सिक्किमका शर्माको कृतिमाथि काठमाडौंमा परिचर्चा

सिक्किमका शर्माको कृतिमाथि काठमाडौंमा परिचर्चा


1

भारतीय नेपाली साहित्यमा क्रियाशील युवा समालोचक रूपेश शर्माको समालोचनात्मक कृति ‘सिर्जना र दृष्टि’माथि राजधानीमा परिचर्चा गरिएको छ । अनामनगरस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा माक्र्सवादी सौन्दर्यशास्त्री निनु चापागाईं, प्रा.डा. ताराकान्त पाण्डेय र प्राज्ञ डा. अमर गिरीले समीक्षात्मक टिप्पणी गरेका हुन् ।

आयोजकले ब्यानरमा ‘नवोदित’ शब्द प्रयोग गरेकोमा विमति जनाउँदै चापागाईंले भने, ‘उनी माझिएका, सुस्पष्ट र प्रखर समालोचक हुन्, नवोदित होइनन् ।’ शर्माको लेखनपद्धति, विश्लेषणको तरिका र तार्किक क्षमताको उनले सराहना गरे । यस्तै, प्रा.डा. ताराकान्त पाण्डेयले ‘सिर्जना र दृष्टि’ एक माझिएका समालोचकबाट सिर्जना भएको बलशाली कृति भएको उल्लेख गर्दै शर्माका लेखनमा मूलधारको साहित्यमा रहेको भाषिक आस्वाद पाएको तथा सबै समालोचना अनुसन्धानमुखी र गहन रहेको धारणा राखे । कृतिमाथि थप चर्चा गर्दै प्राज्ञ डा. अमर गिरीले भने, ‘समालोचकीय दÞृष्टिले शर्मा माझिएका र सक्षम समालोचक हुन् । उनको भाषामा भिन्नै स्वाद छ । उनी बौद्धिक, प्राज्ञिक र प्रखर समालोचक दरिन पुगेका छन् ।’

कार्यक्रममा मन्तव्य राख्दै कृतिकार शर्माले आफ्नो लेखनको ध्येय साहित्यमा समाज खोज्नु रहेको बताए । उनले भने, ‘भारतीय नेपाली साहित्यमा एउटा ठूलो बौद्धिक तप्का सधैँ राजनीतिदेखि दूर बस्छ । त्यसले गर्दा जातीय मुक्ति सङ्घर्ष र आन्दोलनहरूमा राजनीतिक नेतृत्व र बौद्धिक समुदायबीच एउटा दूरी रहँदै आएको छ ।’ उनले सुवास घिसिङदेखि विमल गुरुङसम्मको बौद्धिक तप्कालाई हेर्ने दृष्टिकोणतर्फ इङ्गित गरे । इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली र प्रतिष्ठानका सदस्यसचिव हीरामणि दुःखीले पनि कृतिमाथि बोलेका थिए ।

भारतको पश्चिम बङ्गालको डुवर्स स्थायी घर भएका शर्मा पेसाले पत्रकार हुन् । उनी सिक्किमको गान्तोकमा बस्छन् । बितेको दुई दशकदेखि समालोचना विधामा कलम चलाउँदै आए पनि कृति प्रकाशन भने उनको यो पहिलो हो ।


स्मृतिका छालहरू सार्वजनिक

परशुराम—शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठानले ‘स्मृतिका छालहरू’ पुस्तक सार्वजनिक गरेको छ । आफ्नी आमा शकुन्तला दाहालको देहान्तका ४५औँ पुन्यतिथिमा गत शनिबार उहाँका छोराहरू रामप्रसाद दाहाल, काशीराज दाहाल र केशव दाहालले आयोजना गर्नुभएको एक समारोहबीच उक्त पुस्तक सार्वजनिक गरियो । उहाँहरूका जेठा छोरा मोडर्न कन्या क्याम्पसका प्रमुख रामप्रसाद दाहाल प्रतिष्ठानका संरक्षक तथा व्यवस्थापक हुनुहुन्छ ।

समाजसेवी स्व. परशुराम दाहाल र शकुन्तला दाहालको स्मृतिमा लेखिएका संस्मरणहरूको संगालो स्मृतिका छालहरूमा उहाँहरूसँग निकट रहेर काम गर्नुभएका विभिन्न व्यक्तित्वहरूले आफ्नो अनुभव लेख्नुभएको छ । साथै उहाँहरूको मृत्युमा दिइएका समवेदनाहरूलाई समेत एकै ठाउँ अभिलेखबद्ध गरिएको छ । स्व. दाहालदम्पतीका माइला छोरा कानुनविद् काशीराज दाहाल प्रशासकीय अदालतको प्रमुख हुनुहुन्छ ।

कानुन तथा न्यायमन्त्री, पूर्वमन्त्रीहरू, सचिवहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा आयोजना गरिएको स्मृति सभाले आमाबाबुप्रतिको सन्तानको कर्तव्यलाई बोध गराएको वक्ताहरूले बताएका थिए । प्रतिष्ठानले कलेजका छात्राहरूलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ ।