केही त गर सरकार

केही त गर सरकार


babita basnet 15

– बबिता बस्नेत

नेकपा माओवादीले भर्खरै ‘जनयुद्ध’का २२ वर्ष भव्यताका साथ मनाएको छ । २२ वर्षको ‘सेलिब्रेसन’का लागि तय गरिएका विभिन्न कार्यक्रमले जनयुद्धको उपलब्धिका कुरा गरे पनि त्यसबीचमा भएका मानवीय क्षति र तिनले पारेका असरबारे भने खासै चर्चा गरिएन । फागुन १ गते बिहानै चितवनमा निकालिएको जुलुस हेर्दै गर्दा त्यसको अघिल्लो दिन मकवानपुरमा गिरिजा खड्काले भनेका कुराहरू यो पङ्क्तिकारको कानमा गुञ्जिरहेका थिए । उनले भनेकी थिइन्, ‘मेरी आमा अहिलेसम्म राति सुत्ने बेलामा हामीलाई घरको ढोका लगाउन दिनुहुन्न । ढोका लगाउन लाग्दा सधैँ भन्नुहुन्छ, ढोका नलाउन, भाइ आउँछ । हाम्रो भाइ अब कहिल्यै फर्केर आउँदैन आमा भनेर हामी उहाँलाई भन्न सक्दैनौँ ।’ युद्धका बेला उनको भाइ नारायण खड्काको मृत्यु भएको थियो । रूपन्देहीकी बिन्दु चौधरीका पति प्रहरीमा थिए, युद्धमा माओवादीले छोरालाई प्रहरीमा लगाएको भनेर बाबुआमालाई असाध्यै दुःख दिए । छोरालाई मार्छौं भनेपछि आमाले रोइकराइ गरेर जागिर छोड्न लाइन् । प्रहरीमा उनी भगौडा भनेर कहलिए, तर माओवादीले उनलाई छोडेनन् । ०६१ सालमा आफ्नी आमाकै अगाडि दुवै हात पछाडि बाँधी आँखामा पट्टी लाएर लगे र टुक्राटुक्रा पारी उनको हत्या गरियो । छोराको शरीर टुक्रामा देखेपछि बेहासझैँ भएकी आमा त्यसपछिका ६ वर्ष जिउँदो लासझैँ भएर बाँचिन् । छोराकै कारणले उनको मृत्यु भयो । छोराको हत्या हुँदा बुहारी बिन्दु चौधरीको एक वर्षको छोरो थियो । अहिले १३ वर्षको छोरा र वृद्ध ससुराको जिम्मेवारी उनलाई छ ।

यता बेपत्ता परिवारको कथा झनै दुःखदायी छ । इटहरीकी जमुना भण्डारीदेखि सुनसरीकै लीलादेवी तामाङ हुँदै थुप्रै गुमनाम आमा र श्रीमतीहरू आफ्नो छोरो र पति आज आउला कि भोलि आउला कि भनी अझै कुरिरहेकै छन । २०६३ सालमा इटहरीमा यस पङ्क्तिकारले भेट्दा जमुना भण्डारीका कपाल कालै थिए । अहिले सेताम्मे भएको कपालसँगै उनी काठमाडौंमा कतै जीवन धान्न सङ्घर्षरत छिन् । उनका पति पुष्प भण्डारीलाई सुरक्षाकर्मीले ०६० साल कात्तिक ३ गते माओवादीमा लागेको भनी लगेका थिए । जमुनासँगको कुराकानी यो पङ्क्तिकारले अहिलेसम्म भेटेका धेरै द्वन्द्वपीडितहरूमा बिर्सन नसक्नेमध्येको एउटा हो । ०६३ सालमा भर्खरै माओवादीहरू सार्वजनिक भएका थिए । मुलुकका विभिन्न ठाउँमा आमसभाहरू हुन्थे । जमुनालाई भेट्न जाँदा छिमेकीहरूले भने, ‘ए…उहाँलाई भेट्न त आमसभातिर जानुपर्छ । सधैँ आमसभातिर दौडिएको देख्छौँ ।’ उनलाई भेटेको दिन पनि उनी भर्खरै तरहरामा भएको एउटा आमसभाबाट फर्किएकी थिइन् । आमसभालाई जोड्दै तपाईं पनि माओवादीमा लाग्नुभएको हो ? भन्ने यस पङ्क्तिकारको प्रश्नमा उनले भनेकी थिइन्, ‘म कति दिनदेखि आमसभाहरूमा गइरहेकी छिु । हिजो पनि विराटनगर गएकी थिएँ । आमसभामा धेरै मान्छेहरू आउँछन् । ती धेरै मान्छेकाबीच कतै मेरो श्रीमान् भेटिनुहुन्छ कि भनेर खोज्छु, खै कतै देखिनुहुन्न ।’ उनले श्रीमान्लाई धेरै खोजिन्, कतै भेटिनन् । उनका श्रीमान् जस्तै द्वन्द्वका बेला बेपत्ता भएका मानिसका बारेमा खोजबिन गर्न धेरै वर्षपछि बेपत्ता आयोग बन्यो । तर, त्यसले पनि उनका श्रीमान्को नाम दर्ता गर्ने कामभन्दा अरू केही गर्न सकेन । कति आमाबाबुहरू सन्तान पर्खिंदापर्खिंदै यो संसारबाटै बिदा भए । द्वन्द्वपछिको शान्तिप्रक्रियापछि यो मुलुकमा धेरै कुरा भए । सम्बन्धितहरूका निम्ति सत्ता प्राप्तिको प्रक्रियामा एकपछि अर्को वर्ष रोमाञ्चित तवरले बिते, बितिरहेकै छन् । तर, पीडितका लागि वर्षौं भयो, आफन्त फर्किएनन् ।

