सङ्घीयताप्रति सचेत नेकपा एमाले र सङ्घीयतालाई प्रमुख प्राथमिकता दिने मधेसी मोर्चाबीच चर्किएको द्वन्द्वले भीषण रूप लिन सक्ने सम्भावना देखिएको छ । मोर्चाको मागप्रति असहिष्णु बन्दा राष्ट्रियता सुदृढ हुने ठम्याइ एमाले नेताहरूको छ भने एमालेलाई निरुत्साहित गर्दा आफ्नो स्थिति सुदृढ हुने विश्वास मधेसी मोर्चाका नेताहरूमा रहेको देखिन्छ । त्यसैले मेची–महाकाली अभियानमा जुटेका एमालेलाई कोसीपश्चिमको यात्रामा अवरोध पैदा गर्न सक्नुलाई मधेसी मोर्चाले आफ्नो सफलता ठान्यो र झापाबाट अघि बढेको एमालेलाई सप्तरीबाट अघि बढ्न नदिन मोर्चाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग ग¥यो ।
राज रङ्गशालामा आमसभा गर्न तम्सिएको एमाले अन्ततः गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आफ्नो सभा गर्न बाध्य हुनुलाई मोर्चाले आफ्नो सफलता ठानेको थियो भने सभामा सप्तरीका स्थानीय चार हजारभन्दा बढी जनताको सहभागिता हुनुलाई एमालेले आफ्नो सफलता ठानेको थियो । मोर्चाले गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित एमाले सभालाई पनि बिथोल्ने योजना बनाएपछि परिस्थिति तनावपूर्ण बनेको थियो । एमालेको सभास्थलबाहिर पार्क गरी राखिएका दुई दर्जन गाडीमाथि मोर्चाका समर्थकले ढुङ्गामुढा गरी क्षति पु¥याउँदा पनि एमालेका नेता तथा कार्यकर्ताले आफू सफल भएको ठानेका थिए । एमालेले आफ्नो सभा सञ्चालन गरिरहँदा मोर्चाका कार्यकर्ताले सभास्थलमै पुगेर एमालेलाई धपाउने योजना बनाएका थिए । तर, सुरक्षाकर्मीले मोर्चाका कार्यकर्तालाई एमालेको सभास्थलसम्म पुग्न रोक लगाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोलीबाट मोर्चाका आठजनामाथि गोली प्रहार भएको थियो ।
गोलीकाण्डपछि सोमबार साँझ सप्तरीको रुपैनीमा बसेको एमाले स्थायी समितिको बैठकले स्थितिको गम्भीरतालाई बुझी तीन दिनका लागि मेची–महाकाली अभियान स्थगित गर्ने निर्णय लिएको छ । तीन दिनपछि आफ्नो अभियानलाई निरन्तरता दिने पक्षमा एमाले नेतृत्व रहेको छ । फागुन २७ गतेदेखि आफ्नो अभियान सुचारु गर्ने निर्णय एमाले स्थायी समितिले गरेको छ । सप्तरी घटनामा प्रहरीको गोलीबाट चार आन्दोलनकारीको निधन भइसकेको छ भने उक्त गोलीकाण्डमा जम्मा आठजना घाइते भएका छन् । सप्तरीमा गोलीकाण्ड भएपछि मधेसी मोर्चाले अनिश्चितकालीन मधेस बन्दको आह्वान गरेको छ भने पश्चिम नेपालको कपिलवस्तुमा मात्र तनाव पैदा हुन सक्ने र बाँकी भूभागमा आफ्नो अभियान सजिलै अघि बढ्ने विश्वासमा एमाले नेतृत्व रहेको छ । एमालेले सप्तरी र सप्तरीपश्चिमका पाँच जिल्लामा तनाव भए पनि बाँकी भूभागमा आफ्नो अभियान सजिलै अघि बढने ठानेको छ ।
