
– ज्ञानबहादुर लामा
कोही सोध्छ मलाई– हाम्रो देश कस्तो छ ?
म भन्छु उसलाई– हाम्रो देश यस्तो छ,
सजिएको छ देश हाम्रो तीन भागमा
तराई, पहाड, हिमाल छौँ हामी एक साथमा,
तराई हाम्रो सबै जातको हो सुन्दर बगैँचा,
सीतामाता र भगवान् बुद्ध खेल्नुभएको पवित्र गलैँचा,
जीवजन्तु, पशुपन्छी रमाउँछन् यहाँ उहाँहरूकै काखमा,
आदिवासी जनजाति गाउँछन् भजन यहाँ आ–आफ्नै भाषामा,
पहाड हेर झनै राम्रो, शीतल शान्त छ हरियाली वन,
लोभ्याउँछन् यसले सारा विदेशीहरूको मन,
दिएको छ प्रकृतिले आयुर्वेदिक जङ्गल यहाँ,
खोज्यौँ भने पाउँछौँ हामी अमृतधरी यहाँ,
हिमाल हाम्रो झलमल्ल छ रातदिन बलेको,
मुकुट हो त्यो हाम्रो देशको नागमणिले सजेको,
बस्छौँ हामी विश्वकै शिर सगरमाथाको काखमा,
खान्छौँ हामी साग सिस्नु नाच्दै खेल्दै यहि डाँडापाखामा,
पूर्वमा छ मेची नदी पश्चिम महाकाली,
अटेका छौँ यतिभित्र हामी शान्तिप्रेमी वीर नेपाली ।
प्रतिक्रिया