सम्बन्ध र सहयोगमा विज्ञका दृष्टि

सम्बन्ध र सहयोगमा विज्ञका दृष्टि


नेपाल–भारत सम्बन्ध आर्थिक विकास र सहयोग 2

नेपालमा बसेर भारतविरोधी भाषण गर्ने र भारतमा बसेर नेपालमा अन्य शक्तिको प्रभाव बढ्यो भन्दै हल्ला गर्नेको पछि लागेर दुवै देशको हित नहुने विज्ञहरूले औँल्याएका छन् । नीति अनुसन्धान प्रतिष्ठान (नेपाल), अन्तर्राष्ट्रिय सहयोग परिषद् (भारत) र नेपाल–भारत सहयोग मञ्च (वीरगन्ज)को संयुक्त आयोजनामा सम्पन्न एक गोष्ठीका सहभागीले यस्तो धारणा राखेका हुन् । गत सप्ताहन्त बारामा ‘नेपाल–भारत सम्बन्ध : आर्थिक विकास र सहयोग’ विषयक तीनदिवसीय संगोष्ठी आयोजना भएको थियो, तीनदिवसीय उक्त गोष्ठीको गत आइतबार समापन गरियो ।

गोष्ठी समापन कार्यक्रमलाई सम्बोधन गर्दै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारत र चीनजस्ता उदीयमान आर्थिक शक्तिराष्ट्र छिमेकी हुनु नेपालका लागि ठूलो अवसर भएको बताउनुभयो । नेपालले छिमेकीबाट आर्थिक समृद्धिका लागि लाभ लिनेतर्फ पाइला चालिसकेको उहाँको कथन थियो । नेपाल र भारतको सम्बन्धबारे गलत हल्ला मच्चाउनुको कुनै अर्थ नरहेको भन्दै उहाँले दुवै देश मिलेर आर्थिक हितका काम द्रुतगतिमा अघि बढाइरहेको दाबी गर्नुभयो । दुई देशबीच बेलाबेलामा समस्या आउँदा हल्ला गरेर नभई कूटनीतिक माध्यमबाट परिणाममुखी पहलकदमीका साथ समस्या समाधान गर्न सकिने तर्क उहाँको थियो । नेपालको ऊर्जासङ्कट समाधानका लागि भारतले खेलेको भूमिकाका लागि उहाँले धन्यवाद दिनुभयो ।

भारतीय पूर्वराजदूत एवम् अन्तर्राष्ट्रिय सहयोग परिषद्का अध्यक्ष वीरेन्द्र गुप्ताले नेपालले आफूलाई कसरी आर्थिक लाभ हुन्छ त्यसतर्फ पाइला चाल्नुपर्ने सुझाव दिँदै नेपालले आर्थिक लाभका लागि भारतबाहेकको विकल्प खोज्छ भने पनि भारतलाई आपत्ति नभएको बताउनुभयो । ‘जसरी मञ्चमा उभिएर भारतको विरुद्ध भाषण दिने तरिकाबाट बाहिर निस्कनुपर्छ, त्यसरी नै नेपालसँग विकल्प नभएको भन्दै जसरी पनि भारतसँग आउन बाध्य हुन्छ भनी भाषणबाजी गर्ने सोचबाट बाहिर निस्कनुपर्छ,’ उहाँको प्रस्टोक्ति थियो ।

कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठानका प्रबन्ध निर्देशक दीपक अधिकारी, उद्योग वाणिज्य सङ्घ पर्साका अध्यक्ष ओमप्रकाश शर्मा, बुद्धिजीवी चन्द्रकिशोर झा र भारतका प्रबुद्ध व्यक्ति गोपाल अरोरालगायतले आफ्ना अनुभूति प्रस्तुत गर्नुभयो भने अनुसन्धानकर्ता दीपेश केसीले अन्तक्र्रियाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।