग किराँती, सुन्दर कुरूप, मेची पुत्र, राजु सुनार अनिश्चित साथै अरू धेरै कविका कविताले माहोल तताएको थियो । माघ २२ सम्म चल्ने यस पुस्तक प्रदर्शनी तथा महोत्सव आयोजक संस्था डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईंले भने, ‘कविता कृतिहरूको प्रकाशित गर्न कोही प्रकाशन हाउसहरू उत्साहित भइनहाल्ने अवस्था छ, तर यहाँ पढिएका उत्कृष्ट कविता भने पुस्तकको रूपमा प्रकाशित गरिनेछ ।
प्रतिक्रिया