सधैँ नै नेता किन ?

सधैँ नै नेता किन ?


babita basnet 15

– बबिता बस्नेत

अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पद छाडेर बाहिरिनासाथ जागिरको खोजी गरेको र अब चाँडै नै काम सुरु गर्ने कुरा अहिले हामीकहाँ निकै चर्चाको विषय बनेको छ । त्यति मात्र होइन, उनी आफैँले पैसा तिरेर भाडाको घरमा बस्नेछन् र राष्ट्रपति हुनुपूर्वजस्तै जीवन–शैली अपनाउनेछन् । यो समाचार आएपछि सम्झिएँ– हामीकहाँ पनि यस्तै संस्कार हुँदो हो त पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडावाला विवाद आउने नै थिएन । आफ्नो कार्यकाल सकेपछि उहाँ आफ्नो घरमा जानुहुन्थ्यो, बस्नुहुन्थ्यो । राज्यसँग कुनै गुनासो गरिरहनुपर्ने नै थिएन । अझ त्यसमा पनि उहाँ त मेडिकल डाक्टर विकसित देशको झैँ यहाँ पनि हुँदो हो त उहाँले फेरि चिकित्सा अभ्यास गर्न थाल्नुभएको भए यो देशमा कति ठूलो उदाहरण कायम हुन्थ्यो होला ? त्यसैगरी अहिलेकी राष्ट्रपतिले भोलि आफैँले केही गरेर आफ्नो गुजारा गर्नेबारेमा सोच्नुभयो भने उहाँ दक्षिण एसियामै उदाहरणीय व्यक्तित्व बन्ने निश्चित छ । तर, हामीकहाँ यस्ता काम न त हिजो भए न त आज भइरहेका छन् न त भोलि होलान् भन्ने आशा गर्ने ठाउँ नै छ ।

खासमा विकसित मुलुक र हामीजस्ता मुलुकबीच तुलनै गर्न नमिल्ने कुरा धेरै छन् । हामीकहाँ अन्य पेसा–व्यवसायबाट आएकाभन्दा राजनीतिलाई नै पेसा बनाएका मानिस पदमा पुग्ने भएकाले त्यसप्रकारको अपेक्षा गर्नु सही हँुदैन । विद्यार्थीदेखि नै राजनीति गर्दै आएका व्यक्तिहरूले कुनै पेसा–व्यवसाय अपनाएका हुँदैनन् । पञ्चायतकालमा लामो समय जेल बस्नेले पेसा, व्यवसाय गर्ने कुरै भएन अरूले पनि अन्य पेसामा लाग्नुभन्दा राजनीतिमै लाग्नु फाइदा देखे जसका कारण मन्त्री, प्रधानमन्त्री हुनेहरू पदबाट फर्किएपछि आफ्नोे पेसामा त फर्कन्छन् तर उही पेसा राजनीति । यसमा नेतालाई मात्र दोष दिन मिल्दैन, हामी नागरिकले पनि नेताका रूपमा आफ्नै पेसा–व्यवसाय अपनाएकालाई भन्दा पूरा समय राजनीति नै गर्ने मानिसलाई उपयुक्त ठानिरहेका हुन्छौँ । यो मान्छेले आफ्नो क्षेत्रमा यति वर्ष बिताएको छ, अनुभवी छ, राजनीतिमा पनि यसले राम्रो गर्न सक्छ भन्ने सोच हामीकहाँ छैन । केही गरेको होस् या नगरेको, बिचरा यत्तिका वर्षदेखि राजनीतिमा छ भन्ने सहानुभूति जनताले पनि राखेको पाइन्छ । नेताले पूरै समय राजनीति गरोस् भन्ने अनि उसले कसरी आफ्नो गुजारा चलाइरहेको छ, परिवार धानिरहेको छ भन्ने कुराको सोधीखोजी नगर्ने अचम्मको संस्कृति हामीकहाँ छ । पश्चिमाहरू राजनीतिसँगै जीवन धान्ने कुरामा पनि सचेत छन । राजनीतिलाई पेसा होइन राजनीति नै ठान्छन्, पेसालाई सम्मान गर्छन् । पदमा बसुन्जेल आफ्नो पदीय दायित्व निर्वाह गर्छन्, बाहिरिएपछि पुरानै पेसालाई निरन्तरता दिन्छन् । जसका कारण भ्रष्टाचारसँग उनीहरूको साइनो त्यति जोडिँदैन या कम जोडिन्छ । हामीकहाँ राजनीति गरेपछि गरिनै रहनुप¥यो, एकपटक मन्त्री, प्रधानमन्त्री भएपछि जिन्दगीभर पटकपटक मन्त्री, प्रधानमन्त्री हुने वातावरण बनाइरहनुप¥यो । त्यसका लागि प्रधानमन्त्री या मन्त्रीको तलबी आम्दानीले मात्र पुग्दैन, नपुगेपछि पुग्ने बनाउनका लागि अनेकथरी गर्नुप¥यो । जसका कारण नेताहरू आफूसँगै राजनीति बद्नाम र राजनीतिसँगै आफू बद्नाम भएका छन् ।

