रेखाले दिइन् गगनलाई चुनौती

रेखाले दिइन् गगनलाई चुनौती


Rekha Thapa

०५७ सालमा पहिलो नेपाली सिनेमा खेलेको दाबी गर्ने सिनेअभिनेत्री रेखा थापाले नेपाली कला फाँटमा जम्न सङ्घर्ष आरम्भ गरेको ०५४-०५५ साल या त्योभन्दा अघिबाटै हो । त्यतिबेला रेखालाई मिडियामार्फत ‘प्रमोट’ गर्न लागिपरेका पुराना सिने पत्रकारहरूका अनुसार उनी मोडलिङ गर्दै फिल्मी हिरोइन बन्ने धुनमा पुतलीसडकदेखि बागबजारका फोटो स्टुडियोहरूमा निकै धाउँथिन् । सिनेपत्रिकाका कार्यालयमा बोलाउनेबित्तिकै पुग्थिन् । फिल्म क्षेत्रमा प्रवेश गरेर केही गरी देखाउने उनको लक्ष्य र लालसा त्यतिबेलै त्यस रूपमा झल्किएको थियो । अत्यन्त महत्वाकाङ्क्षी स्वभावकी रेखालाई उनको फरासिलोपन, निडर तथा बोल्ड शैली–स्वभावले काठमाडौं एवम् ‘कलिवुड’मा प्रगतिका कदम अघि बढाउन निकै मद्दत पु¥यायो । त्यसयता रेखाले पाएको सफलता, चर्चा एवम् उनीबारेका अनेक ‘गसिप’सँग तमाम सिनेप्रेमी परिचित छँदै छन् ।

यसरी सिनेक्षेत्रमा उदाएकी अभिनेत्री रेखा थापाको परिचयको दायरा यतिबेला बढ्न पुगेको छ । अब चर्चित अभिनेत्री मात्र नभई उनी मुलुककै चौथो ठूलो राजनीतिक दलको केन्द्रीय नेतासमेत बनेकी छिन् । राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि रेखाको महत्वाकाङ्क्षाले समेत निकै पखेटा हालेको उनका अभिव्यक्तिबाट छनक मिल्दछ । दुई–अढाई महिनाअघि मात्र कमल थापाको हातबाट टीका लगाई राप्रपा प्रवेश गरेकी रेखाले विगतमा आफू माओवादीसँग जोडिएको कुरा इन्कार गर्न थालेकी छिन् । माओवादी अध्यक्ष प्रचण्डसँग रत्नपार्कमा नाचेको कुरा त झन् भसक्कै नबिर्सिनहुने भएको छ उनका लागि । आफू कहिल्यै कुनै पार्टीमा आबद्ध नभएको, आफ्नो पहिलो र सम्भवतः अन्तिम पार्टी पनि राप्रपा नै हुनेसम्मको बयान दिन भ्याएकी रेखाको अवसरवादीपन त स्वतः झल्किन्छ नै, कुनै ‘माता’को भविष्यवाणीअनुसार रेखाको मन्त्री बन्ने योग रहेको कुरालाई उनी र उनका निकटजनहरूले ‘हाइलाइट’का साथ प्रचार गर्न थालेबाट उनमा यतिबेला हुर्कन पुगेको महत्वाकाङ्क्षाको आँकलन गर्न पनि सकिन्छ ।

माओवादीले पर्सा क्षेत्र नम्बर १ बाट संसद्को टिकट दिएको सन्दर्भमा ‘मन खोलेर लागेकी थिइनँ, अवसर ठानेर स्वीकार गरेकी मात्र थिएँ’ भन्ने ओठेजवाफ दिन नहिच्किचाउने रेखा काठमाडौंको क्षेत्र नम्बर ४ बाट राप्रपाको महाधिवेशन प्रतिनिधि बनेकी हुन् । सोही क्षेत्रबाट सांसद रहेका काङ्ग्रेस नेता गगन थापालाई समेत रेखाले चुनौती दिन भ्याइसकिन् । विगतमा आफूले गगनको निम्ति भोट मागेको दाबी गर्ने रेखाले आगामी निर्वाचनमा गगनकै प्रतिस्पर्धी बन्न तयार रहेको अभिव्यक्ति दिएबाट उनमा आवश्यकताभन्दा बढी नै महत्वाकाङ्क्षा पलाएको ठानिएको छ । तर, चिताएपछि पुग्छ भन्ने मान्यता बोकेकी रेखाले फिल्म व्यवसाय नै छोडेर राजनीतिलाई नै ‘पेसा’ नबलाउलिन् भन्न सकिन्न । हुन त डेढ सयजति सिनेमामा काम गरेकी र केही फिल्म आफ्नै ब्यानरमा निर्माणसमेत गरेकी उनी फिल्म क्षेत्रबाट हात झिक्ने कल्पना नगरेको बताउँछिन् । कलाकार देशका गहना हुन् भन्दै हालसम्म ‘गहना’कै रूपमा सजाएर मात्र राख्ने गरेकाले कलाक्षेत्रका मानिस नेपालमा पछि परेको तर्क गर्ने रेखाले अब आफू सजावटको वस्तु बनेर नबस्ने बरु राजनीतिक सिँढी उक्लिएर मन्त्री बन्ने अनि देश विकास गरेर नेपाललाई संसारमै फरक पहिचान दिलाउने अठोट सुनाउँछिन् । रेखाको यो अठोट केवल महत्वाकाङ्क्षाबाट सिर्जित सस्तो अभिव्यक्तिमा सीमित नहोस् भन्ने कामना उनका प्रशंसकहरूले त गर्लान्, तर तमाम नेपालीजनले भने हालका लागि रेखाको यस वाणीलाई फगत एक फिल्मीपात्रको ‘फण्डा’का रूपमा मात्र ग्रहण गरेका छन् भन्दा फरक नपर्ला ।