को हो निरङ्कुश ?

को हो निरङ्कुश ?


■ सुशील देवकोटा

अध्यात्मले भन्छ काम, क्रोध, लोभ, मोह सबै मिथ्या हो । यसबाट मुक्त हुनुपर्छ । तर, आजको भौतिकवादी संसारमा यही नै सत्य भएको छ । हरेक मानिसमा काम, क्रोध, लोभ, मोह सबै छ । हो, व्यक्तिअनुसार यसको मात्रा घटी वा बढी होला यो अर्कै कुरा हो । वा, यसलाई यसरी भनौँ कि कुन हदसम्म मानिसले आफूभित्र भएका ती भावना दबाएर वा लुकाएर राख्न सक्छन्, त्यो व्यक्तिविशेषको क्षमतामा भर पर्ने कुरो हो । कसैले सामान्य कुरामा नै आफ्नो त्यो भावना व्यक्त गरिहाल्छन् भने कसैले जबसम्म सहन शक्तिको एउटा सीमा पार गर्दैन तबसम्म त्यो भावनालाई लुकाएर राख्छन् ।

नेकपा एमालेका तत्कालीन सांसद गोल्छे सार्कीले नेपाली काङ्ग्रेसका सांसद रामचन्द्र पौडेललाई संसद-भवनभित्रै जुत्ता प्रहार गरेको घटना सचेत नेपालीले पक्कै बिर्सिएका छैनन् । संसद-भवनभित्र सांसद्को मर्यादा नाघेर एउटा सांसदले अर्को सांसदलाई यसरी जुत्ता हान्नु कुनै पनि हालतमा उचित होइन । हुन त संसद्को गरिमा यसरी भङ्ग गर्ने नेपाल पहिलो र अन्तिम राष्ट्र पक्कै होइन । अन्य देशमा पनि यस खालका वा अझ योभन्दा पनि धेरै उग्र घटना भएको इतिहास छ । तर, ती देशमा त्यस्ता घटना भए पनि विकासका काम पनि भएका छन् । तसर्थ नराम्रो कुरा हुँदा मात्रै यस्तो त फलानो देशमा पनि भएको छ नि भनेर हाम्रा सांसद वा नेता उम्किन पाउँदैनन् । एउटा नराम्रो कामलाई दृष्टान्त बनाएर उनीहरू पानीमाथिको ओभानो बन्न खोज्छन् भने जनतासँग अन्य देशमा भएका लाखौँ राम्रा कामहरूको उदाहरण छन् र ती काम हाम्रो देशमा किन भएनन् वा हुँदैनन् भन्ने प्रश्नको भण्डार छ भन्ने पनि ती नेताले बुझ्न जरुरी छ ।

एउटा सामान्य मानिसले यसरी आफ्नो क्रोध तब मात्र व्यक्त गर्छ जब उसले आफूलाई हेपिएको, दबाइएको वा आफ्नो आत्मसम्मानमा चोट लागेको महसुस गर्छ । माथि उल्लेख भएको घटना भएपछि स्पष्टीकरण दिने क्रममा गोल्छे सार्कीले भनेका थिए– रामचन्द्र पौडेलले उनीलाई केही अश्लील इशारा गरे र त्यो सहन नसकी उनीबाट त्यो कार्य हुन गयो । समाजमा चलिआएको मान्यतालाई आधार मान्ने हो भने हामीले बुझेको कुरा के हो भने हाम्रो समाजमा हुनेखानेले हुँदा खानेलाई हेप्छन्, बलियाले निर्धोलाई दबाउँछन् । अनि जसले यसरी हेप्छन् वा दबाउँछन् उनीहरूलाई तानाशाह वा सामन्ती भनिन्छ र उसको त्यो प्रवृत्तिलाई निरङ्कुश प्रवृत्ति भनिन्छ ।

