ललितपुरवासीको मन जित्दै एसपी अशोक

ललितपुरवासीको मन जित्दै एसपी अशोक


Ashok Sing 2

कुनै पनि निकाय कति सफल या असफल भन्ने मापनको निम्ति त्यहाँ नेतृत्व गर्ने व्यक्तिको क्षमता, इमानदारी र कर्तव्यपरायणताजस्ता कुराले निकै हदसम्म भूमिका खेल्दछ । नेतृत्वकर्ताले दिइएको जिम्मेवारीअनुसार दायित्व निर्वाह गर्छ या स्वार्थकेन्द्रित भई व्यवहार गर्छ, यसका आधारमा सेवाग्राहीले सुविधा वा सास्ती पाउँछन् । त्यसमाथि प्रहरी त यस्तो निकाय हो जो हरदम आमजनतासँग प्रत्यक्ष रूपले गाँसिएर आफ्नो कर्तव्य निभाउनुपर्ने हुन्छ । व्यक्ति, समाज तथा राष्ट्रलाई सुरक्षित, भयरहित, आर्थिक रूपले स्वच्छ र सक्रिय तुल्याउन प्रहरी नेतृत्वको अहम् भूमिका रहन्छ ।

यस्तै भूमिका निर्वाह गरेर यतिबेला ललितपुरवासीको मन जितिरहेका छन् ललितपुर जिल्ला प्रहरीेको ‘कार्यबाहक प्रमुख’ रहेका प्रहरी उपरीक्षक अशोक सिंहले । विगतमा जिल्लाको कमाण्ड कन्ट्रोल फितलो भएकाले आफूहरूले अनावश्यक झमेला र सास्ती पाएको ललितपुरका विभिन्न स्थानमा कार्यरत प्रहरी अधिकारी तथा जवानहरूको गुनासो सुनिन्थ्यो । गत माघको अन्तिम सातादेखि ललितपुर प्रहरीको कमाण्ड एस्पी अशोक सिंहको काँधमा छ । आफू नेतृत्वदायी भूमिकामा आएकै दिनदेखि उनले जिल्लालाई अपराध, असुरक्षा, व्यक्तिगत वा सामूहिक गुण्डागिरीलगायत विकृतिबाट मुक्त पार्न दिलोज्यान लगाएका छन् । एस्पी अशोक सिंहले मातहतका प्रहरीकर्मीलाई दायित्व निर्वाहमा उत्प्रेरित गर्ने, मुस्कानसहितको प्रहरी भन्ने नारालाई व्यवहारमा उतार्नेजस्ता आन्तरिक सुधारका कामदेखि चोरी–डकैती तथा गुण्डा नियन्त्रण, बिचौलिया उन्मूलन, प्लटिङ धन्दामा देखिएका विकृतिको अन्त्यजस्ता महत्वपूर्ण कार्यको योजनागत अभियान आरम्भ गरेका छन् ।

रोडा–ढुङ्गाको अवैध उत्खनन तथा वितरण कार्यलाई नियन्त्रण गर्न उनले दर्शाएको तदारुकता तमाम ललितपुरवासीका निम्ति खुसीको विषय बन्न पुगेको छ भने प्रहरी कार्यालयमा बिचौलियालाई पस्नै नदिने, सेवाग्राहीले सहजै आफ्ना समस्या प्रहरी अधिकारीसमक्ष राख्न सक्ने र तत्काल यथोचित समाधान दिने सिंहको शैलीले सेवाग्राहीको हृदय जितेको छ । आन्तरिक शुद्धीकरणको प्रयासस्वरूप एस्पी सिंहले खराब आचरण गरेको भनी कम्प्लेन आएका प्रहरीकर्मीलाई नसिहत दिने, अदलीबदली गर्ने तथा इमानदार भई कर्तव्यमा खट्नेहरूलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेबाट प्रहरीकर्मीमा बेग्लै उत्साह जागेको ललितपुरका विभिन्न स्थानमा खटिएका प्रहरी अधिकारीहरूको कथन छ ।