केका लागि राजदूत ?

केका लागि राजदूत ?


babita basnet 15

– बबिता बस्नेत

कुनै पनि मुलुकमा सम्बन्धित मुलुकले राजदूत पठाउनुको अर्थ के होला ? ती देशमा गएर राजदूतको काम के होला ? राजदूतको अर्थ के हो ? काम, कर्तव्य या ‘टर्मस अफ रेफरेन्स’ के हो ? कूटनीतिक मर्यादाभित्र पर्ने कुराहरू के–के हुन् ? कूटनीति र कूटनीतिक मर्यादा आफँैमा के हुन् ? राजनीतिक भागबन्डामा धमाधम राजदूत सिफारिस गर्नेहरूले शायदै यी प्रश्नहरूबारे सोचेका हुँदा हुन् । यसरी सोचिएको हुँदो हो त राजदूतजस्तो गरिमामय पद आज लिलाम बढाबढमा आएकोजस्तो गरी चर्चाको विषय बन्ने थिएन । न त राजदूत बनाएर पठाएका मानिसलाई कूटनीतिक मर्यादा उल्लङ्घनको आरोपमा मुलुकले फिर्ता बोलाउनुपर्ने अवस्थाको सिर्जना नै हुने थियो । राजनीतिक भागबन्डाका नाममा हाम्रो मुलुकमा जे पनि गर्न हुने प्रकारको संस्कृति स्थापित हुदै जाँदा राजदूतजस्तो पदमा पनि लज्जास्पद निर्णयहरू हुन थालेका छन् । यसले विभिन्न राजनीतिक दलका निर्णायक स्थानमा रहेका नेताहरूलाई उदाङ्गो त बनाएको छ नै, राजदूत सिफारिसमा परेकाहरूमध्ये कहिल्यै नाम नसुनिएकाहरूका बारेमा अनेक जानकारी पनि जनताले जबर्जस्ती प्राप्त गर्नुपर्ने अवस्था छ । जसको बारेमा यसअघि सम्बन्धित व्यक्ति वरिपरिकालाई बाहेक अरूलाई चासो थिएन ।

सन २०१२ मा माओवादी सरकारले कतारका लागि नेपाली राजदूत बनाएर पठाएकी मायाकुमारी शर्मालाई सरकारले कार्यावधिको आधा समय बाँकी रहँदै बोलाउनुप¥यो, कारण उनको गैरकूटनीतिक अभिव्यक्ति । कतारको राजदूतमा महिलालाई पठाइँदै छ भन्ने सुन्दा सुरुमा निकै खुसी लागेको थियो । कूटनीतिक क्षेत्रमा महिलाको सहभागिता अत्यन्त न्यून भएको अवस्थामा राजदूतमा महिलाको नियुक्ति आफैँमा सकारात्मक थियो । तर, उक्त पदलाई उनले धान्न सकिनन् । ‘कतार खुल्ला जेल’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदा कतार सरकारले आपत्ति जनायो । कतारमा रहेका कामदारका प्रति उनको व्यवहार र अभिव्यक्ति पनि त्यत्तिकै आपत्तिजनक थिए । कति भनाइहरू त अहिले पनि युट्युबमा सुरक्षित छन् । उनका भनाइहरू सुन्दा यस्तो लाग्थ्यो मानौँ उनी सामान्य राजनीतिक नियुक्तिमा छिन् । सुरुमा त उनलाई सिफारिस गर्ने दलबाहेक अरूको मतलब नभएझैँ देखिन्थ्यो । अन्ततः सो दलको समेत इज्जत बचाउन सकिनन् । सरकारले कूटनीतिक संहिता उल्लङ्घन गरेको भन्दै फिर्ता बोलायो । कूटनीतिक क्षेत्रमा महिलाको सहभागिता वृद्धिको वकालत गर्दै आएकाहरूका लागि माया शर्माको फिर्ती अप्ठ्यारो लाग्ने घटना थियो ।

एउटा राजदूतले सम्बन्धित मुलुकका साथै विश्वसमुदायका राजदूतहरूसँग समन्वय गर्नुपर्ने भएकाले कायम राख्नुपर्ने मर्यादा र सभ्यताको मूल्य उच्च हुन्छ । त्यसैले पनि आफ्नै छविका बारे प्रश्न उठिरहेका मानिसहरू स्वयम् कूटनीतिक सेवामा जान हिच्किचाउँछन्, राज्यले त नियुक्ति गर्ने कुरै भएन । आफ्नै इमेजमाथि प्रश्न उठिरहेका व्यक्तिले मुलुकको छवि कसरी प्रवद्र्धन गर्लान् ?

