
०४६ सालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारका गृहमन्त्री योगप्रसाद उपाध्याय राजनीतिक सक्रियताको हिसाबले यतिबेला पूरै ओझेलमा रहनु आश्चर्यको विषय हुन सक्दैन । किनकि, ९० वर्षको उमेरमा सक्रिय राजनीतिमा रहने कुरा सहज र स्वाभाविक पनि लाग्दैन । तर, जीवनको यस उमेरमा पनि उपाध्यायको शारीरिक तन्दुरुस्ती वा ताजगी र व्यक्तिगत सक्रियता भने ताजुबलाग्दो नै छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका ऐतिहासिक योद्धामध्येका एक उपाध्याय यही फागुन १५ बाट ९० वर्ष प्रवेश गर्नुभएको छ । ९०औँ वर्ष प्रवेशको अवसरमा ललितपुर कुपण्डोलस्थित निवासमा आयोजित ‘भेटघाट कार्यक्रम’मा उपाध्यायको व्यक्तित्व तथा व्यवहार नियाल्दा यस्तो प्रतीत हुन्थ्यो कि जिम्मेवारी दिने हो भने कतै ०४६ कै गृहमन्त्रीको जोसका साथ कर्मक्षेत्रमा उत्रन पनि यी ज्येष्ठ नागरिक सायदै हिच्किचाउनुहोला !
उपाध्यायका परिजनहरूको विशेष उपस्थिति रहेको उक्त भेटघाट कार्यक्रममा राजनीतिक तथा अन्य क्षेत्रका पुराना र लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । काङ्ग्रेस राजनीतिबाट पाखा पारिएको अवस्थामा रहेका गोविन्दराज जोशी, डा. तुलसी भट्टराईलगायत व्यक्तित्व उपाध्यायलाई जन्मदिनको शुभकामना दिन उपस्थित भएका थिए ।
नेपालको राजनीतिक इतिहासमा सन्तनेताको रूपमा चिनिनुहुने स्वर्गीय कृष्णप्रसाद भट्टराईका अत्यन्त निकट तथा प्रिय पात्र रहनुभएका उपाध्यायले बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा गृहमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । ०५६ मा भट्टराई पुनः प्रधानमन्त्री हुँदा पनि उहाँलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको थियो । उपाध्यायकी छोरी उषा पोखरेलका अनुसार किसुनजी र योगप्रसाद उपाध्यायको मित्रता नेपाली काङ्ग्रेस पार्टी बन्नुभन्दा पनि अघिदेखिको थियो । ०१५ सालमा गणेशमान सिंह मन्त्री रहँदा उपाध्यायले सिंहको विशेष सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो । ०४८ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि उपाध्यायलाई अमेरिकाको राजदूतको जिम्मेवारी दिइएको थियो भने ०५६ पछिका दुई वर्ष उहाँ राष्ट्रिय सभाको सदस्यसमेत रहनुभयो ।
ज्ञातव्य छ, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सङ्क्रमणकाललाई सहज तरिकाले पार लगाउनहेतु संविधानलेखन कार्य र निर्वाचन सम्पन्न गराउन गृहमन्त्रीका रूपमा योगप्रसाद उपाध्यायले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा पुराना काङ्ग्रेसजनबीच चल्ने गरेको छ । ९० वर्षको उमेरमा उत्तिकै फुर्तिला देखिनुहुने उपाध्यायलाई यतिबेला नेपाली राजनीतिक वृत्तले मात्र नभई नेपाली काङ्ग्रेस पार्टीले समेत उपेक्षा गर्नुचाहिँ विडम्बनापूर्ण छ । राजनीतिक इतिहासको अहम् कालखण्डसँग गहिरो साइनो गाँसिएका उपाध्यायजस्ता व्यक्तित्वको अनुभवबाट काङ्ग्रेसले मात्र नभई मुलुकले नै फलदायी कुरा हासिल गर्न सक्छ, तर विकृत राजनीति व्याप्त भएको वर्तमान अवस्थामा उपाध्यायजस्ता ऐतिहासिक पात्रतिर ध्यान दिने कसले ?
प्रतिक्रिया