मन्त्री गगन लाचार बनेपछि…

मन्त्री गगन लाचार बनेपछि…


Gagan

सरकार कुन दलले चलाएको छ, कुन मन्त्रालयमा कुन दलका मन्त्री छन् भन्ने सवाललाई नेपालको कर्मचारीतन्त्र तथा आमतप्काले समेत विशेष महत्व दिने गर्छन् । सरकार तथा मन्त्रीहरूले समग्र मुलुकका लागि भन्दा पनि दल, समूह वा व्यक्तिकेन्द्रित व्यवहार गर्ने गरेका कारण यस्तो सोच विकास हुनु अनौठो पनि होइन ।

यस्तै सोच–संस्कारबाट मुक्त हुन नसकेका स्वास्थ्य मन्त्रालयका कर्मचारीबीच मन्त्री गगन थापाका क्रियाकलाप तथा कार्यशैली विषद् चर्चाको विषय बन्ने गरेको बुझिएको छ । थापा स्वास्थ्यमन्त्री बनेर आउँदा सुरुमा हौसिएका काङ्ग्रेसनिकट कर्मचारी यतिबेला खिस्रिक्क परेका छन् । सम्बद्ध स्रोतका अनुसार गगन मन्त्री भएपछि सबैभन्दा बढी काङ्ग्रेसमा आस्था राख्ने कर्मचारीले नै दुःख पाएका छन् । मन्त्रालयमा निष्ठावान कर्मचारीका रूपमा चिनिएका डा. भीम आचार्यलाई महानिर्देशक बनाउनुपर्नेमा सबैको एकमत थियो । तर, डा. राजेन्द्र पन्तले कृष्ण सिटौला र डा. अञ्जना केसीलाई प्रभावमा पारेपछि डा. भीमलाई पाखा लगाइएको कर्मचारीबीच चर्चा चल्ने गरेको छ ।

बताइएअनुसार राजेन्द्र पन्त तिनै हुन् जसले रामजनम चौधरीलाई नजराना बुझाएर बालस्वास्थ्य महाशाखामा प्रवेश गरेका थिए । कुनै बेला मन्त्रालयको खर्चमा धेरै विदेश भ्रमण गरेको भनेर स्वयम् गगनले सार्वजनिक कार्यक्रममै आलोचना गरे पनि उनी कृष्ण सिटौला र आफ्नी पत्नीको वचन मान्न बाध्य भए । यतिबेला बालस्वास्थ्य महाशाखामा डा. विकास लामिछानेलाई ल्याइएको छ । खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा नजराना चढाएर राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक भएका पात्र हुन् तिनी । यस्तै, व्यवस्थापन महाशाखामा डा. विकास देवकोटालाई ल्याइएको छ । डा. देवकोटा मेडिकल सुपरिटेन्डेन्ट हुन् । अहिले मन्त्रालयमा यही समूहका भोलाराम छन् भने विभागमा देवकोटा । डा. लामिछाने र डा. देवकोटाको फाइल सदर हुन एक हप्ताभन्दा बढी समय लाग्यो । पन्तकै समयमा उठेको फाइल रकमको सुनिश्चितता नहुँदासम्म सदर भएन । यी दुवैको रकम विष्णु लामिछानेमार्फत सैलेश सिटौलादेखि कृष्ण सिटौलासम्म पुगेको बताइन्छ ।

गगन थापाले स्वास्थ्य संस्था पाँच बजेसम्म खुला राख्न निर्देशन दिए, तर व्यवस्थापन गर्न सकेनन् । पाँच बजेसम्म ओपीडी सेवा चलाउन चिकित्सकहरू सहमत छैनन् । अत्यावश्यक औषधिको अभाव सबैतिर छ । गगनले अस्पताल विकास समितिको अध्यक्ष पदाधिकारी नियुक्त गर्दा सिटौला समूहलाई मात्र गरे, अरू इमानदार क्षमतावान काङ्ग्रेसलाई पाखा लगाए । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखादेखि स्वास्थ्य सेवा विभागको कर्मचारी प्रशासन शाखामा सबै एमालेसमर्थक कर्मचारीको एकलौटी रजाइँ छ, तर गगन थापा चुप छन् । केपी ओलीसमर्थक सचिवले असहयोग गर्दा पनि उनी चुप रहनुको रहस्य कर्मचारीहरू खोजिरहेका छन् । सैलेश सिटौला, राजु थापालगायतका गगनका पीएहरूले काङ्ग्रेस आस्थाका कर्मचारीलाई दुुःख दिने काम गरेका छन् । डा. राजेन्द्र पन्तले पनि वामपन्थीलाई फाइदा हुने निर्णय गर्न थालेका छन् । डोटीमा रिक्त हेअ पदमा नेपाल स्वास्थ्यकर्मी सङ्घका इमानदार उत्तम उपाध्यायलाई सरुवा गर्न गरेको अनुरोध नमानेर डा. पन्त र तारा लुइँटेलले रकम लिएर नयाँ शक्ति पार्टीका विष्णु जोशीलाई पठाएका छन् । यसरी युवा नेता गगन थापाको मन्त्रालयमा काङ्ग्रेससमर्थक कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक तथा नर्सहरू निराश बन्न पुगेका छन् ।