
मुलुकमा चुनावी माहोल सिर्जना गर्ने ध्येयका साथ सुरु भएको नेकपा (एमाले)को मेची महाकाली अभियानको तेस्रो दिन सोमबार सप्तरीमा भएको झडपमा तीनजनाको ज्यान गएको छ । अभियानका क्रममा राजविराज पुगेको र्याली तथा सभा बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तालाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घटनास्थलमै एक र दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । घटनास्थलमै मृत्यु हुनेमा १८ वर्षीय सञ्जन मेहता र बीपी कोइराला अध्ययन प्रतिष्ठानमा निधन भएकाहरुमा आनन्द शाह र पिताम्बरलाल मण्डल रहेका छन् ।
एमालेको पूर्वनिर्धारित कार्यक्रमअनुसार राजविराजमा गर्ने भनिएको सभा स्थान परिवर्तन गरेर औद्योगिक क्षेत्रमा गरिएको थियो । तर, आमसभा बिथोल्न ठूलो संख्यामा मोर्चा कार्यकर्ता पुगेपछि प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्यो । मधेसी मोर्चाका कार्यकर्ता रोक्न प्रहरीले हवाइ फायरिङ र अश्रूग्यास प्रहार गरेको थियो। त्यसबाट मोर्चाका कार्यकर्ता नरोकिएपछि प्रहरीले गोली चलाएको बुझिएको छ ।
प्रहरीले जनाएअनुसार सुरुमा प्रहरीले सम्झाउँदा नमानेपछि अश्रुग्यास प्रहार गरेको र अश्रूग्यासले पनि नमानेपछि हवाइ फायरिङ गरेको थियो। हवाइ फायरिङ गरेलगत्तै मोर्चाका कार्यकर्ताले पेट्रोल बम हानेपछि बाध्य भएर रक्षाका लागि प्रहरीले गोली चलाएको हो । प्रहरीले यथासक्य संयम अपनाउँदा पनि मोर्चा कार्यकर्ता उत्तेजक बनेकाले यस्तो गम्भीर घटना घट्न पुगेको हो ।
सोमबार सप्तरीमा भएको घटनाले मुलुकमा गम्भीर मुठभेड निम्त्याउने सम्भावना बढेको छ । सरकारले घोषणा गरेको निर्वाचन समेत टर्ने र राजनीतिले समेत नवीन मोड लिन सक्ने टिप्पणी गरिन थालिएको छ ।

प्रतिक्रिया