
नेपालको सडक र पुलको पूर्वाधार विकासमा मित्रराष्ट्र भारतले रु ३६ अर्ब ४७ करोड ऋण सहयोग गर्ने भएको छ । भीमदत्तनगरको महाकाली नदीमा चार लेनको पक्की पुल र १८ सडक योजनाका लागि भारत सरकारले ऋण सहयोग प्रदान गर्ने सहमति गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आइतबार आयोजित सहमतिपत्र हस्तान्तरण कार्यक्रममा यस्तो जानकारी गराइएअनुसार गण्डक नहर सडक, सहजपुर–बोगटान–दिपायल, वसन्तपुर–कथरिया–कबाहीगोठ–पिपराढी–पदम, तराई सहरी सडक नेपालगन्ज, रम्भापुर–गुलरिया, गुलरिया–रजनवा, लमही–घोराही, घोराही–तुलसीपुर, चरीकोट–तामाकोसी–जिरी, सेलेघाट–रामेछाप–साँघुटार, तराई सहरी सडक–राजविराज, सिरहा–मलङ्गवा–जलेश्वर, भालुवाङ–बाग्दुला–भीमगिठे, भेडेटार–बुधबारे–रबी–राँके, गैँडाकोट–रामपुर–राम्दी, चन्द्रौटा–कृष्णनगर, कृष्णनगर सहरी सडक, बर्दिवास–जलेश्वर सडक योजनाका लागि ३४०।२२ अमेरिकी डलर अर्थात् रु ३६ अर्ब ४७ करोड ऋण सहयोग स्वीकृतिको अन्तिम सहमतिपत्र हस्तान्तरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र भारत सरकारका रेलमन्त्री सुरेशप्रभाकर प्रभुको उपस्थितिमा सचिव धनबहादुर तामाङलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले उक्त सहमतिपत्र हस्तान्तरण गर्नुभयो । सहमतिपत्र हस्तान्तरणपछि मन्त्री लेखकले दुई देशबीच आपसी सम्बन्ध, सदभाव र पारस्परिक सहयोग कायम गर्दै नेपालमा रेलमार्ग र हुलाकी सडक निर्माणमा पनि भारतको महत्वपूर्ण सहयोग प्राप्त भएको बताउनुभयो ।
भारतीय रेलमन्त्री प्रभुले दुई छिमेकीले पूर्वाधार विकासलगायत क्षेत्रमा एकापसमा सहयोग आदानप्रदान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया