महानगरपालिकाले कसरी दियो स्वीकृति ?

महानगरपालिकाले कसरी दियो स्वीकृति ?


नक्सालमा सडक भासियो

नक्सालस्थित मापदण्डविपरीत लापरबाही ढङ्गले निर्माण भइरहेको पाँचतारे होटेलको निर्माणकार्य अविलम्ब रोकी पीडित छिमेकीलाई क्षतिपूर्ति दिलाइदिन मागसहित निर्माणकर्ता र भवन निर्माणको अनुमति दिएर त्यसको अनुगमन नगर्ने सरकारी निकायमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जगदम्बा हस्पिटालिटीका नामबाट निर्माण स्वीकृति लिएर शंकर ग्रुपद्वारा पाँचतारे होटेल हिल्टन निर्माण भइरहेको स्थान विगतमा पोखरी रहेको खुलासा भएको छ । बच्चापोखरी नामबाट चिनिने उक्त स्थानमा बाहिरबाट माटो ल्याएर पुरिएको जानकारहरू बताउँछन् । ‘सोही कारण पनि उक्त स्थानमा त्यति गहिराइ खन्नु उचित थियो÷थिएन ? महानगरपालिकाले पोखरी पुरेको स्थानमा गगनचुम्बी भवन निर्माणको अनुमति कसरी दियो ? निर्माणस्थलको जग्गाको माटो परीक्षणको रिपोर्ट कस्तो थियो ? भन्ने विषयमा तत्काल छानबिन गरियोस्,’ अख्तियारमा दर्ता गरिएको उजुरीमा उल्लेख छ ।

उजुरीमा अगाडि लेखिएको छ, ‘महानगरपालिकाले दुई तला मात्र बेसमेन्ट खन्न स्वीकृति दिएको अवस्थामा किन तीन तला बेसमेन्ट खनिएको हो ? यस विषयमा महानगरपालिकाका प्रमुख रुद्रमान तामाङले घटना घटिसक्दा पनि दोषीमाथि कारबाही गर्नु र निर्माणकार्य रोक्नु त परैको कुरा अझै पनि मिडियालाई प्रतिक्रिया दिने क्रममा निर्माणकार्य रोक्न नसकिने बताएर निर्माणकर्तासँग अनुचित सम्बन्ध राखेको प्रस्ट देखिन्छ ।’

सडक भासिनुका साथै वरपरका घरसमेत भासिने खतरा देखिएपछि केही छिमेकी यतिबेला घरबारविहीन हुन पुगेका छन् । यस्तो मानवीय संवेदनाको अवस्थामा समेत छिमेकी निर्माणकर्ताले पीडित छिमेकीलाई सान्त्वनासम्म दिन भेटघाट नगरेको पीडितको गुनासो छ, । जनघनत्व रहेको स्थान, त्यसमा पनि प्रहरीको मुख्यालय रहेको ठाउँमा स्थानीयवासीको बासै उठाउने गरी पाँचतारे होटेल निर्माण गर्न कुन मापदण्डको आधारमा महानगरपालिकाले निर्माण स्वीकृति दिएको हो भन्ने सवाल एकातिर उठेको छ भने सुरक्षा निकायसँग पनि जानकारी दिए–लिएको अवस्था हो कि होइन भन्ने प्रश्न पनि स्थानीय सरोकारवालाले उठाएका छन् । छिमेकीलाई हस्ताक्षर गराउने क्रममा चाहिँ तीन–चार तलाको बिजनेस कम्प्लेक्स बनाउने भनेर झुक्याइएको बताइन्छ ।
पाँचतारे होटेल निर्माणका लागि न्यूनतम कति जग्गा क्षेत्रफल आवश्यक पर्छ ? होटेलका लागि न्यूनतम मापदण्ड के–के हो ? त्यसको आधारभूत मापदण्ड पर्याप्त छ÷छैन भन्नेतर्फ ख्याल नगरी भवन निर्माण गर्दै जाने र छिमेकीका घर चर्काउने, भत्किने अवस्था निर्माण गरी जग्गा हडप्ने योजना निर्माणकर्ताले राखेको नक्सालवासीको आरोप छ ।