नेता रूपमा कोमल–करिश्मा

नेता रूपमा कोमल–करिश्मा


Kalakar parbesh ktm

गत आइतबार बबरमहलस्थित नयाँ शक्ति पार्टीको हेड अफिसमा बेग्लै चहलपहल थियो । सयौँ कलाकारले एक साथ नयाँ शक्ति पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले प्रायः सुनसान रहने उक्त पार्टी कार्यालयमा भीडभाड बढेको रहेछ । नाम चलेकै कुनै कलाकार नयाँ शक्तिमा प्रवेश गर्न लागेछन् कि भनी बुझ्दा निराशा हात लाग्यो । कुनै प्रज्ज्वल गिरी नामका ‘नायक’का साथ दुई सय तेइसजना ‘कलाकार’ बाबुराम भट्टराईका हातबाट नयाँ शक्ति कार्यकर्ताको टीका लगाउँदै रहेछन् । नायक भनिएका गिरीले कलाकारितामा कहिलेदेखि कहाँ के–कति काम गरेर ‘नायक’ कहलिएका हुन्– नयाँ शक्तिले कुनै जानकारी दिएन । तथापि, ढल्दो उमेरमा पनि उत्तिकै ताजा देखिएकी सुन्दरी नायिक करिश्मा बाबुराम भट्टराईकै बगल उभिएर क्ल्यापिङ दिँदै थिइन् ।

उदेकलाग्दो कुराचाहिँ के थियो भने प्रज्ज्वलको नेतृत्वमा एक सय २३ र रोल्पाका कलाकार देवीराम रानामगरको नेतृत्वमा ३० जना गरी दुई सय तेइस कलाकारले नयाँ शक्ति प्रवेश गरेको जानकारी दिइयो । कलाकार आखिर जहाँ बसे पनि कलाकार नै ठानिनुपर्ने हो, तर बाबुरामजस्ता विद्वान्को पार्टीले काठमाडौं र रोल्पाका कलाकार भनी विभेदपूर्ण प्रचार गरेको पाइयो । उक्त अवसरमा नयाँ शक्तिको सांस्कृतिक विभाग प्रमुख रहेकी करिश्मा मानन्धरले पारम्परिक राजनीतिमा कलाकारलाई गहनाको रूपमा मात्र सजाउने गरिएकोमा असन्तुष्टि जनाउँदै कलाकारिता क्षेत्रलाई पनि राजनीतिमा समान स्थान दिइनुपर्ने बताइन् । उनको कुरामा सहमति जनाउँदै नवप्रवेशी कलाकार टोलीले ताली बजाएका थिए ।

ज्ञातव्य छ, नायिका करिश्माको पार्टीमा सयौँ कलाकार प्रवेश गरेकै दिन गायिका कोमल वलीले पनि खाइपाई आएको रेडियो नेपालको जागिरबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिकर्मीको रूपमा मैदान उत्रिने निर्णय गरेकी छिन् । हालै राप्रपाको केन्द्रीय सदस्य निर्वाचित भएकी कोमल र अभिनेत्री रेखा थापाको जीवनमा मन्त्री बन्ने योग रहेको भन्दै एक ‘माता’ले भविष्यवाणी गरेको उनका प्रशंसकहरूले प्रचार गर्दै आएका छन् । कतै यही भविष्यवाणीको वशीभूत भई कोमलले रेडियो नेपाललाई बाई–बाई गर्ने साहस जुटाएकी त होइनन् ?