
आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत रणजित राय पछिल्लो लगभग एक महिना अवधि आफ्नो बिदाइमा विभिन्न सङ्घ–संस्था, समूह तथा व्यक्तिविशेषद्वारा आयोजित समारोहमा सरिक हुने चटारोमा परे । नेपाल–भारत सम्बन्धमा अप्रत्याशित रूपमा आइपरेका उतारचढावयुक्त कतिपय सन्दर्भका कारण राजदूत रायको कार्यकालप्रति अतिशयोक्तिपूर्ण टीका–टिप्पणी गर्नेहरू नदेखिएका होइनन् । यसका बाबजुद रायले एक कूटनीतिक प्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकालाई राज्यको उपल्लो तहका आधिकारिक व्यक्ति–व्यक्तित्वदेखि जनस्तरसम्मबाट सराहना गरेको पाइयो । कठिन परिस्थितिमा पनि भारत र नेपालबीचको अत्यन्त निकट तथा संवेदनशील सम्बन्धको डोरी कसिलो तुल्याइराख्न राजदूत रणजित रायले के–कसरी जिम्मेवारी वहन गरे, सचेत तप्काले त्यसको समुचित मूल्याङ्कन गरे र भविष्यमा पनि गरिरहनेछन् ।
तीनवर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेर बिदा हुने क्रममा दिइएका आफ्ना प्रायः अभिव्यक्तिमा भारतीय राजदूत रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितालाई जोड दिएका छन् । विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक हुनुको नाताले पनि भारतले चुनावको कहिल्यै विरोध नगर्ने प्रस्ट्याउँदै उनले चुनावले नै प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो तुल्याउने तर्क गरे । ‘जसरी नेपालमा संविधान जारी गर्दा सबै दललाई मिलाएर लैजानुपर्ने सुझाव भारतको थियो, त्यसैगरी चुनावमा पनि सबै दललाई मिलाएर लैजानुपर्छ भन्ने हाम्रो सुझाव छ,’ राजदूत रायको भनाइ छ । सरकारले संविधान संशोधनमार्फत सबै दललाई विश्वासमा लिन गरिरहेको पहलकदमी प्रशंसनीय रहेको र सबैलाई विश्वास एवम् साथमा लिएर अघि बढ्दा सबैको भलो हुनेमा जोड दिँदै उनले भने, ‘संविधान संशोधन प्रक्रिया प्रशंसनीय छ, यसबाट निकास निस्किने कुरामा भारत पूर्ण रूपमा आशावादी छ ।’
नेपाल–भारत सम्बन्ध शब्दमा वर्णन गर्न नसकिने उल्लेख गर्दै रायले हाम्रा सरकारहरू नबन्दै र देश बन्नुभन्दा पनि पहिल्यैदेखि प्राचीन सम्बन्ध रहेको, जनस्तरको सम्बन्ध रहेको तर्कसाथ दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउन निरन्तर प्रयास भइरहनुपर्ने औँल्याए ।
नेपालमा अस्थिरता हुँदा जसरी नेपाललाई घाटा हुन्छ त्यस्तै घाटा भारतलाई पनि हुने भएकाले नेपालको स्थिरतको पक्षमा भारत हरदम उभिएको दाबी गर्दै रायले नेपाल–भारत सम्बन्ध देश–देशबीचको मात्रै नभएर व्यक्ति–व्यक्तिबीचको सम्बन्ध भएको दोहो¥याए । सम्बन्धको प्रगाढतामा चुनौती पनि रहेको स्वीकार गर्दै चुनौती पार गर्न तथा सम्बन्धको आयाम फराकिलो पार्न अब आर्थिक एजेण्डामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उनले नेपाल–भारत सम्बन्ध आर्थिक साझेदारीका साथ अघि बढिसकेको प्रस्ट्याए ।
उनले भने, ‘आर्थिक साझेदारीको सुरुवात भइसकेको छ, पञ्चेश्वर महायोजनाको कार्यान्वयन हुँदै छ, यसको डीपीआर अन्तिम चरणमा पुगेको छ, यही वर्षको जुनसम्ममा डीपीआर पास हुन्छ, यो महायोजना लागू हुनेबित्तिकै सुदूरपश्चिममा मात्रै नभएर पूरै नेपालमा विकासको तरङ्ग पैदा हुन्छ, साथसाथै उत्तराखण्डमा समेत विकासको प्रभाव पर्नेछ ।’ राजदूत रायले थपे, ‘कनेक्टिभिटी अर्थात् सडक सञ्जालका नयाँ परियोजनाका साथै पूरा परियोजनाहरूको निर्माणकार्य भइरहेका छन् । ३४ अर्बको लागतमा महाकाली पुल निर्माण हुन गइरहेको छ, महाकाली पुलसँगै १५ वटा सडक निर्माण हुँदै छन्, यसले विशेषगरी सुदूरपश्चिम र उत्तराखण्डलाई फाइदा पुग्छ । ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाका लागि भारत सरकारले एक बिलियन अमेरिकी डलर एपु्रभ्ड गरिसकेको छ, फाइनान्सियल अप्रुभ हुनु भनेको धेरै राम्रो हो ।’
पञ्चेश्वर परियोजनाले पूर्वाधार विकासमा ठूलो तरङ्ग पैदा गर्ने विश्वास व्यक्त गर्दै उनले रेल कनेक्टिभिटीलाई समेत भारतले बढावा दिने बताए । उनले भने, ‘हालै हाम्रा रेलमन्त्री सुरेश प्रभु नेपाल आउनुभयो, उहाँले कलकत्तादेखि काठमाडौं र दिल्लीदेखि काठमाडौंसम्म रेल सञ्चालन गर्न भारत तयार रहेको बताउनुभएको छ, यो निकै खुसीको कुरा हो ।’
त्यस्तै, रेलवे कनेक्टिभिटीमार्फत नेपाल–भारत जोड्नका लागि जोगबनी–विराटनगर, जयनगर–जनकपुर–बर्दिबासको परियोजना पनि चाँडै सम्पन्न गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैँ पहलकदमी लिएको राजदूत रायले जानकारी दिए । हुलाकी राजमार्गका लागि पनि आफूले आफ्नो कार्यकालमा नयाँ शिराबाट कार्य सुचारु गरेको उनले बताए । ‘यस परियोजनालाई लिएर धेरै गुनासा थिए, अब हुलाकी राजमार्ग बन्ने भएको छ, यसले पनि नेपाल–भारत सम्बन्धलाई जोड्नेछ,’ रायले भने । रायले भारतले ट्रान्समिसन लाइन निर्माण गरिदिएको उल्लेख गर्दै ट्रान्समिसन लाइन निर्माण सम्पन्न भएसँगै नेपालमा लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको पनि बताए ।
प्रतिक्रिया