आईजीपी नियुक्तिको विषयलाई लिएर देउवा र निधिबीच तनाव

आईजीपी नियुक्तिको विषयलाई लिएर देउवा र निधिबीच तनाव


देउवाद्वारा सरकार छोड्ने चेतावनी

Nidhi & Deuwa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विषयलाई लिएर गम्भीर मतभेद पैदा भएको छ । गृहमन्त्री निधि गत साता नै आईजीपी नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रिमण्डलको बैठकमा प्रस्तुत गरी निर्णय गराउन चाहनुहुन्थ्यो । उहाँले आफ्ना सचिव लोकदर्शन रेग्मीलाई आईजीपी नियुक्तिसम्बन्धी प्रस्ताव तयार गर्न आदेश दिनुहुँदा गृहसचिव रेग्मीले कसको नाम राखेर प्रस्ताव बनाउने भनी जिज्ञाशा राखेको र निधिले बरियताक्रममा अगाडि रहेका नवराज सिलवालाई नियुक्त गर्न प्रस्ताव तयार गर्न भन्नुभएको थियो । तर, सचिव रेग्मीले सिलवाललाई नियुक्त गर्न नसकिने भन्दै प्रस्ताव तयार गर्न मानेनन् । रेग्मीले काङ्गे्रस सभापति शेरबहादुर देउवाको अनुमति लिन आवश्यक भएको भन्दै प्रस्ताव तयार गर्न नमानेको बताइन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमति लिन आवश्यक भएको भन्दै सचिवले प्रस्ताव तयार गर्न अस्वीकार गरेपछि निधिले गत बिहीबार (२० माघ) पार्टी सभापति देउवासँग भेटी नवराज सिलवाललाई आईजीपी बनाउन प्रस्ताव गर्नुभएको थियो । तर, देउवाले निधिको कुरामा सहमति जनाउनुभएन । बरु भन्नुभयो, ‘देशमा यो वर्ष चुनाव गराउनुपर्नेछ, त्यसैले नवराज सिलवाललाई आईजीपी बनाउने पक्षमा म छैन ।’ निधिले ‘चुनाव गराउनुपर्ने भएकैले नवराजलाई आईजीपी बनाउनुपर्छ, उनी सक्षम छन् र बरियताक्रममा पनि अगाडि छन्’ भन्नुभएपछि देउवाले ‘कुनै हालतमा नवराजलाई बनाउन सकिँदैन’ भन्ने जवाफ दिनुभएको बताइन्छ । देउवाको कुरा सुनेपछि निधि झोक्किनुभएको र उहाँले ‘त्यसो भए म गृहमन्त्रीबाट राजीनामा दिन्छु’ भन्नुभएको बुझिएको छ ।

त्यसरी निधिले राजीनामा दिने ‘धम्की’ दिँदा पनि देउवाले आफ्नो अडान बदल्नुभएन । भनिन्छ, देउवा आईजीपीका विषयमा लिएको अडानबाट पछि हट्ने अवस्थामा हुनुहुन्न, बरु निधिको राजीनामा स्वीकार गर्ने मानसिकतामा उहाँ रहनुभएको छ । सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग पनि नवराज सिलवाललाई आईजीपी नबनाउन भन्नुभएको छ । देउवाले सिलवालाई आईजीपी नियुक्त गरे आफू कुनै पनि कदम चाल्न बाध्य हुने भनी प्रचण्डलाई गत आइतबार (माघ २३ गते) चेतावनी दिनुभएको छ । उहाँले आईजीपी नियुक्तिमा अन्यथा भए सरकार छोड्ने चेतावनी पनि दिनुभएको छ । त्यसअघि विमलेन्द्र निधिले नवराजलाई आईजीपी नियुक्त गर्ने कुरा गर्दा प्रचण्डले देउवाको समेत त्यसमा सहमति रहेको ठान्नुभएको थियो । र, प्रचण्ड नवराज सिलवाललाई नै नियुक्त गर्ने मानसिकतामा हुनुहुन्थ्यो । देउवा जयबहादुर चन्दलाई आईजीपी बनाउने पक्षमा रहनुभएको बुझेपछि प्रचण्ड पनि तनावमा परेको बताइन्छ । देउवाले भनेबमोजिम आईजीपी नियुक्त नगर्दा काङ्गे्रस सरकारबाट बाहिरिने त्रास प्रचण्डमा पैदा भएको छ । तर, प्रचण्ड चन्दलाई आईजीपी बनाउने कुरामा भने आनाकानी गर्दै हुनुहुन्छ । नवराजलाई नहुने हो भने बमबहादुर भण्डारी या प्रकाश अर्याललाई आईजीपी नियुक्त गर्नुपर्छ पक्षमा प्रचण्ड रहनुभएको छ ।

