
महाधिवेशन सुसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिले नयाँ मोड लिएको छ । पार्टी अध्यक्षमा कमल थापाको नाममा सर्वसम्मति जुटेको भनी यसअघि प्रचारित सन्दर्भमाथि चुनौती दिँदै राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्दा लोहनीले पार्टीको यस एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राप्रपाको महाधिवेशन ६ गते शुक्रबारदेखि सुरु भएको छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा डा. लोहनीले भने, “एकतन्त्रिय रुपले पार्टीलाई लैजाने मानसिकता र चिन्तनलाई चुनौती दिन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ ।” राप्रपा र राप्रपा नेपालबीच एकता हुँदा चुनाव चिन्ह र पदाधिकारी चयनमा शक्ति सन्तुलन मिलाउने सहमति उलङ्घन हुँदा लाखौँ कार्यकर्ताको उत्साह मर्ने भएकाले आफूले कार्यकर्ताको उत्साहलाई भर्न तथा पार्टीलाई प्रजातान्त्रिक हिसाबले अघि बढाउन उम्मेदवारी दिने निधो गरेको डा. लोहनीले बताए । महाधिवेशनमा आफनो विजय सुनिश्चित रहेको र पार्टीभित्र शक्ति सन्तुलन र नियन्त्रणमा आफूले खलल हुन नदिने प्रतिवद्धता व्यक्त गरे । पार्टी एकता हुँदा चुनाव चिन्ह हलो राख्ने सहमति भएको उनको भनाइ छ ।
पार्टी एकतापछि पछिल्लो समय राष्ट्रिय अध्यक्षको भूमिकामा रहनुभएका डा. लोहनीले धर्म जीवनको अंश भएकाले धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू धर्म र राजसंस्थाको पक्षमा आफनो पार्टी रहेको उल्लेख गरे । दुबै पार्टीको एकतापछि राप्रपाको पहिलो पटक एकता महाधिवेशन हुन लागेको हो । यसअघि बिहीबार मात्रै कमल थापाले आफूलाई पार्टीले सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको दाबी गरेका थिए ।
प्रतिक्रिया