मोर्चाद्वारा प्रचण्डलाई झट्का

मोर्चाद्वारा प्रचण्डलाई झट्का


madeshi neta 33

संशोधनका लागि सङ्घर्षरत अवस्थामै सरकारले स्थानीय निर्वाचनको घोषणा गरेपछि अन्योलग्रस्त तथा दोधार मानसिकतामा देखिँदै आएको मधेसी मोर्चाले संविधान संशोधनबिना कुनै हालतमा निर्वाचनमा नजाने निर्णय गरेको छ । निर्वाचन घोषणालगत्तै ‘अब सङ्घर्षको घोषणा गर्छौं’ भन्दै एक दिनका लागि मधेस बन्दको आह्वान गरे पनि मोर्चाले न सङ्घर्षका कार्यक्रम घोषणा गर्न सकेको थियो न निर्वाचनलाई स्वीकार गरेर अघि बढ्ने साहस नै प्रदर्शन गरेको थियो । सरकारसँग बैठक गर्ने र कुनै निष्कर्षबिना टुङ्गिने नियतिको सिकार बनेको मोर्चाले पछिल्लो चरणमा स्थानीय निर्वाचनमा ४५ प्रतिशत सङ्ख्या माग गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा सरिक हुँदै संविधान संशोधनमा लागिपर्ने भनी गरेको प्रस्ताव लत्याउँदै मोर्चाले हिजो मंगलबारको छलफलपछि संशोधनबिना चुनावमा सरिक नहुने फैसला गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव जसरी पनि पास गरेर देखाइदिने भन्दै फकाइरहे पनि निर्वाचनको मिति घोषणापछि उनीमाथि मोर्चाका नेताहरू बेस्सरी झस्किन पुगेका थिए । प्रचण्डलाई पत्याउन नसक्ने निचोडमा पुगे पनि आधिकारिक तवरले उक्त मानसिकता सार्वजनिक गर्ने हिम्मत भने नजुटाइरहेका मोर्चाका नेताहरूलाई पछिल्ला दिनमा प्रधानमन्त्रीले ‘चुनाव स्वीकार गरेर अघि नबढे सङ्घीयता र गणतन्त्र नै गुम्न सक्ने’ भन्दै तर्साउन थालेका छन् । तर, प्रचण्डको कुटिलता बुझेका मधेसवादी नेताहरूले पहिले संशोधन नै पास हुनुपर्ने अडान कायम राखी प्रचण्डविरुद्ध उत्रने सङ्केत गरेका छन् ।

संविधान संशोधनको एजेण्डामा अडान लिँदै लामो समय गुजारेको मोर्चामा संविधान संशोधन हुन नसकेको खण्डमा के गर्ने भन्ने अन्योलचाहिँ देखिएको छ । यसैगरी स्थानीय निर्वाचनमा के गर्ने भन्ने अन्योल पनि मोर्चा नेतृत्वमा थपिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनमा आफ्नो समर्थन नरहने प्रस्ट पारेपछि संशोधन प्रस्ताव पास हुन सक्ने देखिँदैन । यदि सरकार फेरबदलको सौदाबाजीमा एमालेले संविधान संशोधनको अडान छोड्यो भने परिस्थिति फरक बन्न सक्छ, नत्र अहिलेसम्मको सङ्ख्यात्मक गणितमा संशोधन हुन सक्दैन । यता, लामो समयसम्म स्थानीय निर्वाचन नभएकाले मधेसी जनता निर्वाचन चाहन्छन् भन्ने बुझेका मोर्चा–नेताहरूले सीधै निर्वाचनमा नजाने भन्न गाह्रो परिरहेको अवस्थामा संशोधनबेगर निर्वाचन अस्वीकार्य छ भनी घोषणा गर्नुलाई आश्चर्यकै रूपमा हेरिएको छ भने मधेसी मोर्चाको चुनाव अस्वीकार गर्ने निर्णयले प्रचण्डलाई झट्का दिएको अनुभूति गरिएको छ ।