‘शासन परिवर्तनीय हुन्छ तर राष्ट्र सर्वोपरी’ : पूर्वराजा ज्ञानेन्द्र

‘शासन परिवर्तनीय हुन्छ तर राष्ट्र सर्वोपरी’ : पूर्वराजा ज्ञानेन्द्र


King ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र सर्वोपरी र शासन परिवर्तनीय हुने भन्दै हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अँगाल्नुपर्ने अभिव्यक्ति दिनुभएको छ । ६७औँ प्रजातन्त्र दिवसको अवसरमा आफ्नो तर्फबाट एक शुभकामना सन्देश दिँदै पूर्वराजाले हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन्, तिनलाई जगाउनु, जोगाउनु, बचाउनु र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो भन्नुभएको छ ।

यस्तो छ पूर्वराजाको शुभकामना सन्देश–

नेपाली दिदीबहीनी तथा दाजुभाइहरू,

६७ औं प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजुबुबा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग र उत्सर्ग गर्ने सबैको स्मरण गर्न चाहन्छु ।
प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितकोे आधार स्तम्भ पनि हो । प्रजातन्त्रमा राजनीतिक प्रतीकका अनेक रुप हुन सक्दछन्, तर जुनसुकै नामका प्रणाली भएता पनि प्रजातन्त्रको पहिलो शर्त जनताप्रति उत्तरदायी नेतृत्व हुनु पर्दछ भन्ने मलाई लाग्दछ । राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्दछ । त्यसैले हामीले आफ्नै आस्था र विश्वासको राजनीतिक जगलाई अँगाल्नु पर्दछ । हाम्रा आफ्नै दर्शन, गौरव, शान, सभ्यता, संस्कार र शक्ति छन् । तिनलाई जगाउन, जोगाउन, बचाउन र मर्यादित बनाउनु भनेको राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गराउनु हो ।

किसानले खेतमा, मजदूरले कार्यस्थलमा, पैदलयात्रीले सडकमा, सेवाग्राहीले प्रशासनिक निकायमा, पीडितले न्यायालयमा, उपभोक्ताले बजारमा, उद्यमी, व्यवसायीले आफ्नो कर्मक्षेत्रमा, स्वास्थ्यकर्मी, शिक्षक, कानुन व्यवसायी एवं पत्रकारले आफ्नो पेशा व्यवसायमा, सूरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, विद्यार्थीले विद्यालयमा, यूवाले राष्ट्र निर्माणमा र नारीले पाइला पाइलामा सूखानूभुति गर्नू नै प्रजातन्त्र हो भने हामीले भोगिरहेको वर्तमानले यस्तो अवस्था प्रदान गरेको छ कि छैन आफूले आफैलाई प्रश्न गर्नुपर्ने घडी आएको छ ।

श्री पशूपतीनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।