अहिले सन् २०१७ मा आएर १२ जना राजदूत नियुक्ति गर्दा चारजना महिलाको नाम प¥यो । तीमध्ये दुईजना वैदेशिक रोजगारसम्बद्ध, जसका विरुद्धमा दर्जनौँ उजुरी वैदेशिक रोजगार विभागलगायत सम्बन्धित ठाउँमा परेको । उहाँहरूका बारेमा जे–जस्ता कुराहरू यसबीचमा आए, नरमाइलो लाग्यो । विभिन्न क्षेत्रमा महिलाको नियुक्ति गर्दा किन यस्तो गरिन्छ ? बुझ्न सकिएको छैन । कूटनीतिक मर्यादा र वैदेशिक रोजगारीबीचको दूरी निकै लामो छ । कूटनीतिज्ञ हुनका लागि धेरै आधारहरू चाहिन्छ, वैदेशिक रोजगार व्यवसायी हुनका लागि दलालमार्फत कामको व्यवस्था गर्ने चलन छ । दलाली र कूटनीतिबीच कुनै सम्बन्ध छैन मात्र होइन कूटनीतिज्ञहरूले कुनै प्रकारको दलाली गरेको पाइए त्योभन्दा ठूलो बेइज्जती अर्को हुँदैन । व्यक्तिको होइन राष्ट्रको इज्जतमा आँच आउने हुनाले कूटनीतिक क्षेत्रमा संलग्न व्यक्तिहरू बढी नै ‘फेयर’ हुन आवश्यक हुन्छ । तर, अहिले सरकारले सिफारिस गरेका तीन व्यक्तिहरू वैदेशिक रोजगारीसँग जोडिएका छन् । वैदेशिक रोजगारी पनि विदेशमै काम गर्ने राजदूत पनि विदेशमै बसेर काम गर्ने त हो नि यस्तो गर्न मिल्छ भनेर गरिएको झैँ लाग्ने गरी गरिएका यी सिफारिशहरू आश्चर्यजनक लाग्छन् । दुई–दुईजना महिलाको नाम यसमा जोडिनु थप दुःखलाग्दो कुरा हो, हामीले त गरेकै हो अरूले गर्न दिएनन् भन्ने शैलीमा जवाफ दिन सहज हुने गरी सम्बन्धित क्षेत्रसँग नामनिशान नभएका मानिसको सिफासिस गर्नु गलत हो ।

राजदूत पदले राज्यको प्रतिनिधित्व गरेको हुन्छ । राजसंस्थाको पृष्ठभूमि भएको विश्वमा राजाका प्रतिनिधि हुने भएकाले राजदूत भनिएको हो । अङ्गे्रजीमा ‘एम्बासडर’को अर्थ राष्ट्रको प्रतिनिधित्व गर्ने व्यक्ति या राष्ट्रप्रमुखको प्रतिनिधि हो । १७औँ शताब्दीमा इटालीबाट सुरु भएको राजदूत राख्ने प्रचलन एक–अर्का देशप्रतिको सम्मान जगाउनका लागि थियो । इटालीमा विभिन्न राज्यहरूबीच समन्वय गर्नका लागि राजदूतको व्यवस्था गरेर सफल भएपछि यो प्रचलन युरोपभरि फैलियो । कूटनीतिक मर्यादाका बारेमा पछि ‘भियना कन्भेन्सन अफ डिप्लोम्याटिक रिलेसन’ पारित भयो । कूटनीतिक मर्यादाको इतिहासमा यो महत्वपूर्ण कुरा थियो, जुन कन्भेन्सनलाई टेकेर अहिलेसम्म विश्वको कूटनीति चलिरहेको छ ।

कुनै पनि मुलुकमा राजदूतको नियुक्ति बडो सोचविचार पु¥याएर गरिन्छ । मुलुकको इज्जत र मानसम्मानसँग जोडिएको हुनाले यो पदको महत्व अन्य राजनीतिक नियुक्तिभन्दा फरक छ । अन्य राजनीतिक नियुक्तिहरूमा मुलुकमै बसेर काम गर्नुपर्ने हुन्छ । कतिपय कुराहरू तलमाथि पर्दा पनि यस्तै हो भन्न सकिन्छ । तर, एउटा राजदूतले सम्बन्धित मुलुकका साथै विश्वसमुदायका राजदूतहरूसँग समन्वय गर्नुपर्ने भएकाले कायम राख्नुपर्ने मर्यादा र सभ्यताको मूल्य उच्च हुन्छ । त्यसैले पनि आफ्नै छविका बारे प्रश्न उठिरहेका मानिसहरू स्वयम् कूटनीतिक सेवामा जान हिच्किचाउँछन्, राज्यले त नियुक्ति गर्ने कुरै भएन । आफ्नै इमेजमाथि प्रश्न उठिरहेका व्यक्तिले मुलुकको छवि कसरी प्रवद्र्धन गर्लान् ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । त्यसैले पनि राजदूतका लागि अनुभवी, जिन्दगीभर मिहिनेत गरेर विभिन्न क्षेत्रमा आफ्नो मर्यादित छवि बनाएका व्यक्तिहरूलाई छानिन्छ । कसरी खाने, कसरी बोल्ने, हिँड्ने, कुरा गर्ने शैली र विषयवस्तुका सम्बन्धमा समेत ध्यान दिनुपर्ने भएकाले राजदूत पद सम्बन्धित व्यक्तिका लागि पनि ठूलो चुनौती हो ।
हामीकहाँ भने राजदूत पद मुलुकको इज्जतसँग जोडिएको कुराभन्दा पनि राजनीतिक भागबन्डा बन्ने गरेको छ । विगतमा दलहरूले आफ्ना मान्छेहरू राख्थे, तर अहिले त राजदूतजस्तो पदलाई पैसासँग दाँजेर चलखेल गरिएका कुराहरू सार्वजनिक भएका छन् । पैसा दिएर कोही राजदूत बन्छ भने उसले मुलुकका बारेमा नभएर आफ्नै हितमा सोच्नु स्वाभाविक हो । त्यसमा पनि वैदेशिक रोजगारीको व्यवसाय गर्नेलाई खाडी मुलुकको राजदूत बनाउनु लज्जास्पद कुरा हो । यस्ता अमर्यादित चलखेलमा महिलाको सहभागिताले ‘महिलाहरू यस्तै हुन्’ संस्कृतिलाई बढावा दिनेबाहेक अर्को काम गर्दैन । महिला हुन् या पुरुष एउटा निश्चित आधार बनाएर मात्र देशका प्रतिनिधिहरूको नियुक्ति गर्नुपर्छ ।