
शैक्षिक प्रमाणपत्र नक्कली रहेको अभियोगमा अदालतमा मुद्दा खेपिरहेका चिकित्सक अरुण कुमार गुप्तालाई सफाई मिलेको छ । डा. गुप्ता थापाथलीस्थित नर्भिक अस्पतालमा फिजिसियन तथा बाथरोग विशेषज्ञका रूपमा कार्यरत छन् । गुप्ताको प्रवीणता प्रमाण–पत्र तहको शैक्षिक प्रमाण–पत्र नक्कली भएको अभियोगमा विगत ९ महिनादेखि काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले उनलाई सफाई दिएको नर्भिक अस्पतालले जनाएको छ । ०७३ असार १९ गते मुद्दा नं. ०७२–सीआर–३७७६ अन्तर्गत ठगी विषयमा निज चिकित्सक विरुद्ध नेपाल सरकारका तर्फबाट नेपाल मेडिकल काउन्सिल बाँसबारीले मुद्दा दायर गरेको थियो ।
न्यायाधीश कोइरालाको इजलासले चिकित्सक अरुण कुमार बेकसुर रहेको फैसला सुनाएपछि उनले सफाई पाएका छन् । सफाई पाएलगत्तै अनाहकमै आफ्नो चरित्रहत्या गर्ने नियोजित तरिकाबाट आफूलाई फसाइएको दाबी गुप्ताले बताएका छन् । मेडिकल काउन्सिलबाट उनको लाइसेन्स्बारे केही प्रश्न नउठाइए पनि नैतिक रुपमा मुद्दा फैसला नभएसम्म आफू चिकित्सा सेवामा नआउने बताउँदै आएका डा. गुप्ता अब भने कानुनतः पुनः अभ्यासमा (चिकित्सा सेवा) मा फर्किने छन् ।
सिआइबीले नक्कली शैक्षिक प्रमाणको आरोपमा पक्राउ गरेको ९ जना चिकित्सकमध्ये जिल्ला अदालत काठमाडौंबाट फागुन १९ गते डा. अरुण गुप्ताले सफाइ पाएका हुन् । सिआइबीले वीरगंजबाट ९ जनामध्ये डाक्टर गुप्तालाई पनि पक्राउ गरेको थियो । गुप्तालाई पक्राउ गरेपश्चात् अदालतमा पेश गर्दा रु १ लाख धरौटीमा जिल्ला अदालत काठमाडौंले रिहा गरेको थियो । गत असार १९ गते रिहा भएका डा. गुप्ताले हिजो काठमाडौं अदालतबाट सफाइ पाएका हुन् । आरोपी ९ जना डाक्टरमध्ये ८ जनाको जिल्ला अदालत पर्सामा तथा गुप्ताको जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
दाबी गरेको प्रमाण सक्कली रहेको भेटिएपछि डा. गुप्ताले सफाइ पाएका हुन् । डा. गुप्ताले लङ्गटसिंह महाविद्यालय मुजफ्फरपुरबाट १९८६–८८ को ब्याचमा कक्षा १२ उत्तीर्ण गरेका र रूसबाट एमबिबिएस, बङ्गलादेशबाट एम.डी. गरेका गुप्ताले बाथरोग विषयमा भारतको एस.जी.पी.जी.आई.बाट फेलोसिप गरेका थिए ।
प्रतिक्रिया