सम्बन्धितहरूका निम्ति सत्ता प्राप्तिको प्रक्रियामा एकपछि अर्को वर्ष रोमाञ्चित तवरले बिते, बितिरहेकै छन् । तर, पीडितका लागि वर्षौं भयो, आफन्त फर्किएनन् ।

द्वन्द्वको पीडा सबैलाई छ । दाजुभाइ, दिदीहिनी, श्रीमती, छोराछोरी, नातेदार, आफन्त । तर, सबैभन्दा अप्ठ्यारो अवस्थामा अहिले बाबुआमाहरू छन् । बित्ने त बितेर गए, बाँचेकाहरूमध्ये धेरैजसोका बाबुआमा अहिले वृद्धावस्थामा छन् । बुढेसकालको सहारा भनी हुर्काएको छोरा द्वन्द्वमा मारियो या बेपत्ता भयो । क्षतिपूर्तिबापत राज्यले दिएको रकम श्रीमती र छोराछोरीले मात्रै पाउने हुँदा उनीहरूले केही पाएनन् । कति बाबुआमाका अन्य सन्तान पनि छन् । तर, आजभोलि धेरै सन्तानहरू बाबुआमाप्रतिको कर्तव्यबाट सकेसम्म पन्छिन खोज्छन् । साथमा भएका सन्तानले वास्ता नगरेपछि ऊ भएको भए त हामीलाई हेथ्र्यो, माया गथ्र्यो भन्ने उनीहरूलाई लाग्छ ।

आफ्नो सन्तान बेपत्ता हुँदा या मारिँदाको पीडासँगै वर्षहरू बित्दै जाँदा चरम आर्थिक अभाव र रेखदेख गर्ने मानिसको अभावले द्वन्द्वमा सन्तान गुमाएका बाबुआमाहरू बडो कठिन अवस्थामा छन । दिनप्रतिदिन रोगले च्याप्दो छ, हिँडडुल गर्न अप्ठ्यारो छ । वृद्धवृद्धालाई लक्षित गरेर स्वास्थ्य सेवा या अन्य रेखदेखको व्यवस्थाबारे सरकारले सोचेको पनि छैन । न त कुनै सुविधासम्पन्न वृद्धाश्रम नै छन् । युद्ध गर्ने दलका अध्यक्ष अहिले सरकारप्रमुख छन् । दुःख दुवैतिरबाट सन्तान मारिएका या बेपत्ता पारिएका बाबुआमालाई बराबरी छ । जो जताबाट मारिए पनि उनीहरूका लागि आफ्नो सन्तान मारिएका छन्, बेपत्ता भएका छन् । युद्ध गर्ने दल सरकारमा भए पनि नभए पनि उनीहरूको अवस्थामा सरकारले ध्यान दिनैपर्छ । सत्य निरुपण आयोग र बेपत्ता आयोग बनेपछि केही न केही होला भन्ने आशा राखेका द्वन्द्वपीडितहरू अहिले निराश भएका छन् । यद्यपि यी आयोगका म्याद थप एक वर्षका लागि बढेको छ, तर एक वर्षमा न्याय प्राप्ति होला भन्ने अपेक्षा भने गर्न सक्ने अवस्था छैन ।

द्वन्द्वको व्यवस्थापन हुनै नपाई मुलुकमा आएको भूकम्पले द्वन्द्वका दुःखलाई छायामा पारिदियो । कतिपय ठाउँमा हतियारले ल्याएको विपद्माथि प्राकृतिक विपद्ले थप पीडा दिएका घटना पनि छन् । द्वन्द्वमा सन्तान बितेका थिए, भूकम्पले बेघरबार बनाइदियो । सन्तान र छानो दुवै गुमाउने बाबुआमाको अवस्था थप दयनीय छ । कथा–व्यथा धेरै छन् । जे–जे भए पनि द्वन्द्वपीडित वृद्धवृद्धालाई लक्षित गरेर सरकारले केही गर्नैपर्ने अवस्था छ । त्यसो त, हाम्रो देशमा जे गरे पनि या केही नगरे पनि चलेकै छ, जीवन चुपचाप अगाडि बढ्नु र जबर्जस्ती धकेल्नुबीचको खाडल ठूलो छ । आँखाले भ्याउन्जेल परपरसम्म सन्तानको बाटो हेर्दाहेर्दै करेसाबारी देख्न छोडेका आँखाहरू सुक्खा भइसके । हिँड्नलाई लठ्ठीको सहारा छ । वर्षौं भयो, आङमा घाम नलागीकन हिउँद, वर्षा र चाडबाडहरू बितेर गए । सत्ताको बाँडफाँड, एकपछि अर्काको पालो, एउटाले बढी पाउने कि अर्काले बढी लिने, अब धेरै भयो । वृद्धवस्थामा रहेका ती तमाम आमाबाबुको आँसु र श्रापबाट बच्नकै लागि भए पनि केही त गर सरकार !!