लुम्बिनी क्षेत्रमा चिनियाँ व्यवसायीको दृष्टि

लुम्बिनी क्षेत्रमा चिनियाँ व्यवसायीको दृष्टि


chin

नेपाल भ्रमणमा रहेको चिनियाँ उद्योगी–व्यवसायीको टोलीले बुटवलमा व्यवसायीहरूसँग यस क्षेत्रमा लगानी सम्भावना सम्बन्धमा छलफल गरेको छ । चीनको वन बेल्ट वन रोड प्रोजेक्टका संस्थापक सुया, कार्यकारी अध्यक्ष जोनसहितको ४१ सदस्यीय टोलीले बुद्धजन्मस्थल लुम्बिनी र तिलौराकोटको अवलोकनपश्चात् बुटवलमा व्यवसायीहरूसँग छलफल गरेको हो ।

छलफलका अवसरमा बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले पूर्वाधार विकाससहित अघि बढेको लुम्बिनी आसपासको क्षेत्रमा लगानीका पर्याप्त सम्भावना रहेको भन्दै ढुक्क भएर लगानी गर्न चिनियाँ टोलीलाई आग्रह गरे । सङ्घले अघिसारेको मोतीपुर औद्योगिक क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै उनले लगानीका लागि मोतीपुर औद्योगिक क्षेत्र पनि उपयुक्त भएको भन्दै चिनियाँ उद्यमीलाई हौस्याए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले बुटवल तथा आसपासको क्षेत्र लगानीका हिसाबले नेपालको सबैभन्दा सुनिश्चित क्षेत्र बनेको तर्क गर्दै यस क्षेत्रको विकास र लगानीका लागि महासङ्घले पनि पहल गर्ने बताए । यस्तै, महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले चीनको सहयोगमा लुम्बिनीसम्म रेलमार्ग बनेपछि यस क्षेत्रको विकासले छलाङ मार्ने बताए ।

उक्त चिनियाँ टोलीका नेता तथा वन बेल्ट वन रोड प्रोजेक्टका संस्थापक सुयाले चाहिँ नेपाल भ्रमणका क्रममा नेपालमा लगानीको सम्भावना देखिएको खुलासा गर्दै चीन सरकार तथा चिनियाँ लगानीकर्ता नेपालको विकासका लागि प्रतिबद्ध रहेको आश्वासन दिइन् । चीनको वन बेल्ट वन रोड प्रोजेक्टका कार्यकारी अध्यक्ष जोनले चीन र नेपालका व्यवसायी मिलेर धेरै काम गर्न सकिने अभिव्यक्ति दिएको सो छलफल कार्यक्रममा सङ्घका महासचिव हरि अर्याल, अनुपमान सैंजू, मुक्ति अधिकारी, यादव घिमिरे, आनन्द ओझालगायतले मन्तव्य दिएका थिए ।

chin1

– चन्द्रकान्त खनाल