सांसदले शक्ति लगाएपछि अध्यक्ष पनि ससुराकै भागमा

सांसदले शक्ति लगाएपछि अध्यक्ष पनि ससुराकै भागमा


चन्द्रबहादुर कुँवर

लमजुङ क्षेत्र नं. २ का सांसद चन्द्रबहादुर कुँवरको भ्रष्टाचार र परिवारवादको कारण स्थानीय जनतामा व्यापक आक्रोश फैलिएको छ । कुँवरले सांसद विकास कोषको रकम दुरुपयोग गरेका कुरा विगतदेखि नै चर्चामा छ । स्थानीय जनताबीच थप चर्चाको पात्र बन्दै उनले आफ्नो गाउँ ढाँडफेदीकुना जाने बाटोमा सडक नै नभएको स्थानमा पनि गत आर्थिक वर्ष ३४ लाख र यस वर्ष ५० लाख रुपैयाँ कालोपत्रे गर्न खर्च गरेका छन् । जिल्लाका कैयन क्षेत्र अत्यन्त विकट र अप्ठ्यारो भौगोलिक बनावटयुक्त भएकाले गोरेटो–घोरेटोमा दिनदहाडै मानिस चिप्लिएर भीरबाट खसी ज्यान गुमाउनुपरेको अवस्था छ । तर, सांसदले आफ्ना दाजुभाइ एवम् सीमित ढकाल परिवारको निजी प्रयोगमा आउने स्थानमा त्यसरी सरकारी बजेटको दुरुपयोग गर्न अप्ठ्यारो मानेनन् । यति मात्र नभई आफ्ना मापसे पार्टनर पशुपति ढकाललाई उपभोक्ता समितिको अध्यक्ष बनाई अर्का त्यस्तै पार्टनर बद्रीमान श्रेष्ठलाई टेन्डरसमेत नगरी समितिको निर्णय भन्दै उनले जथाभावी ठेक्का दिएका हुन् । यसरी सांसदबाट भएको सरकारी कोषको दुरुपयोगको छानबिन हुनुपर्ने र संलग्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुसन्धान गरी भ्रष्टाचारमा कारबाही हुनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

सांसद कुँवरले सरकारी निकायबाट तलब दिइने नियुक्तिमा पनि परिवारवाद देखाएका छन् । आफ्नै छोरीलाई गरिबसँग विश्वेश्वर कार्यक्रमको लमजुङ जिल्ला शाखा बेसीसहरमा जागिर खुवाएका छन् भने बहिनीज्वाइँलाई सुन्दरबजार अस्पतालमा भर्ती गरेका छन् । आफ्नै बुहारीलाई स्थानीय विद्यालयमा शिक्षित बनाएका मात्र नभई अर्का बहिनीज्वाइँ शशी कुँवरलाई स्थानीय आदर्श बाल माविको शिक्षकमा जागिर दिन भ्याएका छन् । भर्खरै मात्र बहिनीज्वाइँ शशी कुँवरका पिता तथा ससुरा नारायणबहादुर कुँवरलाई सुन्दरबजार–भोटेओडार नगर विकास समितिको अध्यक्षमा उनले नियुक्ति दिलाएका छन् । स्मरण रहोस्, सहरी विकास मन्त्रालयले केही दिनअघि गरेको नगर विकास समितिको अध्यक्ष नियुक्तिमा नेपालभरका सबै नगर विकास समितिहरूको अध्यक्ष तोकिसक्दा पनि विवादका कारण स्थानीय निर्वाचनको घोषणा भइसक्दासम्म उक्त सदरबजार–भोटेओडार नगर विकास समितिको अध्यक्ष तोक्ने कार्य रोकिएको थियो । अध्यक्षको रूपमा अघिल्लो कार्यकालमा उत्कृष्ट कार्य गरी स्थानीयवासीबीच लोकप्रिय व्यक्ति रामजी कँडेललाई पुनः एक कार्यकाल काम गर्न दिनुपर्ने स्थानीयवासीको चाहनालाई सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले समेत आत्मसात् गरी रामजी कँडेललाई नै अध्यक्ष पदमा पुनः दोहो¥याउने वचन दिएपछि सांसद कुँवरले स्थानीय कमल रेग्मीलाई अध्यक्षको डमी उम्मेदवारको रूपमा अघि सारेका थिए । जिल्लाका स्थानीय नेताहरू, वर्तमान र पूर्वपार्टीअध्यक्ष, पूर्वसांसदहरूसमेतको समर्थन रामजी कँडेललाई थियो ।

अर्कोतर्फ उत्तम गुरुङलाई अध्यक्ष बनाउनुपर्ने भनी शेरबहादुर देउवा विपक्षीय केही नेताहरू तुल्सीनारायण श्रेष्ठ र गत संविधानसभाको निर्वाचनमा काङ््गे्रस क्षेत्र नंं. १ का पराजित उम्मेदवार टकराज गुरुङ लागेकाले उनीहरूले काङ्गे्रस सभापति शेरबहादुर देउवामार्फत सहरी विकासमन्त्री केसीलाई ४–४ पटकसम्म फोन गर्न लगाएका थिए । अन्ततः सांसद कुँवरले मन्त्री केसीसमक्ष रोइकराई गरी आफू क्याम्प परिवर्तन गरेर मन्त्री केसीको वफादार बन्ने कसम खाएपछि मन्त्री केसीलाई समेत झुक्याएर स्थानीयवासीको चाहनाविपरीत योग्य उम्मेदवार चयन नगरी पार्टी सभापतिको फोनको समेत बेवास्ता गरी मन्त्रीलाई गुमराहमा पारेर सांसदले ससुरा नारायणबहादुर कुँवरलाई निर्वाचन आचारसंहिताविपरीत अध्यक्ष पद दिलाएका छन् । स्थानीयवासीबीच सांसदको यस्ता कार्यको व्यापक आलोचना भएको छ । निर्वाचन आचारसंहिताविपरीत ससुरालाई अध्यक्ष पद दिलाउने गरी भएको सो नियुक्ति तत्काल बदर गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन् ।