
कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निधन भएका नेपाली नागरिक गोविन्द गौतमलाई सहिद घोषणा गरिएको छ । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सहिद घोषणाका साथै दस लाख राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको पनि जानकारी दिएका हुन् ।
कञ्चनपुर जिल्लाको दक्षिणी सिमाना नजिक आनन्द बजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दोष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले अवगत गराए । उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको उनले बताए ।
प्रधानमन्त्रीको निर्देशनमा सो विषयमा आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको जानकारी पनि उनले दिए ।
यस्तै, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पनि स्वराजलाई फोन गरी आइन्दा यस्तो घटना नदोहो¥याउन आग्रह गरेका र काठमाडौंस्थित भारतीय दूतावासका कार्यबाहक राजदूतलाई परराष्ट्र मन्त्रालयले बोलाइ ध्यानाकर्षण गराएको पनि जानकारी दिए ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट कञ्चनपुरको सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिकको मृत्यु भएको सम्बन्धमा दुःख व्यक्त गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई फोन गरी प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री मोदीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको बताइएको छ ।
प्रतिक्रिया