बीपी भवन शिलान्यासमा काङ्ग्रेस छिर्नेको लर्को

बीपी भवन शिलान्यासमा काङ्ग्रेस छिर्नेको लर्को


RP

परासी । नवलपरासीको दाउन्नेदेवी गाविस–७ मा बीपी स्मृति भवन निर्माण हुने भएको छ । नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाको सम्झनामा निर्माण हुन लागेको स्मृति भवनको एक कार्यक्रमबीच शिलान्यास गरियो । दुई कट्टा जग्गामा निर्माण हुन लागेको सो भवनमा दुई कोठा र एक हल रहने दाउन्नेदेवी नेपाली काङ्ग्रेस गाउँ कार्यसमितिका सभापति दामोदर जीसीले बताए । ३० लाखको लागतमा बन्ने भवन शिलान्यास भएको मितिले तीन वर्षभित्र निर्माण हुने पनि बताइएको छ ।

भवन शिलान्यास गर्दै रक्षामन्त्री एवम् काङ्ग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले नयाँ पुस्ताले बीपीको विचार आत्मसात् गर्न बीपी स्मृति भवन उपयोगी हुने भन्दै सहमति, सहकार्य र मेलमिलापबाट मुलुकका जटिल समस्याको अन्त्य हुने बताए । शिलान्यास समारोहमा नवलपरासी क्षेत्र नं. ५ र ६ का सांसद विक्रम खनाल र देवकर्ण जयसवाल, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नवलपरासीका सभापति विष्णुप्रसाद लामिछाने, पूर्वसांसद महेन्द्रध्वज जीसीलगायत नेता र ठूलो सङ्ख्यामा भ्रातृ संस्थाका सदस्य एवम् शुभेच्छुकहरूको उपस्थिति थियो । सोही समारोहमा आयोजित पार्टी प्रवेश कार्यक्रमबीच एमाले, माओवादी केन्द्र, राप्रपा, तमलोपा, फोरम नेपालका ५ सय १० कार्यकर्ताहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेको महासमिति सदस्य धु्रव जमरकट्टेलले जानकारी दिएका छन् । नवप्रवेशीहरूलाई नेता खाणले टीका र अबिर लगाई सम्मान गरेका थिए । नवप्रवेशीले आफूहरू राष्ट्रियता, प्रजातन्त्र, समाजवादप्रति प्रतिबद्ध रहँदै नेपाली काङ्ग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए ।

– आरपी उपाध्याय