हामीकहाँ राजनीति गरेपछि गरिनै रहनुप¥यो, एकपटक मन्त्री, प्रधानमन्त्री भएपछि जिन्दगीभर पटकपटक मन्त्री, प्रधानमन्त्री हुने वातावरण बनाइरहनुप¥यो । त्यसका लागि प्रधानमन्त्री या मन्त्रीको तलबी आम्दानीले मात्र पुग्दैन, नपुगेपछि पुग्ने बनाउनका लागि अनेकथरी गर्नुप¥यो । जसका कारण नेताहरू आफूसँगै राजनीति बद्नाम र राजनीतिसँगै आफू बद्नाम भएका छन् ।

०००

नेतालाई आय–आर्जनको काम गर्नका लागि नेपाली समाजले खासै प्रोत्साहित गरेको छैन र जतिले गरेका छन्, तिनलाई महत्व दिएको पनि देखिँदैन ।

हामीकहाँ प्रधानमन्त्री भएकाहरूसमेत एकपटक भएपछि फेरि कहिले हुँला भन्ने प्रतिस्पर्धामै रहने हुनाले आफ्नो पेसा–व्यवसायतिर फर्किएको पाइँदैन । फर्किन चाहनुभएको भए डा. बाबुराम भट्टराईलाई त्यो अवसर थियो, तर उहाँले पनि आफू पेसा–व्यवसायमा संलग्न हुनुभन्दा बरु पेसा–व्यवसायमा भएकालाई राजनीतिमा ल्याउन चाहनुभएको देखिन्छ । उहाँकै कारण कतिपय पेसा–व्यवसायमा भएका मानिस पनि राजनीतिका नाममा बरालिन थालेका छन् । हामीकहाँ विगतमा जे–जति प्रधानमन्त्री भए ती सबैले पूर्वप्रधानमन्त्री मात्र नभई दलको नेताका रूपमा ‘फुलटाइम’ राजनीति गरिरहे । मन्त्री, सांसद भएर पनि जसले विभिन्न पेसा–व्यवसाय अपनाए तिनलाई पनि हामीले खासै उत्साहित ग¥यौँ जस्तो लाग्दैन । जस्तो, पूर्वसांसद झलकनाथ वाग्लेले एकपटक बागबजारतिर मःम पसल गर्नुभएको थियो । खै अहिले के गर्नुहुन्छ बेखबर हुनुहुन्छ । सांसद हुनुभएका होमराज दाहाल प्राध्यापन पेसामा फर्कनुभयो । पूर्वशिक्षकसमेत रहनुभएका पूर्वसांसद हरि बैरागी दाहाल र डेडराज खड्का अहिले साना जलविद्युत् आयोजनासँग सम्बद्ध हुनुहुन्छ । राजा ज्ञानेन्द्रका पालामा मन्त्री हुनुभएका डा. उपेन्द्र देवकोटा, डा. असर्फी साह, अनुराधा कोइराला आ–आफ्नो क्षेत्रमा हुनुहुन्छ, त्यो फरक परिवेश थियो । वास्तवमा, खोज्दै जाँदा हामीकहाँ यस्ता मान्छे नभएका होइनन्, तर नेतालाई आय–आर्जनको काम गर्नका लागि नेपाली समाजले खासै प्रोत्साहित गरेको छैन र जतिले गरेका छन्, तिनलाई महत्व दिएको पनि देखिँदैन ।

