
– चन्द्रप्रकाश बुढामगर
विद्यालय, क्याम्पसले दिएको
लब्धाङ्कपत्र हुँ म,
अलिकति उत्साह र धेरै निराशा
जन्मदाताको भरोसा,
छिमेकीको छलफलको विषय,
प्रेमिकाको मनोरञ्जनको साधन ।
पार्टीका लागि कार्यक्रता र भोट,
देशका लागि नागरिकता र पासपोर्ट,
दलालका लागि १०, १५ हजारको नोट ।
हो म यस्तै केही हुँ
हो म नेपाली युवा हुँ ।
हो म सरकारले निकालेको
जम्मा जनसङ्ख्यामा उल्लेखित छु ।
बेरोजगारको लाममा छु,
दैनिक बिदेसिने हजार–बाह्र सयको भीडमा छु, ।
विदेशबाट,
कहिले आउँछु आस बनेर,
कहिले आउँछु कफिनमा लास बनेर,
त्यहाँ पनि मेरो तथ्याङ्क बन्छ
दिनमा ४ देखि ५ ।
देशमै बस्दा पनि
कहिलेकाहीँ कार्यक्रममा
कोटा पु¥याउन बोलाइने कोटा हुँ म ।
कसैको कार्यकर्ता हुँ
कसैको सहयोगी हुँ
कसैको भोलेन्टियर
कसैका लागि समाचार हुँ म ।
सरकारले मेरा हरेक कुराको तथ्याङ्क बनाउँछ
मेरो भाग्यलाई झैँ,
ढड्डा बनाएर अँधेरो कोठामा थन्क्याउँछ,
सरकारी र गैरसरकारी संस्थाले
रेसमी सपना देखाउँछन्,
मबाट सहयोग लिन्छन्,
र आफ्ना सपना पूरा गर्छन् ।
हो त्यसैले,
सहयोग पु¥याउने सहयोगी हुँ म ।
कसैलाई माथि पु¥याउने भ¥याङ हुँ म ।
म जहाँ जाऊँ, म जे–जस्तो बनुँ
हरेकले बेपर्वाह मेरो तथ्याङ्क राख्छन् ।
त्यसैले त म तथ्याङ्क हुँ ।
हो म फगत तथ्याङ्क हुँ ।
हो, म आलोकाँचो ठेट्नो नेपाली युवा हुँ ।
– सल्यान
प्रतिक्रिया