
युरोपेली देश बेल्जियम र लक्जम्बर्गको एक साताको भ्रमण सकेर परराष्ट्रमन्त्री डा प्रकाशशरण महत शनिबार स्वदेश फर्किनुभएको छ । बेल्जियममा यही १३ फेब्रुअरीमा आयोजना गरिएको शान्ति र मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
बेल्जियम सरकारले आयोजना गरेको सो सम्मेलनमा आफूले सशस्त्र द्वन्द्वपछिको नेपालको शान्ति प्रक्रिया एवं शान्ति सम्झौताको कार्यान्वयन, वर्तमान चुनौतीहरू तथा भावी सम्भावनाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको स्वदेश फर्केपछि परराष्ट्रमन्त्री महतले बताउनुभयो । ब्रसेल्सस्थित नेपाली दूतावास तथा एसियन स्टडिज फर युरोपियन इन्ष्टिच्युटले संयुक्तरुपमा आयोजना गरेको ‘नेपालमा समावेशी प्रजातन्त्र र आर्थिक रुपान्तरण ः सम्भावना र चुनौतीहरू’ विषयक सेमिनारमा उहाँ मुख्य वक्ताको रुपमा रहनुभएको थियो ।
युरोपेली आयोगका अध्यक्ष जिन–क्लाउडे जन्कर तथा उपाध्यक्ष एवं विदेश मामला र सुरक्षा नीतका लागि युनियनका उच्च प्रतिनिधि सुश्री फेडेरिका मोगरिनीसँग भएको छुट्टाछुट्टै भेटवार्तामा आफूले नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे छलफल गर्नुका साथै नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापारलगायतका क्षेत्रमा युरोपेली संघको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरेको उल्लेख गर्नुभयो ।
नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा युरोपेली संघले यूरोपेली आकासमा नेपाली वायुसेवाका जहाजलाई लगाएको प्रतिबन्ध हटाउनसमेत आफूले गरेको अनुरोधलाई युरोपेली आयोगका अध्यक्षले सकारात्मक रुपमा ग्रहण गर्दै नेपाल सरकारले उपलब्ध गराउने नयाँ वस्तुगत तथ्यका आधारमा भविष्यमा उपयुक्त निर्णय गर्ने बताउनुभएको उहाँको कथन छ ।
बेल्जियमका परराष्ट्र मन्त्री डिडियर रेन्डरसँगको भेटवार्ताको अवसरमा नेपाल–बेल्जियम द्विपक्षीय सम्बन्ध, विकास सहयोग, व्यापार, लगानी तथा पर्यटन क्षेत्रको विषयमा बृहत छलफल भएको बताउँदै उहाँले दुई देशका परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने विषयमा सहमति हुनुका साथै दुवै देशका संसदहरूको बीचमा मैत्री समूह स्थापनाको महत्वको बारेमा समेत छलफल भएको उल्लेख गर्नुभयो ।
भ्रमणको क्रममा लक्जेम्बर्गका प्रधानमन्त्री जेभियर बेटेल, परराष्ट्रमन्त्री जियन एसेलवर्न एवं विकास सहायता मन्त्री रोमियन स्निडरसँग गरेको छुट्टाछुट्टै भेटवार्तामा व्यापार, लगानी तथा पर्यटनका क्षेत्रहरूमा दुई देशबीच सहकार्यको आवश्यकता रहेको सम्बन्धमा छलफल भएको मन्त्री महतले जानकारी दिनुभयो ।
प्रतिक्रिया