साथीहरूसँग…

साथीहरूसँग…


Bhakta

– भक्तराज न्यौपाने

गाउँ त एकदम निस्तब्ध छ
रित्तो घरमा भोटेताल्जा झुन्ड्याएर
कहाँ हराए पचासी नाघेका घरमूलीहरू ?

रौनकको रौरव हराएर
एकलास चकमन्नताले छोपेको छ घुप्लुक्क
उत्तानो लडेको छ मतान
खण्डहर विभीषिकापछिको युद्धभूमिजस्तो
पहिरोग्रस्त सन्त्रास
कुतूहलको ढिस्कोमा पुरिएर
हराइरहेका छन् आस्थाका फूलहरू ?

समवयी साथीहरू
नियतिको पखेटा हालेर
पालैपालो उडिरहेछन्
अरब, मलेसिया, कोरिया ।

एक–दुई घर त छ बोकी
जीवनको स्पन्दन धड्किने
मधुरो रोगी ल्याम्पोट पिलपिलाउने ।

सुस्केरामा दुःख बिर्साइजाने बूढा बा
धमिलो आँखाले शून्यतिर हेर्दै टोलाइरहेको
यो भयानक दृश्य
र मसानघाटजस्तो बाढीपहिरोग्रस्त अभिशप्त वर्तमान ।

के लेखुँ साथी सन्निकट आइसकेको दशैँलाई सम्झेर
विगतकाझैं रुमानी कविता यतिबेला ???