बीपी र भगवान सहाय

बीपी र भगवान सहाय


sn-karki-5

■ स्वयम्भूनाथ कार्की

बीपीसँग तात्कालीन नेपालका लागि भारतीय राजदूत भगवान सहायको राम्रो सम्बन्ध रहेन । यो सम्बन्धको तीतोपना सुरुदेखिकै भने थिएन । चुनावी सरकारको नेतृत्व लिइदिने राजा महेन्द्रको आग्रहलाई ठाडै अस्वीकार गरेर बीपीले सुवर्णलाई अगाडि सारे । बीपीको देखाइमा त्यो सरकार सहजै बन्ने थियो, तर त्यसो हुँदै छैन भन्ने खबर भगवान सहायले बीपीलाई दिएका थिए । यो घटनाको नाटकीय वर्णन परिच्छेद ४२ मा छ । बीपी प्रधानमन्त्री नहुन्जेल भगवान सहाय र उनमा त्यस्तो असहज सम्बन्ध भएको जनाउने कुनै कुरा भएको देखिन्न । राजाले काङ्ग्रेसलाई सत्ता दिँदै छैनन् भन्ने कुराको चेतावनी दिन आएको कुरा गर्दै सहायले तपाईं हामीलाई विश्वासमा लिनुहुन्न भन्ने गुनासो पनि गरेका छन् । पछि बिरामी परेर बीपी दिल्ली गएको बेला भगवान सहायले आफूलाई ठूलो आदर गरेको कुरा गरेर पछि पनि सम्बन्ध नराम्रो नभएको जनाएका छन् । तर, किताबका अनुसार प्रधानमन्त्रित्व कालमा भने सहाय र बीपीको सम्बन्धमा तीतोपन आयो ।

विशेषतः सहायसँगको आफ्नो सम्बन्धको चिसोपनाको जिम्मेवार राजा महेन्द्रलाई ठानेका छन् । केवल गण्डक सम्झौताको मस्यौदामा नेपालीको माछा मार्ने हक पनि राख्नुपर्छ भन्ने कुरा सहायलाई किन त्यत्रो आपत्तिजनक लाग्यो र राजदूतको मर्यादा बाहिर गएर उनको व्यवहार भयो भन्ने कुराको चिन्तन बीपीले पक्कै गरेका थिए होलान्, तर यस किताबमा भने सामेल छैन । पछि पनि गण्डक र कोसी प्रोजेक्टको डाइरेक्टर सिन्हाले नेहरूको सन्देशको रूपमा कागजको टुक्रामा गरिने सम्बन्धभन्दा महत्वपूर्ण प्रधानमन्त्री बीपीसँगको मित्रता हो भनेर भनेको प्रसङ्ग परिच्छेद ४९ मा छ । भारतसँग, राजदूत सहायसँग राजाले गण्डक सम्झौतामा खिचलो (?) गरेको कारणले सम्बन्ध चिसिएको होइन भन्नलाई यो प्रसङ्ग पर्याप्त छ । बरु यसले नेहरू बीपीसँगको आफ्नो सम्बन्धलाई ज्यादा महत्व दिन्थे भन्ने यस सन्देशले बीपी भारतसँगको कुनै पनि सन्धि–सम्झौता वा समझदारीको पुनरावलोकन जतिबेला पनि गराउन सक्दथे भन्ने सङ्केत गरेको छ ।

बीपीको यो हैसियत हुँदाहुँदै पनि भगवान सहायले कूटनीतिक मर्यादा छाडेर कुरा गरेकाले बीपी गण्डक सम्झौताको हस्तक्षर समारोहमा सहभागी भएनन् । खोजी भएपछि शिष्टाचार महापाल प्रकटमान सिंहमार्पmत अधिकारपत्र पठाए । यो घटनाभन्दा पहिले पनि सहायले सरकारप्रमुखको मानमर्दन गर्न खोजेको घटना पनि किताबमा उल्लेख छ । नेहरूको कुनै बीपीलाई पढेर सुनाउनुपर्ने सन्देश सुनाउन सहायले प्रधानमन्त्री बीपीलाई नै आफ्नो निवासमा बोलाए । औपचारिक सन्देश जो एक मुलुकको सरकारप्रमुखले अर्को मुलुकको सरकारप्रमुखलाई सुनाउन ब्रेकफास्ट वा डिनरमा राजदूतले बोलाउनु निश्चय नै मर्यादा होइन । बीपीले आफ्नो कार्यालयमै बोलाए, सरकारप्रमुखलाई औपचारिक विषयलाई अनौपचारिक आफ्नो निवासमा बोलाउन सङ्कोच नगर्ने सहायले आपूm प्रधानमन्त्री कार्यालयमा जाँदा भने औपचारिकता पूरा गरिनुपर्ने कुरा उठाए ।

तारिणीप्रसाद कोइरालाको पत्रिकामा निस्केको हिमाली राज्यहरूको एक परिसङ्घ हुनुपर्छ भन्ने लेखबारे आपत्ति जनाउन सहायले कुनै औपचारिकता हेरेनन् । बिहान सबेरै फोन गरे, बीपीले कार्यालयमा भेट्न आऊ भनेको पनि मानेन र निवासमै तुरुन्तै भेट्ने भनेपछि आउनुस् भनेर बोलाउन बीपी बाध्य भए । परिच्छेद ४९ मा बीपी उल्लेख गर्दछन्, ‘चेतनालाई लिएर बगैँचामा उभिइरहेको बेलामा सहाय हान्निएर आइपुगे र भने, ‘यो लेख के हो ?’ बीपीको भनाइअनुसार त्यो सरकारको पेपर थिएन, तारिणीले पनि सम्पादन छोडिसकेका थिए । सरकारको आधिकारिक धारणा पनि थिएन, तैपनि बीपी र सहायबीच बहस भयो र अन्तमा ऊ भयानकसँग रिसाएर गयो । यी घटना उल्लेख गर्दाको बीपीको प्रस्तुति तथा शब्द चयन हेर्ने हो भने सहायले आफू राज्यपालसरह भएको र बीपीलाई मुख्यमन्त्रीसरहको व्यवहार गरेको सङ्केत पाइन्छ ।

सहायकोे यो व्यवहार बिदा हुने बेलासम्म पनि कायम रह्यो । प्रधानमन्त्रीबाटै बिदाइ पार्टीको माग भयो । बिदाइमा पनि विशेष व्यवहारको माग भयो । अन्ततः शिष्टाचार विभागको पार्टीले भएन बीपीले आपँैmले नभए पनि सुवर्णजीलाई पार्टी दिन लगाए । उपप्रधानमन्त्रीले कुनै मुलुकको राजदूतलाई दिएको बिदाइ पार्टी त्यसै पनि शिष्टाचारको उपल्लो प्रदर्शन हो जो कुनै पनि सरकारबाट आशा गरिन्न । तर, यत्रो गौरवमय पार्टीमा जसको निमित्त पार्टी दिइएको छ ऊ नै एक घन्टा ढिलो आउनुभन्दा ठूलो अतिथेयको अपमान के हुनसक्छ । मन्त्रिमण्डलले पारित गरेको गण्डक सम्झौताको मस्यौदामा राजाले भनेर माछा मार्ने हक थप्ने कुरा निकाल्दा मात्र आईसीएस पृष्ठभूमिबाट आएको राजदूतले यत्रो ठस्सा देखाउँछ त, त्यो पनि सम्झौतामा राजाको कुरा नमानेपछि ? बीपीले भने भारतसँग र राजदूतसँग सम्बन्घ बिग्रेको दोष राजा महेन्द्रलाई दिएका छन् ।