सभापति देउवा विमलेन्द्र निधिलाई वफादार र आफूले भनेको मान्ने ठान्नुहुन्थ्यो भने निधि पनि आफ्नो कुरा देउवाले काट्नुहुने छैन भन्ने विश्वासमा हुनुहुन्थ्यो । तर, यस घटनामा दुवै नेताको एक–अर्काप्रतिको भ्रम हट्न पुगेको छ । लामो समयदेखि सुमधुर सम्बन्धमा रहनुभएका नेताहरू देउवा र निधिबीच अहिले सम्बन्ध यसरी चिसिएको छ कि यसअघि यसप्रकारको तनाव कहिल्यै देखिएको थिएन ।

देउवाको कुराले रनामा परेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधि कसरी देउवालाई सहमतिमा ल्याउने भनी गत साताभरि छटपटिएको र विभिन्न ढङ्गले ‘वातावरण बनाउन’ लागिपरेको समाचार सूत्रहरूले जनाएका छन् । गृहमन्त्री निधिले नवराज सिलवाललाई आईजीपी नियुक्त गर्न नसके पदबाट राजीनामा दिने जानकारी प्रधानमन्त्री प्रचण्डलाई गराइसक्नुभएको छ । देउवासँगको संवादका क्रममा प्रचण्डले यस कुराको जानकारी गराउनुहुँदा देउवाले ‘त्यो गृहमन्त्रीको आफ्नो कुरा हो, उनले राजीनामा दिन्छन् भने दिऊन्, तर नवराजलाई नियुक्त गर्ने कुरामा मेरो सहमति हुँदैन’ भनी स्पष्ट जवाफ दिनुभएको बताइन्छ । प्रधानमन्त्री प्रचण्डले देउवासँग भएको संवादबारे गृहमन्त्री निधिलाई जानकारी गराउनुहुँदा निधिले ‘देउवाजी अन्ततः नवराजको नाममा सहमत हुने विश्वास रहेको’ बताउँदै सहमत नभए ‘आफू पद त्याग गर्न तयार भएको’ जवाफ दिनुभएको थियो ।

सभापति देउवा विमलेन्द्र निधिलाई वफादार र आफूले भनेको मान्ने ठान्नुहुन्थ्यो भने निधि पनि आफ्नो कुरा देउवाले काट्नुहुने छैन भन्ने विश्वासमा हुनुहुन्थ्यो । तर, यस घटनामा दुवै नेताको एक–अर्काप्रतिको भ्रम हट्न पुगेको छ । लामो समयदेखि सुमधुर सम्बन्धमा रहनुभएका नेताहरू देउवा र निधिबीच अहिले सम्बन्ध यसरी चिसिएको छ कि यसअघि यसप्रकारको तनाव कहिल्यै देखिएको थिएन । देउवाबाट आफूलाई उपसभापति बनाइने विश्वासमा रहनुभएका विमलेन्द्र निधि आफूले भनेजस्तो नभए गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आएमा उहाँको उपसभापति बन्ने आकाङ्क्षामा कस्तो असर पर्ला भनी सर्वत्र चासोका साथ हेरिएको छ । उपसभापति बन्नका लागि पनि अन्ततः निधिले कुनै न कुनै रूपमा देउवासँग सम्झौता गर्नुहुने विश्वास धेरैले गरेका छन् । त्यसरी सम्झौता हुँदा प्रकाश अर्याल आईजीपी बन्न सक्ने अड्कलबाजी पनि कतिपयले गरेका छन् ।

जे होस्, आईजीपी नियुक्त प्रकरणले देउवा र निधिबीचको लामो सुमधुर सम्बन्धलाई नराम्रोसँग सङ्कटग्रस्त बनाएको छ । आफ्ना विभिन्न शुभचिन्तकहरूसँग निधिले ‘गृह मन्त्रालय देउवाजीले नै चलाउन्, म राजीनामा दिन्छु’ भनी भनेका कुरा देउवाको कानमा पुगेपछि देउवा थप चिढिनुभएको छ । यस घटनाले देउवा र निधिबीचको सम्बन्ध चिस्याएको मात्र नभई काङ्गे्रस र माओवादीबीचको सत्ता–गठबन्धनलाई नै सङ्कटमा पार्नेसम्मको सम्भावना देखिएको छ । देउवालाई विश्वासमा नलिईकन आईजीपी चयन भएमा काङ्गे्रसले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावनालाई इन्कार गर्न सकिने स्थिति छैन ।