एकपल्ट प्रधानमन्त्री भएपछि पटकपटक हुनुपर्ने, मन्त्री हुन सधैँ तम्तयार भएर बस्नुपर्ने अचम्मको परिपाटी छ हामीकहाँ । त्यसोत, यो दक्षिण एसियाकै संस्कृति हो । जर्ज डब्लू बुसको टिममा अमेरिकाको विदेशमन्त्री बनेकी कन्डोलिजा राइस अहिले स्टान्डफोर्ड युनिभर्सिटीमा पढाइरहेकी छिन् । उपराष्ट्रपति अलगोर पनि अध्यापन तथा जलवायु परिवर्तनविरुद्धको अभियानमा छन् । भारतका पूर्वराष्ट्रपति मोहम्मद अब्दुल कलाम राष्ट्रपति छोड्नासाथ लेक्चर दिन हिँड्नुभो । क्लास लिँदालिँदै उहाँको देहान्त भयो । हामीकहाँचाहिँ आर्यघाटमा पुग्दासम्म पद कायम भए हुन्थ्यो भन्ने चाहना धेरैको देखिन्छ । यदि नेताले त्यस्तो चाहना राखेनन् भने पनि तिनका वरिपरिका मानिसले आफ्नो स्वार्थ पूर्तिका लागि छोड्नै दिँदैनन् । जस्तो, पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई स्वास्थ्यले साथ दिएको थिएन, तर उहाँलाई सजिलो ओछ्यान लाएर आरामले सुत्नसमेत दिइएन । कहिले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा त कहिले सभापतिका लागि, पदका लागि उहाँलाई लछारपछार नै पारियो भन्दा पनि हुन्छ । जुन प्रतिस्पर्धा उहाँको आफ्नो इच्छाले भन्दा पनि अरूका लागि थियो भन्ने सबैलाई थाहा छ ।

विकसित मुलुकका मानिस राजनीति मात्रै गरेर बस्न चाहँदैनन् । हामीचाहिँ किन एकपटक राजनीतिमा छिरेपछि फेरि आफ्नो पेसा–व्यवसायमा फर्कदैनौँ ? किनभने अरू देशमा राजनीतिलाई आम्दानी नहुने या गर्न नमिल्ने पेसाका रूपमा लिइन्छ । हामीकहाँ भने रातारात आम्दानी हुने व्यवसायका रूपमा राजनीति फस्टाइरहेको छ । एकपटक मन्त्री भएपछि यहाँ पटकपटक मन्त्री हुनका लागि खर्च जुटाउनतिर लागिन्छ । उता, विकसित मुलुकमा चाहिँ मन्त्री हुनुलाई जिन्दगीमा केही गर्ने पदीय जिम्मेवारीका रूपमा लिइन्छ । यसो सोच्दा, हामीले नेताहरूलाई पहिलेकै ठाउँमा फर्कनुहोस् भन्न पनि त्यति सहज छैन । प्रचण्डहरूलाई भनौँ– फेरि हिंसात्मक क्रियाकलापमा फर्किनुहोला, कतिपय मानिसहरू आपराधिक पृष्ठभूमिबाट पनि राजनीतिमा आएका छन्– फर्किनुहोस् भनौँ फेरि त्यतै जालान् । जति रामै्र कामबाट आएका छन् उहाँहरूलाई पनि काम गर्नुस् भनेर खै के गर्नुस् भन्नेजस्तो पनि लाग्छ । हामीकहाँ अन्य व्यावसायिक पृष्ठभूमिका भन्दा कृषि पृष्ठभूमिका नेताहरू धेरै हुनुहुन्छ । पदीय जिम्मेवारीपछि उहाँहरू फर्किएर कृषितिरै जाने हो भने कृषिक्षेत्र आकर्षक भएर बाहिरी मुलुकको उत्पादनमा भर पर्नुपर्ने थिएन कि ?