नेपाल–भारत ऊर्जासचिवस्तरीय संयुक्त बैठक

नेपाल–भारत ऊर्जासचिवस्तरीय संयुक्त बैठक


विद्युत् प्रसारण लाइन मुख्य एजेण्डा

नेपाल–भारत ऊर्जासचिवस्तरीय संयुक्त बैठक

लामो समयदेखि चासो र चर्चामा रहेको कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । भारतबाट विद्युत् आयात गर्ने महत्वपूर्ण प्रसारण लाइनका रूपमा लिइएको यस प्रसारण लाइनको सिङ्गल फेजलाई डबल फेजमा रूपान्तरण गर्नेदेखि क्षमता अभिवृद्धि गर्ने कामसमेत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसबाट नेपालमा भारतबाट थप विद्युत् आयात गर्न मार्ग प्रशस्त भएको बताइएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्मित सो आयोजना खासगरी पूर्वक्षेत्रमा विद्युत् आयात तथा निर्यातका लागि महत्वपूर्ण मानिएको छ ।

थप विद्युत् आयात भएपछि प्राधिकरणले झापा, मोरङ र सुनसरीमा विद्युत्भार कटौती अन्त्य गर्ने तयारी गरेको प्राधिकरण स्रोत बताउँछ । यस्तै दुहबीमा रहेको मल्टी फ्युल प्लान्टको ३३ केभी क्षमताको प्रसारण लाइनलाई पनि थप मर्मत गरेर विराटनगरको औद्योगिक करिडोरमा थप विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ । नेपाल र भारतबीच भएको सहमतिअनुसार सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गरिनेछ ।

यस्तै, थप ५० मेगावाट विद्युत् आयात गर्ने तयारी गरिएको रक्सौल–परवानीपुर प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको बुझिएको छ । यस लाइनमार्फत थप विद्युत् आयात भएपछि वीरगन्ज औद्योगिक करिडोरलगायतका क्षेत्रमा पनि विद्युत्भार कटौती अन्त्य गरिने प्राधिकरणले जानकारी दिएको छ । थप विद्युत् आयातका सम्बन्धमा भारत र नेपालका सम्बन्धित निकायबीच सहमति भइसकेको छ भने केही दिनभित्रै नेपाल–भारत ऊर्जासचिवस्तरीय संयुक्त बैठक बसी थप ऊर्जासम्बन्धी कदम अघि बढाइनेछ ।

स्रोतका अनुसार नेपाल र भारतका ऊर्जासचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रूपमा पेस हुनेछ । दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनलाई २२० केभी वा ४०० केभीमा चार्ज गर्नेबारेमा छलफल हुने जनाइएको छ । यस्तै, लामो समयदेखि चर्चामा रहेको न्यु बुटबल–गोरखपुर प्रसारण लाइन निर्माणबारे समेत छलफल गरिने ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।