सप्तरी घटनापछि मध्यपूर्व तराईका जिल्लामा तनाव बढेको छ । उक्त क्षेत्रमा नेकपा एमालेविरुद्धको अभियानले तीव्रता लिएको छ भने उक्त घटनालाई लिएर राजधानी काठमाडौंमा पनि हलचल पैदा भएको छ । मंगलबार (फागुन २४ गते) नेपाली काङ्गे्रससम्बद्ध मधेसी सांसदहरूको विशेष बैठकले सप्तरी घटनाका दोषीहरूमाथि कारबाहीको माग गर्ने निर्णय लिएको छ । बैठकपश्चात् नेपाली काङ्गे्रसका सांसदहरू तेजुलाल चौधरी, सुरेन्द्रप्रसाद चौधरी, राजेन्द्रबहादुर अमात्य, सुनिलकुमार यादव, सुशीला चौधरी, डा. गणेश मण्डल, रञ्जित कर्ण, मोख्तार मोहम्मद, भोटनीदेवी खवास, दिनेशकुमार यादव, महेन्द्र यादव, डा. अमरेशकुमार सिंह, राम अयोग्याप्रसाद साह, हरेशप्रसाद महतो, सुरेन्द्र यादव, रामदेव साह, रामचन्द्र यादव, दिनेशप्रसाद प्रसैला यादव र पे्रमकुमार साहलगायतले एक संयुक्त वक्तव्य जारी गरी सप्तरी घटनाका दोषीहरूलाई कारबाही गर्न माग गरेका छन् । वक्तव्यमा भनिएको छ, ‘…प्रहरी–प्रशासनमाथि न्यायिक छानबिन गरी दोषी ठहरिएका प्रशासनिक अधिकारीहरूमाथि कडा कारबाही गर्न माग गर्दछौँ ।’
वक्तव्यमा सरकारले आन्दोलनरत पक्षसँग अविलम्ब वार्ता र संवाद गरी समस्याको समाधान गर्न पनि सांसदहरूले माग गरेका छन् । सांसदहरूले मंगलबार नै प्रधानमन्त्री प्रचण्डलाई भेटी सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तत्काल निलम्बन गर्न माग गरेबमोजिम सरकारले प्रजिअ र प्रहरी प्रमुखलाई मंगलबार नै फिर्ता बोलाउने निर्णय गरिसकेको छ । न्यायिक छानबिन समिति बनाउने माग गरेअनुरूप सरकारले छानबिन समिति पनि निर्माण गरिसकेको छ । उता सप्तरीका प्रजिअ र प्रहरी प्रमुखले भने सयौँ मानिसलाई मर्नबाट जोगाउन आन्दोलनकारीहरूमाथि गोली प्रहार गर्न बाध्य भएको जनाएको छ । यदि प्रशासनले गोली नचलाएको भए एमालेको सभास्थलमा हमला हुन सक्ने र त्यसो भएमा सयौँ मानिस हताहत हुने दाबी प्रजिअ र प्रहरी प्रमुखको छ । गोलीकाण्डपछि मध्यपूर्वी तराई पूरै तनावग्रस्त बनेको छ ।
यस घटनाले वैशाख ३१ गते गराउने भनिएको स्थानीय निर्वाचनलाई पनि नकारात्मक असर पार्ने सम्भावना देखिएको छ । सङ्घीयताका कट्टार हिमायती र सङ्घीयताबारे पुनर्विचार गर्ने मानसिकतामा रहेको एमालेबीचको द्वन्द्वले नेपालमा राजनीतिक धु्रवीकरण बढाउने सम्भावना जति देखाएको छ, स्थानीय निर्वाचन सजिलै हुन सक्ने सम्भावना पनि त्यति नै घटाएको छ । एमाले र बाँकी अन्य राजनीतिक शक्तिबीच उत्पन्न हुन सक्ने तनावले स्थानीय निर्वाचनलाई गम्भीर असर पार्ने र नेपाली राजनीतिलाई नै नयाँ मोडमा पु¥याउने सम्भावना बुद्धिजीजी तथा राजनीतिक विश्लेषकहरूले देखेका छन् । सप्तरी घटनापछि प्रचण्ड नेतृत्वको सरकार पनि केही गम्भीर हुने र चुनाव गराइछाड्ने पूर्वअडानबाट पछि हट्न सक्ने सम्भावना देखिएको छ । नेकपा एमाले र मधेसी मोर्चाबीच सुरु भएको जीवनमरणको सङ्घर्षले नेपाली राजनीतिलाई कस्तो मोड दिने हो, प्रतीक्षा र जिज्ञासाको विषय बनेको छ ।

प्रतिक्रिया