यसरी जुनेली बनेर उदाइन् गायिका मनु

यसरी जुनेली बनेर उदाइन् गायिका मनु


Manu nemwang

अनेकौँ सङ्घर्षबाट लखतरान हुँदै गर्दा एक दिन चुपचाप सिनामंगलको सुकुम्बासी टोलमा झुपडी बनाएर बस्ने निर्णयमा समेत उनी पुगेकी थिइन् । तर, आफूभित्रको कलाको कलहले त्यहाँबाट फेरि बागबजारतिरै फर्किन् ।

हरेक गीत–सङ्गीतमा आ–आफ्नो पन हुन्छ । भावना पोख्ने र गाउने अलग–अलग तौरतरिका भए पनि गीत–सङ्गीतले दिने सन्देश र आनन्द भने फरक–फरक स्वादको हुन सक्छ । चर्चित गायिका मनु नेम्वाङले हालै सार्वजनिक गरेको ‘रातमा फुल्ने जुनेली भुइँमा झर्दैन’ बोलको गीतलाई पनि यही कोणबाट हेर्न सकिन्छ । राजकुमार तेयुङको शब्द रहेको उक्त गीतलाई इन्द्रसुशील चोङवाङले लयबद्ध गरेका छन् । पूर्वेली लयमा बनेको यस पृथक शैलीको गीतलाई मनु नेम्वाङ, इन्द्रसुशील र टीका लिम्बूले गाएका छन् । चन्द्र बाम्बुलेद्वारा निर्देशित तथा सम्पादित यस गीतको म्युजिक भिडियोलाई ‘एभरेष्ट कल्चरल मिडिया’ लगनखेलबाट उत्पादन तथा वितरण गरिएको छ ।

लिम्बू भाषाका गीतसङ्गीत र संस्कृति संवद्र्धनमा लागिपरिरहेकी गायिका मनुले करिब १२ सयजति गीत गाइसकेकी छिन् भने स्विजरल्यान्ड, मलेसिया, हङकङ, कोरिया आदि देशमा उनको साङ्गीतिक यात्रा सम्पन्न भएको छ । उनका ‘घाँसे पोखरीमा सयौँ चोट सहेर,’ लिम्बू भाषामा गाइएको ‘तु तु गेन यम्बा’, बेसी गाउँतिर को झ¥यो, ‘कोइला खानीमा’ आदि गीत एक समय निकै चर्चित थिए । पाँचथरको दुर्गम गाउँ नवमीडाँडाको सुर्केमा जन्मिएकी गायिकाले लोक तथा आधुनिक गीतका गीति क्यासेट सयौँ चोट सहेर, लैजाऊ रेलैमा, लिम्बू भाषाको पाःमाः एल्बम श्रोतामाझ पस्किसकेकी छन् ।

अत्यन्त गरिब परिवारमा जन्मिएकी मनुले घाँस–दाउरा, मेलापात र हाट–बजारहरूमा हाक्पारे ख्याली, धाननाचसँगै पालाम गाएर आफ्नो सङ्गीतको गोरेटो खनेकी थिइन् । हिजो आफ्ना आवाज बिनासर्त बिनाउद्देश्य भीरपाखालाई मात्र सुनाइरहेकी मनु आज नेपाली एवम् लिम्बू संस्कृति तथा सङ्गीतको जगेर्ना गर्न लागिपरिरहेकी सच्चा सांस्कृतिक सहयात्री बनेकी छिन् ।

जीवनका अनगिन्ती ठक्कर र समस्यालाई पन्साउँदै उनी काठमाडौं पुगिन् र जीवनलाई सहज बनाउन हरेक सङ्घर्ष गर्दै छिन् । अनेकौँ सङ्घर्षबाट लखतरान हुँदै गर्दा एकदिन चुपचाप सिनामंगलको सुकुम्बासी टोलमा झुपडी बनाएर बस्ने निर्णयमा समेत उनी पुगेकी थिइन् । तर, आफूभित्रको कलाको कलहले त्यहाँबाट फेरि बागबजारतिरै फर्किन् ।

यसरी विभिन्न दुःख–सुख गर्दै औपचारिक सङ्गीत शिक्षा आरम्भ गरी आज आफ्नै रेकर्डिङ स्टुडियो एभरेष्ट कल्चरल मिडिया स्थापना गर्नेसम्मको सफलता मनुलाई मिलेको छ । एउटा दुर्गम गाउँमा जन्मेकी साधारण नारीको यो सङ्घर्ष र प्रगति सामान्य मान्न पक्कै सकिँदैन ।
– रोशन मेवाहाङ (लण्डन)

Manu Nemwang