मन्त्रालयमा किन मौलायो मोलमोलाई ?

मन्त्रालयमा किन मौलायो मोलमोलाई ?


स्वास्थ्य मन्त्रालय

मन्त्रीको कमजोर व्यवस्थापनले स्वास्थ्य मन्त्रालयमा प्रजातन्त्रवादी पक्षधर कर्मचारीले सास्ती पाएको सन्दर्भ यतिबेला चर्चामा छ । वीर अस्पतालमा सबैभन्दा वरिष्ठ डा. हरिशचन्द्र उप्रेतीलाई निर्देशक बनाउन नसकी कनिष्ठ डा. भुपेन्द्र बस्नेतलाई बनाइयो भने हाल केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुको निर्देशकमा डा. राजकुमार महतो, हरिश्चन्द्र उप्रेती र जगत खड्काको नाम चर्चामा छ । खड्का र महतो आवश्यक परे जति पनि पैसा लगानी गर्न तयार रहेको भन्ने उनीहरूनिकट सुत्रले दाबी गरेअनुसार राजकुमार महतो नै निर्देशक बनेर टेकु भित्रिने निश्चतजस्तै ठानिएको छ । यस्तै, राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा डा. मोहन प्रसाइबाट ‘नजराना’ लिएर निमित्त निर्देशकको जिम्मेवारी प्रदान गरिएको स्वास्थ्य–सुत्र बताउँछ ।

बालस्वास्थ्य महाशाखामा खोप शाखामा सरुवा भएर आएका जगन्नाथ दङ्गाल, तुलसी सुवेदी र शान्तिराम खतिवडालाई अन्यत्र खटाइएको छ । बालस्वास्थ्य महाशाखा र खोप शाखा यूनिसेफ, डब्लुएचओको बजेट आउने महत्वपूर्ण शाखा हो । त्यहाँ भरत भण्डारी र वसन्त श्रेष्ठले लामो समयदेखि कब्जा जमाएका छन् । खासगरी बाल स्वास्थ्य महाशाखा खोप शाखाको बजेटमा रजाइँ गर्नको लागि महानिर्देशक डा. पन्त र भरत भण्डारीको मिलेमतोमा दङ्गाल र सुवेदीलाई खोप शाखामा प्रवेश दिइएको छैन । स्मरण्ीय छ, काङ्ग्रेसका सिटौलालाई करोडौँ बुझाएर आएका पन्तलाई हरेक फायलबाट असुल गर्नुपर्ने ‘बाध्यता’ आइपरेको बताइन्छ । विभागमा आफूलाई रकम बुझाउनेलाई मात्र महत्वपूर्ण जिम्मेवारी पन्तले दिएका भन्दै नोटको चलखेल गर्न नसक्नेहरू कुँडिएका छन् ।

स्वास्थ्य मन्त्रालयमा भोलाराम र भोगेन्द्रको रजाइँ पनि कर्मचारीबीच चर्चाको सन्दर्भ बनेको छ । अर्कै भोगेन्द्रले विदेश भ्रमणमा सिफारिस गरेवापत रकम असुल गर्न थालेका छन् । उनको गलत काममा साथ नदिएकोले इमान्दार कर्मचारी भनेर चिनिने विश्वराम श्रेष्ठलाई विभाग पठाइएको छ । उनको स्थान जुनियर भीम सापकोटाले लिएका छन् । छात्रवृत्ति शाखामा पैसा असुल गर्न प्रताप पौडेल र भोगेन्द्र डोटेलले सापकोटालाई खटाएका छन् । विश्वरामचाहिँ आफू इमान्दार काङ्ग्रेस भए पनि ‘सिटौला काङ्ग्रेस’ बन्न नसकेको भन्दै गुनासो गर्छन् । उता, रिक्त हेल्थ असिस्टेन्ट पदका लागि डा. पन्तले एक लाखका दरले रकम उठाएर सरुवा गरिरहेका सुत्र बताउँछ । बताइएअनुसार उनले विभागमा आफ्ना निकटजनहरूसँग ‘रकम मैले मात्र लिने होइन, सिटौला दाजुभाइलाई पनि बुझाउनु पर्छ’ भन्ने गरेका छन् ।