पत्र प्रकरणपछि असन्तुष्टि छताछुल्ल

पत्र प्रकरणपछि असन्तुष्टि छताछुल्ल


Ram chandra poudel Sher Bahadur Deuba

सभापति शेरबहादुर देउवाबाट समयानुकूल पार्टी सञ्चालन हुन सक्ने कुरामै शङ्का गर्दै नेपाली काङ्ग्रेसमा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट गत शनिबार केन्द्रीय कार्यसमितिको बैठक राख्नुपर्ने मागसहित सभापति देउवालाई पत्र पठाइएपछि काङ्ग्रेससको आन्तरिक राजनीति तरङ्गित बन्न पुगेको छ । पार्टीका तर्फबाट गरिने विभिन्न नियुक्तिमा अपारदर्शी र एकलौटी रवैया अपनाउँदै आएको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएकोमा राजदूत सिफारिस प्रकरण चरम विवादित बन्न पुगेपछि यसैलाई निहुँ बनाई संस्थापन पक्षधरलाई ठेगान लगाउने अवसर छोप्न असन्तुष्ट पक्ष अग्रसर भएको ठानिँदै छ । तर, असन्तुष्ट पक्षधर नेताहरू यो स्वीकार गर्दैनन् । सुरुदेखि नै पार्टीमा एउटा पक्षलाई पेल्ने, उपेक्षा गर्ने र संस्थागत रूपले अघि बढ्नै नखोज्ने प्रवृत्ति हाबी हुँदै आएको र पछिल्लो चरणमा यो प्रवृत्ति उत्कर्षमै पुगेकोले आपत्ति जनाउनुपरेको उनीहरूको भनाइ छ । पार्टी नेतृत्वको यस्तो लापरबाहीले कार्यकर्तापङ्क्ति तथा आमकाङ्ग्रेसजनमा निराशा छाएको र काङ्ग्रेसका शुभचिन्तक, सहयोगीहरूले पनि चित्त दुखाउन थालेकाले नेतृत्वलाई सच्याउन सुझाव दिने उद्देश्यले केन्द्रीय समितिको बैठक माग गरिएको पौडेलनिकट एक नेताले बताए ।

परराष्ट्र र सुरक्षा निकाय कुनै पनि मुलुकको सर्वाधिक संवेदनशील निकाय हो । तर, यो तथ्यप्रति पटक्कै संवेदनशील नभई पार्टी नेतृत्वले नियुक्ति सिफारिसमा लापरबाही गरेको र यसले पार्टीलाई इतिहासमै बदनाम तुल्याएको भन्दै सभापति देउवाको आलोचना गर्नेहरू यतिबेला बढेका छन् । इमानदार नागरिक पङ्क्तिले ‘काङ्ग्रेस रक्षक नभई भक्षक बन्न पुगेको’ आरोप लगाउन थालेको उनीहरूको दाबी छ । मुलुक निर्वाचनमा होमिनुपर्ने बेला बदनाम छवि लिएर कसरी जनतासामु भोट माग्न जाने भन्ने चिन्ता पनि गाउँ–जिल्लामा बसेर काङ्ग्रेस धानिरहेका नेता–कार्यकर्तामा छाएको छ । यस्तो परिवेशमा पनि केन्द्रीय बैठक डाक्न तदारुकता नदेखाएपछि बुढानीलकण्ठमा पत्रै बुझाएर झक्झकाउनुपरेको तर्क गरिएको छ । विडम्बना त के छ भने ‘बैठक डाक्ने विषयमा पत्र नै पठाएर पार्टीमा अनावश्यक विवाद सिर्जना गर्न खोजेको’ भन्दै आक्रोशित बन्न पुगेका सभापति देउवाले आफू छिट्टै बैठक राख्ने मनस्थितिमा रहेको भए पनि अबचाहिँ कसैले चाहेकै बेला बैठक नबोलाउने अभिव्यक्ति दिएका छन् । यसले पार्टीको विवाद मत्थर हुनुको साटो चर्किने सम्भावना बढाएको छ ।

यसरी नेता रामचन्द्र पौडेलको अगुवाइमा ध्रुवीकृत भइरहेका काङ्ग्रेसजनले महामन्त्री शशांक कोइरालाको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् । पार्टीलाई स्पष्ट दिशा–निर्देश गर्न नसकेको अभियोग उनीमाथि असन्तुष्ट पक्षले लगाएको छ । यसलाई चाहिँ सभापतिविरुद्धको मोर्चामा दर्बिलो साथ पाइने आशाविपरीत महामन्त्री कोइराला तटस्थ बसेकाले उनीप्रति रोष प्रकट गरिएको ठानिएको छ । बीपीपुत्र र निर्विवाद छवि हुनाले सुरुमा निकै आशा गरिएका कोइरालाले कार्यकर्ताको आशाबमोजिम थोरै मात्र पनि काम देखाउन नसकेको भन्दै उनको आलोचना गर्नेहरू यतिबेला काङ्ग्रेसभित्र ह्वात्तै बढेका छन् । यस्तै आक्रोश गगन थापामाथि पनि प्रकट गरिँदै छ । लोकमानसिंह कार्कीविरुद्धको अभियानमा आकाश नै खसालौँला भनेझैँ अघिसरेका गगन पार्टी रसातलमा पुग्न लागेको बखतमा आँखा चिम्लिएर बस्नुको रहस्य के भन्दै असन्तुष्ट काङ्ग्रेसजन घोत्लिन थालेका छन् ।

उता, काङ्ग्रेस नेतृत्वले सत्ता सञ्चालन प्रक्रियामा अनावश्यक हस्तक्षेप निकै बढाएकाले अब यो सहन गर्न नहुने भन्दै प्रधानमन्त्री प्रचण्डमाथि उनको पार्टीभित्रैबाट दबाब पर्न थालेको बुझिएको छ । केही काङ्ग्रेसी नेताको स्वार्थ या चाहनाबमोजिम नियुक्तिलगायतका विषयमा निर्णय लिँदै जाँदा सरकार र खासगरी प्रधानमन्त्री प्रचण्ड एवम् माओवादी पार्टी बदनाम बन्न पुगेको भन्दै माओवादी केन्द्रका प्रचण्डनिकट नेता–कार्यकर्ताले ‘अब काङ्ग्रेसको कुरा नसुन्न’ सुझाव र दबाब दिएको बालुवाटार स्रोत बताउँछ । सूत्रका अनुसार ‘आज सरकारको नेतृत्वमा नरहँदा त यसरी जथाभावी गर्छ भने भोलि नेतृत्व आफ्नो हातमा हुँदा काङ्ग्रेसले कस्तो व्यवहार गर्ला ? त्यसैले काङ्ग्रेससँग सत्ता साझेदारीकै सवालमा समेत माओवादी केन्द्रले विचार गर्नुपर्छ’ भन्दै प्रचण्डलाई उक्साउने गरिएको छ । राजनीतिक परिस्थिति यसरी काङ्ग्रेसको प्रतिकुल हुने ढङ्गले विकसित हुँदै गएको यथार्थमाथि गम्भीर बन्दै शीर्ष नेतृत्व, खासगरी सभापति देउवाले अन्तरपार्टी व्यवस्थापनमा लचकता अपनाउँदै अघि बढ्नुपर्ने धारणा काङ्ग्रेसका शुभचिन्तकहरूको रहेको छ ।