०६२÷६३ को आन्दोलनपछि हाम्रो देशमा एउटा संस्थाको रूपमा रहेको राजतन्त्रलाई निरङ्कुशतन्त्र भनियो र राजालाई निरङ्कुश भनियो । अनि राजतन्त्र फ्याँकेर गणतन्त्रको घोषणा गरियो र निरङ्कुशताको अन्त्य भएको र जनताको शासनको उदय भएको उद्घोष गरियो । यो उद्घोषबाट जनता सन्तुष्ट छन् त ? आफूलाई जनप्रतिनिधि भन्नेहरूसँग जनता खुसी छन् त ? के वास्तवमा जनताले गणतन्त्र चाहेका थिए त ? के वास्तवमा राजा निरङ्कुश नै थिए र जनताले राजतन्त्रलाई निरङ्कुशतन्त्रकै रूपमा हेरेका र बुझेका थिए त ? के साँच्चै जनताको मनमा राजाप्रति त्यो हदसम्मको नकारात्मक भाव र विरोध थियो वा छ त ? यी प्रश्नहरूको जवाफ कसैले दिनैपर्दैन । देशको परिस्थिति र पछिल्ला केही वर्षदेखि देशमा भएका घटनाले नै जवाफ दिइरहेका छन् ।

०६७ साल माघ ७ गते शुक्रबार इटहरीमा भइरहेको नेकपा एमालेको पार्टी आमसभामा झलनाथ खनाललाई देवीप्रसाद रेग्मीले झापड हाने । पछि प्रतिक्रिया दिने क्रममा रेग्मीले भनेका थिए, ‘मर्नुभन्दा बौलाउनु निको ।’ उनको त्यस प्रतिक्रियाबाट प्रस्ट हुन्छ कि कति धेरै वितृष्णा थियो उनको मनमा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावमा पराजित गरेर चर्चामा आएका माओवादीका सभासद् झक्कुप्रसाद सुवेदीलाई तिनकुनेस्थित चियापसलमा प्रेमराज देवकोटाले झापड लगाएका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई चुनावमा पराजित गरेर चर्चामा आएका माओवादीका सभासद् झक्कुप्रसाद सुवेदीलाई तिनकुनेस्थित चियापसलमा प्रेमराज देवकोटाले झापड लगाएका थिए । ०६९ साल मङ्सिर १ गते शुक्रबार नेकपा माओवादीका अध्यक्ष तथा आफूले जनताका लागि कथित जनयुद्ध गरेको भन्ने पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई उनकै कार्यकर्ता पदम कुँवरले झापड लगाए । ०६७ माघ ७ गते इटहरीमा आयोजित एमालेको आमसभामा झलनाथ खनाललाई देवीप्रसाद रेग्मीले झापड हाने । पछि प्रतिक्रिया दिने क्रममा रेग्मीले भनेका थिए, ‘मर्नुभन्दा बौलाउनु निको ।’ उनको त्यस प्रतिक्रियाबाट प्रस्ट हुन्छ कि कति धेरै वितृष्णा थियो उनको मनमा ।

०६९ साल मङ्सिर १ गते शुक्रबार नेकपा माओवादीका अध्यक्ष तथा आफूले जनताका लागि कथित जनयुद्ध गरेको भन्ने पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई उनकै कार्यकर्ता पदम कुँवरले झापड लगाए, त्यो पनि माओवादीकै चियापान कार्यक्रममा । गत मङ्सिर २३ गते बिहीबार पूर्वमाओवादी तथा हाल नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पृथ्वीनारायण क्याम्पस पोखरामा कैलालीका सञ्जीव भट्टराईले जुत्ताले हानेका थिए । त्यसैगरी, कहिले राजतन्त्र र हिन्दू धर्मको वकालत गरेर नथाक्ने र पद पाउनेबित्तिकै गणतान्त्रिक र धर्मनिरपेक्ष संविधानअन्तर्गत उपप्रधानमन्त्री बन्न जाने कमल थापा भएको भ्रममा उनको भाइ गणेश थापाले झापड खाए ।

