अमेरिकावासी एनआरएनलाई चुनावी रन्को

अमेरिकावासी एनआरएनलाई चुनावी रन्को


Krishna

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन केही महिनापछि हुँदै छ, तर संघको नेतृत्व लिन आकाङ्क्षीहरूले आफ्नो उम्मेदवारी घोषणा सुरु गरिसकेका छन् । विभिन्न सामाजिक सञ्जालमा प्रत्याशीहरूले उम्मेदवारी दिने क्रम जारी राखेका छन् भने उनीहरूलाई चुनावी ज्वरोले छोइसकेको छ । विभिन्न पदका लागि उम्मेदवारी दिने उपक्रम देखिए पनि अध्यक्ष पदका लागि भने यसपटक चर्कै प्रतिस्पर्धा हुने बुझिएको छ ।

यस क्रममा एनआरएन (अमेरिका)का वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले आफूलाई भावी अध्यक्षको रूपमा अघिसारेका छन् । अनौपचारिक तवरले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका संस्थाको पूर्व महासचिवसमेत रहेका सक्रिय तथा जागरुक युवा पोखरेलले आफ्नो चुनावी घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । घोषणापत्रमा उनले अमेरिकामा रहेका समस्त एनआरएन परिवारको सुविधाका लागि नब्बे दिनभित्रै एनआरएन हेल्प टेलिफोन सेवा लागू गर्ने, स्थानीय राज्य च्याप्टरहरूलाई प्रभावकारी बनाउँदै स्थानीय सङ्घ–संस्थासँग समन्वय गरी अघि बढ्ने, आपतकालीन कोषका लागि महिनाको एक डलरका दरले वार्षिक १२ डलर सङ्कलन कार्य आरम्भ गर्ने, नेपालीसँग रहेको सीप, ज्ञान र प्रविधिलाई नेपालीकै हितमा प्रयोग गर्नेजस्ता आकर्षक कार्यक्रम अघिसारेका छन् । यस्तै, नेपालीकोे पहिचानलाई निरन्तर स्थापित गर्दै अमेरिकाका विभिन्न राज्य तथा सहरमा ‘नेपाल डे’ घोषणा गर्नेतर्फ लाग्ने, एनआरएन परिचयपत्र वितरण एवम् कार्डमार्फत विशेष सहुलियत दरलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने, नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रत्येक वर्ष परेड, झाँकी तथा सांस्कृतिक कार्यक्रमको आयोजना तथा प्रदर्शनी गर्ने, युवा सहभागिता बढाउने, बालबालिकाबीचमा कविता, निबन्ध, वादविवादजस्ता प्रतियोगिताको आयोजना गरी उनीहरूको संलग्नता बढाउने र नेपाली भाषा–संस्कृतिको प्रवद्र्धन एवम् संरक्षण गर्दै नेपाली बसोवास गर्ने अमेरिकाका राज्य, सहर वा स्थानमा नेपाली भाषालाई मान्यता दिलाउन पहल गर्ने एजेण्डा पोखरेलले प्रस्तुत गरेका छन् ।