सिम्रन बचाउन परदेशबाट सहयोग

सिम्रन बचाउन परदेशबाट सहयोग


UAE

बेरोजगारीका कारण दिनानुदिन हजारौँ युवाशक्ति आफ्नो श्रम र पसिना बिक्री गर्न विदेशी भूमिमा जानुपरेको तीतो यथार्थसँग यतिबेला अपरिचित कोही छैनन् । विदेशी भूमिमा दुःख सहेर आर्जन गरेको रकमसमेत स्वदेशमा कहीँ–कसैलाई गाह्रो पर्दा सहयोगको रूपमा प्रदान गर्ने मनकारीहरूको पनि यहाँ कमी छैन । यस्तै मनकारी बनेर प्रकट भएको छ– मितेरी समाज यूएई । क्यान्सरपीडित बालिका सिम्रन राईको उपचारका लागि यूएईमा कार्यरत नेपाली युवाबाट सहयोग सङ्कलन गरी मितेरी समाज यूएईले आर्थिक सहायता प्रदान गरेको छ ।

यूएईमा कार्यरत दिव्या सुब्बाबाट प्राप्त जानकारीअनुसार भोजपुर जिल्लाको हसनपुर–६, चेम्लाङनिवासी किशोर राईकी नाबालक छोरी सिम्रनलाई समाजले आर्थिक सहायता गरेको हो । नाबालक छोरीका बाबु किशोरले घरको दयनीय अवस्था रहेको र छोरीको जीवनदानको भीख माग्दै सहयोगका लागि अपिल गरेपछि सिम्रन बचाऔँ अभियान सुरु गरिएको छ । यतिबेला राजधानीको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा क्यान्सर रोगसँग लड्दै गरेकी नाबालक सिम्रनलाई बचाउन अन्य सङ्घसंस्था र देश–विदेशमा रहेका नेपाली समुदायलाई मितेरी समाज यूएईले आग्रह गरेको छ । बिदा मनाउन नेपाल आएको समयमा समाजका सल्लाहकार टीका श्रेष्ठले पीडितका अभिभावकलाई रकम हस्तान्तरण गरेका हुन् । यूएईमा रहेका दर्जनौँ संस्थामध्ये मानवसेवामा उत्कृष्ट रहँदै आएको मितेरी समाजले यसअघि पनि दर्जनौँपटक यसखालको सेवा गरेको समाजका अध्यक्ष प्रेम रिजालले बताए ।