आमा बन्दै मनीषा

आमा बन्दै मनीषा


Manisha like Nargis

कुनै बेला महुबा, खौफ, बागी, कारतूसलगायत फिल्ममा सञ्जय दत्तकी हिरोइन बनेर काम गरेकी वलिउड अभिनेत्री मनीषा कोइरालाले आफ्नो अभिनय यात्रालाई नयाँ मोड दिँदै सञ्जय दत्तकै आमाको भूमिका निर्वाह गर्ने भएकी छिन् । सञ्जयको जीवनमा आधारित रही निर्माण हुन लागेको फिल्म ‘दत्त’मा मनीषाले सञ्जयकी आमा नरगिसको भूमिकामा आफूलाई उभ्याउँदै छिन् ।

पुरानो जमानाकी विख्यात वलिउड अभिनेत्री नरगिसको क्यान्सरबाट निधन भएको थियो भने मनीषा पनि क्यान्सर जितेर पुनः फिल्म दुनियाँमा उत्रिएकी पात्र हुन् । संयोग के छ भने न्युयोर्कमा जुन अस्पतालमा त्यस जमानामा नरगिसको उपचार भएको थियो त्यही अस्पतालबाट मनीषाले क्यान्सरविरुद्धको लडाइँ जितेकी हुन् ।

युवाकालदेखि नै सञ्जय दत्त आफ्नो निकटको साथी रहेका र उनको अपोजिट रोलमा आफूले थुप्रै सिनेमामा काम गरेको भए पनि यतिबेला सञ्जयको आमाको रूपमा काम गर्न लाग्दा आफू बेग्लै किसिमले रोमाञ्चित हुन पुगेको मनीषाको भनाइ छ । स्मरणीय छ, सन् १९९१ मा ‘सौदागर’ फिल्मबाट हिन्दी सिनेसंसारमा प्रवेश गरेकी मनीषाले बाम्बे, खामोसिद म्युजिकल र कम्पनी फिल्मबाट तीनपटक फिल्मफेयर क्रिटिक्स एवार्ड हासिल गरेकी छिन् । यसरी कमर्सियल फिल्ममा सफलताको स्वाद चाखेकी मनीषा रियलस्टिक सिनेमाप्रति पनि उत्तिकै चाख राख्छिन् । ‘दत्त’मा आमाको भूमिकामा काम गर्न मनीषा तयार हुनुलाई उनको कला फिल्मप्रतिको लगावकै रूपमा लिन सकिन्छ ।