ब्रह्माण्ड सुन्दरीको यस्तो चाहना

ब्रह्माण्ड सुन्दरीको यस्तो चाहना


Miss Uni 2

फिलिपिन्सको राजधानी मनिलामा आयोजित ६५औँ ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स) प्रतियोगिताकी एक सहभागी फ्रान्सेली युवती आइरिस मित्तेनायरेलाई उनको जिन्दगीसँग जोडिएको कुनै असफलताको सन्दर्भबारे बताउन अनुरोध गरियो । पेसाले डेन्टिस (दन्त चिकित्सक) आइरिसले जवाफमा भनिन्, ‘म जीवनमा कैयनपटक असफल भएकी छु । मेरो अनुभवका आधारमा भन्छु कि जब तपाईं असफल बन्नुहुन्छ, सफल बन्न फेरि खडा हुने प्रयत्न गर्नैपर्छ । मैले त जहिले पनि असफलतालाई अवसरकै रूपमा हेरेँ ।’ सुन्दरी आइरिसले दिएको जवाफ कुनै नौलो होइन, तर उनको प्रस्तुति यस्तो प्रभावशाली थियो कि यस वर्षको मिस युनिभर्सको उपाधि उत्तरी फ्रान्सको सानो सहर लिलीनिवासी यिनै सुन्दरी आइरिस मित्तेनायरेको पोल्टामा गयो । विश्वभरबाट मनिलामा भेला भएका ८६ जना एकसेएक सुन्दरीलाई पछि पार्दै उपाधि जित्नुअघि आइरिसले यदि आफूले ब्रह्माण्ड सुन्दरीको ताज जितेमा यस उपाधिलाई दाँत तथा मुखको स्वच्छताबारे प्रचारप्रसारमा उपयोग गर्ने वाचा गरेकी थिइन् ।

सन् २०१७ को ब्रह्माण्ड सुन्दरी प्रतियोगितामा दोस्रो नम्बरमा हैटीकी रेक्वेल पेलिसियर र तेस्रो पोजिसनमा कोलम्बियाकी २३ वर्षीया एन्ड्रिया टोवरले स्थान जमाएका छन् । हैटीकी रेक्वेलले आफू सन् २०१० मा हैटीमा गएको भूकम्पमा परेर मुस्किलले बाँच्न सफल भएको खुलासा गर्दै चामत्कारिक रूपले बचेको जीवनलाई सेवाकार्यमा समर्पित गर्ने अठोट लिएकी छिन् ।