कवितालाई हिरोइन बनाउने करिश्माको रहर

कवितालाई हिरोइन बनाउने करिश्माको रहर


kabita manandhar

कुनैबेला सिने–अभिनेत्री करिश्मा मानन्धर आफ्ना हरेकजसो अन्तर्वार्तामा एउटा कुरा छुटाउँदिनथिन् । अन्तर्वार्ताकारले प्रश्नै नगरे पनि सन्दर्भ मिलाएर उनी भन्ने गर्थिन्, ‘मेरो बाल्यकाल अभावमा बितेकोले कैयन बालसुलभ चाहना मैले पूरा गर्न पाइनँ । आफूले रहर गरेर पनि मेटाउन नसकेका चाहना अब म मेरी छोरीमार्फत पूरा गर्नेछु ।’ अर्थात्, आफ्नो एकलौटी सन्तान कविताको सकभर हरेक इच्छा पु¥याइदिने लालसा करिश्मामा जो पलाएको छ, आफू सम्पन्नशाली बनेको वर्तमान अवस्थामा यसलाई उनले व्यवहारमा समेत उतार्दै आएकी छिन् । यहाँसम्म त ठीकै छ, तर अमेरिकामा उच्च शिक्षा हासिल गर्दै गरेकी छोरीलाई सिनेमाको हिरोइन बनाउने रहरले यतिबेला करिश्मालाई बेस्सरी सताएको बुझिन्छ । कवितालाई अभिनयमा रुचि कति छ ? यहाँनेर यो सवाल मननीय छ । यदि सिनेमा क्षेत्रमा काम गर्ने सोच वा चाहना छैन भने छोरीलाई जबर्जस्ती किन हिरोइन बनाउने ? परिपक्व करिश्माले यो मनन गर्नुपर्ने हो ।

हुन त छोरीले खुलस्त व्यक्त नगरे पनि उनलाई सिने–नायिका बन्ने रहर भएको दाबी करिश्माले गरेकी छिन् । छोरीको यो रहर आँकलन गरेर नै आफूले छिट्टै एक नयाँ सिनेमा निर्माण कार्य सुरु गर्न लागेको उनको भनाइ छ । कविताले चाहिँ सकभर कुनै अरू नै नायिका खोज्न आफ्नी ‘मम्मी’सँग आग्रह गरिरहेकी करिश्मानिकट सूत्र बताउँछ । यदि यो सही हो भने करिश्मा किन छोरीलाई सिनेमा क्षेत्रमा जबर्जस्ती उतार्दै छिन् ? स्वतः चासोको विषय बनेको छ । किनकि, यो त करिश्माले भनेझैँ आफूले पूरा गर्न नपाएको रहर पनि हो, एक सफल नायिकाको रूपमा उनलाई नेपाली सिने उद्योगले पछिसम्म सम्झिरहने इतिहास कोरिसकेकी छिन् उनले । सिने क्षेत्रकै ‘ग्ल्यामर’का कारण आज राजनीतिक फाँटमा समेत करिश्मालाई लोभलाग्दो सफलता मिलिरहेको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीभित्र एक प्रभावशाली नेतृको हैसियत करिश्माले बनाएकी छिन्, जो कदरयोग्य कुरा हो । वर्षौं अमेरिका बसेर त्यहाँको नीति–नियम र समृद्धि नियालेकी करिश्माले समृद्ध नेपालको सपना देखेर राजनीतिमा प्रवेश गर्नुलाई सकारात्मक रूपमै हेरिएको छ ।

तर, दुई डुङ्गामा एक साथ सवार हुने, अर्थात् राजनीतिसँगै सिनेमा निर्माणको कामलाई समेत निरन्तरता दिने उनको कदम कति उचित ठहरिने हो, प्रतीक्षाकै विषय हो । जे भए पनि विगतमा ‘बाबुसाहेव’ फिल्म सुपरफ्लप भइदिँदा आर्थिक सङ्कट टार्न अमेरिका भासिएकी र उताबाट फर्केपछि निर्माण गरेको ‘फागु’ पनि असफल भएको परिवेशमा पुनः सिनेमा निर्माणमा हात हाल्नुले केही न केही अहम् सङ्केत त दिइरहेकै थियो । आखिर छोरीलाई नायिकाको रूपमा सिनेपर्दामा उतार्ने अभीष्ट करिश्माले साँचेको खुलासा त यसरी भयो नै, अब कविताले करिश्माको अभीष्टसिद्धिमा कसरी र कति योगदान पु¥याउने हुन्– रोचक प्रतीक्षाको विषय बनेको छ ।

Kabita_Manandhar_karishma