यी त भए आफूलाई जनप्रतिनिधि भन्नेहरूलाई जनताले आफ्नो शक्तिले सीमा नाघेपछि हात उठाएका घटनाहरू । विरोधको रूपमा कालो झन्डा देखाइएको वा नाराबाजी मात्रै गरिएको घटनाको सूची त झन् लामो हुन्छ । एकातिर यो दृश्य छ भने अर्कोतिर निरङ्कुश भन्ने आक्षेप लागेका राजा जहाँ–जहाँ जान्छन् त्यहाँ उनको जयजयकार भइरहेको छ । जनता लाइन लागेर उनको स्वागत गरिरहेका छन् । पुष्पगुच्छाहरू दिइरहेका छन् ।

नेताहरू मधेसमा जाँदा विरोध र विद्रोहका नारा लाग्छन्, तर जब राजा त्यहाँ जान्छन् तब यो छुट्याउन मुस्किल हुन्छ कि यही त्यो मधेस हो जहाँ त्यति धेरै असन्तोष छ भनिन्छ । त्यहाँ जब राजा पुग्छन् तब त्यहाँ न मधेसी देखिन्छ न पहाडे । त्यहाँ मात्र नेपाली देखिन्छ अनि सुनिन्छ देशको बारेमा जयजयकार गरिएका नाराहरू । विखण्डनका कुराहरू, फुट्ने कुराहरू सबै हराउँछन् र स्थान लिन्छन् देश लथालिङ्ग भयो भन्ने गुनासाहरूले । देशलाई बचाउने गुहारहरूले । स्थानीय जनता मात्रै होइनन् विभिन्न पार्टीका स्थानीय नेताहरू पनि राजाको शरणमा पुग्न थालेको समाचारहरू आइरहेका छन् अब त ।

यी सबै तथ्य र उदाहरणहरूलाई हेर्दा यो प्रस्ट हुन्छ कि जनता के चाहन्छन् र जनतको वितृष्णा कोप्रति छ । कसलाई जनता आज पनि चाहन्छन् र कसलाई हेर्न पनि चाहँदैनन् । राजा आज पनि सीमित सुरक्षाघेरामा देशमा निर्धक्क भ्रमण गरिरहेका छन् । यदि जनता साँच्चै उनीसँग रिसाएका हुन्थे अथवा जनताको मनमा उनीप्रति नकारात्मक भावना हुन्थ्यो भने राजा जता गए त्यता परिस्थिति असामान्य हुनुपर्ने थियो, हुलदङ्गा हुनुपर्ने, विरोधका आवाज गुन्जिनुपर्ने, कालो झन्डा देखाइनुपर्ने थियो । अनि जसले आफूलाई जनप्रतिनिधि भनेर दाबी गरिरहेका छन् उनीहरू त्यसरी भ्रमणमा जाँदा कतै विरोध हुन नहुने थियो । तर, यहाँ त ठीक उल्टो पो भइरहेको छ त ।

तसर्थ, यो सत्य र तथ्यलाई आत्मसात् गरी जनताले के चाहेका छन् त्यो बुझेर सोअनुसारको निर्णय गर्न अब नेताहरूले ढिलो गरे भने र यसैगरी देशको अस्तित्वमाथि प्रश्नचिह्न खडा गर्ने काम गरिरहे भने त्यो दिन धेरै टाढा छैन जब जनताले आफैँ उठेर देश बचाउने आफ्नो अधिकार यी नेताहरूबाट खोसेर लिनेछन् र त्यसपछि अस्तित्वको प्रश्नचिह्न लाग्नेछ । अहिले जनप्रतिनिधिको रूपमा देश र जनताको भविष्यमाथि प्रश्नचिह्न खडा गर्नेहरूको भविष्यमाथि ।