आकाशबाट राष्ट्रपति जमिनबाट राजा

आकाशबाट राष्ट्रपति जमिनबाट राजा


पूर्व श्री ५ को भव्य स्वागत

King Gyanendra 5

नेपाली अर्बपति उद्यमी विनोद चौधरीको विशेष अग्रसरतामा निर्मित शाश्वतधामको उद्घाटन समारोह नेपाली राजनीतिलाई पनि तरङ्गित पार्ने प्रकारले मंगलबार (फागुन २४ गते) सम्पन्न भएको छ । शङ्कराचार्य र आर्ट अफ लिभिङका प्रणेता रविशङ्करको सहयोगमा नवलपरासीको दुम्कौलीस्थित सीजी इन्डस्ट्रियल क्षेत्रमा स्थापित शाश्वतधामको उद्घाटन राष्ट्रपति विद्या भण्डारीबाट भएको छ भने त्यहाँ स्थापित एकम्बेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा तथा शुभाभिषेक पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र र रविशङ्करबाट भएको छ ।

उक्त समारोहको उद्घाटन गर्न मंगलबार राष्ट्रपति विद्या भण्डारी आकाशमार्ग (हेलिकोप्टरबाट) हुँदै नवलपरासी पुग्नुभएको थियो भने पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र चितवनदेखि सडकमार्गबाट शाश्वतधाम जानुभएको थियो । सो समारोहमा सहभागी हुन पूर्व श्री ५ सोमबार नै चितवन पुग्नुभएको थियो । सोमबार हवाईमार्गबाट चितवनको भरतपुरस्थित विमानस्थलमा अवतरण हुँदा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई त्यहाँ बाजागाजासहित भव्य स्वागत गरिएको थियो । काङ्गे्रस–कम्युनिस्टका स्थानीय नेता तथा कार्यकर्ता र जनताले पूर्व श्री ५ लाई विमानस्थलमा स्वागत गर्ने क्रममा उनीहरूले ‘जनता आऊ राजा ल्याऊ’, ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘मेची–काली के भन्छ हाम्रो राजा ले भन्छ’ जस्ता नारा लगाएका थिए ।

सोमबार चितवनको सेन्ट्रल पाम होटेलमा बास बस्न पुग्नुभएका राजा ज्ञानेन्द्र मंगलबार राष्ट्रपति विद्या भण्डारी नवलपरासीबाट फर्कनुभएपछि सडकमार्ग हुँदै चितवनबाट परासीको दुम्कौलीतर्फ प्रस्थान गर्नुभएको थियो । चितवनबाट दुम्कौली जाने क्रममा राजा ज्ञानेन्द्र आफैँले गाडी चलाउनुभएको थियो भने बीचबाटोमा जनताले ठाउँ–ठाउँमा रोकेर उहाँको भव्य स्वागत गरेका थिए । चितवनदेखि शाश्वतधामसम्मको विभिन्न स्थानमा भेला भएका जनताले ‘राजा आऊ देश बचाऊ’ लगायतका गगनभेदी नारा लगाएका थिए । शाश्वतधामको उद्घाटनपछि राष्ट्रपति विद्या भण्डारी तत्काल हेलिकोप्टरबाट राजधानी फर्कनुभएपछि त्यहाँ आयोजित धर्मसभाको प्रमुख अतिथि पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई बनाइएको थियो ।

समारोहमा शङ्कराचार्य र रविशङ्करलगायतले नेपाल हिन्दूराष्ट्रकै रूपमा रहनुपर्ने भन्दै राजाबाट हिन्दूराष्ट्रको संरक्षण हुनुपर्ने विचार व्यक्त गरेका थिए । चितवन र नवलपरासीमा भएको भव्य स्वागतले राजनीतिक दलका नेताहरूप्रतिको वितृष्णा मात्र प्रकट गरेको नभई राजाको लोकप्रियता बढेको सङ्केत पनि दिएको छ । यसअघिको संविधानसभामा एमालेतर्फबाट सभासद् रहनुभएका अर्बपति उद्यमी विनोद चौधरीसमेतको अग्रसरतामा निर्मित शाश्वतधामको उद्घाटन तथा धर्मसभामा पूर्व श्री ५ लाई विशिष्ट अतिथिको रूपमा आमन्त्रण गरिनुलाई राजनीतिक रूपमा समेत अर्थपूर्ण मानिएको छ ।

सोमबार हवाईमार्गमार्फत चितवनतर्फ प्रस्थान गर्ने क्रममा पूर्व श्री ५ सँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिकतर्फको विशिष्ट कक्षमा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली र सन्त स्वामी आनन्द अरुणसँग पनि साक्षात्कार भएको थियो । उहाँहरूसँग पूर्व श्री ५ ले सङ्क्षिप्त वार्तालाप गर्नुभएको थियो । स्वामी आनन्द अरुणसँग उहाँको चितवनमा पनि पुनः साक्षात्कार र संवाद भएको बुझिएको छ ।
Rastrapati _Nawalparasi