दिग्गज नेताले किन छोडे राप्रपा ?

दिग्गज नेताले किन छोडे राप्रपा ?


PC Lohani

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्दा्र लोहनीले आफू राप्रपाको कुनै पनि तहको सदस्य नरहेको जानकारी दिएका छन् । ०४७ सालमा अन्य दलबाट भौतिक र सांघातिक आक्रमण सहन नसकेर राप्रपा स्थापनामा सहभागी भएको दाबी गर्दै आएका डा. लोहनीले २५ वर्ष पसिना बगाएको पार्टी एकाएक छोड्ने फैसला किन गरे होलान् भन्ने जिज्ञासा आमतहमा यतिबेला उत्पन्न भएको हुन सक्छ, तर लोहनीले अचानक पार्टी छोडेका भने होइनन् । करिव दुई साताअघि ऐतिहासिक एकता भएको भनिएको पार्टीका वरिष्ठ नेताले पार्टी नै छोड्नुपर्ने परिस्थिति आइपर्नुको कारण के थियो त ? हेरौँ, डा. लोहनीले पार्टी परित्याग गर्दा पार्टी अध्यक्ष कमल थापामाथि लगाएका आरोप या उनले पार्टी छोड्नुको मूल कारण

१. यो पार्टीका थुप्रै दस्ताबेज मैले तयार गरेको हुँ । पार्टी एकता अधिवेशनमा पेश भएको एउटा महत्वपूर्ण कार्यपत्र मैले तयार पारेको हुँ । तर, एकता महाधिवेशन पश्चात पार्टी विधानलाई उपेक्षा गर्ने, एकता महाधिवेशनका क्रममा भएका समझदारीलाई लत्याउने र पार्टीलाई आफ्नो राजनीतिक र अन्य स्वार्थपूर्तिको औजार मात्र बनाउने प्रवृत्ति हावी भएको छ ।

२. पार्टीको नीति निर्माण गर्ने र महत्वपूर्ण पदमा नियुक्ति गर्न निर्देशन समिति गठन हुनुपर्ने पार्टी विधानमा उल्लेख थियो । सो समितिको सल्लाह र समझदारीमा उल्लेखित कार्य गर्नु अनिवार्य थियो । तर, निर्देशक समितिको गठन गरिएन, पदाधिकारी चयन लगायत मन्त्रिमण्डलमा जाने औचित्यबारे कुनै छलफल भएन । यथार्थमा विधानको यो प्रावधानलाई जानी(जानी उपेक्षा गरियो । पार्टीलाई एक व्यक्ति वा एक समूहको झुण्डको स्वार्थपूर्ति गर्ने हतियारको रुपमा प्रयोग गर्न खोजियो ।

३. पार्टी एकीकरणअघि पार्टीको चुनाव चिन्ह हलो हुने समझदारी भएकोमा यो प्रतिवद्धतालाई ठाडै लत्याइएको छ ।

४. प्रचण्ड सरकारले पेश गरेको संविधान संशोधन विधेयकमा राप्रपाले भारी असन्तुष्टि व्यक्ति गर्दै आएको र आवश्यक परे सरकारबाट बाहिरिने प्रष्ट गरेको थियो । सबै बुँदाहरुमा पार्टीभित्र कुनै छलफल नै नगरी अचानक सरकारमा गएको समाचार सुनियो । यसबाट के प्रष्ट हुन्छ भने पार्टी अध्यक्षले मधेस समस्यालाई आफू पदमा पुग्ने हतियारका रुपमा प्रयोग गरेका छन् ।

५. मधेसी दलहरुले आफ्ना मागको सन्दर्भमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेपछि राप्रपा सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा थपिन गयो ।

६. आज देश अशान्त छ । राजनीतिक भिडन्तमा सर्वसाधारण मरेका छन् । देशको सिमानामा समेत नेपाली मारिएका छन् । यसबारे केन्द्रीय समिति तुरुन्त बोलाई पार्टीमा व्यापक छलफल गर्नुको सट्टा संकटको फाइदा उठाई सरकारमा स्थान जमाउन र सरकार टिकाउन तयार हुनु अवसरवादी चरित्र हो ।

७. आज तामाकोसीको विजुलीको सालाखाला एक मेगावाटका लागि १६ करोड पर्छ, जबकि एनसेलको कारोबारसँग गाँसिएको ३५ अर्ब राजश्व उठेको छैन । यसको ३५ अर्बले २०० मेगावाटको विजुली उत्पादन हुन्छ र, प्रचण्ड सरकार यो गुमाउन तयार छ । यसबारे अर्थमन्त्रीले मौखिक प्रस्ताव राख्दा हाम्रो पार्टीको भनाइ के रहृयो भन्ने पनि हामीलाई थाहा छैन । राप्रपाको हालको नेतृत्व सत्तामा नया पद पाउने वित्तिकै हाम फाल्न तयार भयो ।

८. राजदूत नियुक्तिबारे नेतृत्वको कार्यशैली निरासाजनक छ । भ्रष्टाचारको आरोप लागेकालाई फिर्ता लियो र त्यसपछि फेरि राजदूतकै रुपमा सिफारिस कायम गरियो । हाम्रो पार्टी सत्तामा छ, तर यस्तो कुरामा मौन बस्यो ।
९. राप्रपाले तीन राजदूतको नाम पठायो तर यसरबारे पार्टीमा अध्यक्षले छलफल गरेनन्। यसको मतलब राप्रपा अध्यक्षको घरायसी अड्डा बन्यो भन्ने नै हो । अचम्म के छ भने हामीले राजदूत राख्ने भनेको देशले राजदूतावास राख्न स्वीकृति पनि दिएको छैन । विवाहको कुरा छिनिएको छैन तर त्योभन्दा अगाडि जन्ती लिएर जाने भनेजस्तो भयो ।

१०. एकता अधिवेशनपछि राप्रपा अब एउटा सानो समूहको स्वार्थपूर्ति गर्ने एउटा झुण्डको रुपमा मात्र प्रयोग हुन थालेको छ । राजसंस्था र हिन्दु धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थका लागि प्रयोग गरिँदैछ ।