
अराजक अक्षर समूहको मुख्य आयोजना तथा कर्मी नाट्य समूह र होमिज युथ क्लबको सहआयोजनामा मासिक रूपमा सञ्चालन हुँदै आएको ‘काव्य–मेला’को फागुन शृङ्खलामा प्राज्ञ तथा कवि डा. अमर गिरी र उदीयमान कवि अञ्जन ढुङ्गाना प्रस्तुत भएका छन् ।
सिमसिमे झरीले बाहिर मौसम हल्का चिसो भइरहेको बेला भरतपुर नगरपालिका (चितवन)को सभाहलभित्र कवि गिरी र ढुङ्गानाका कविताहरूले माहौल तताइरहेका थिए । शुरुमा ढुङ्गानाले आफ्ना एक दर्जन कविता सुनाए । उनले ‘अनुरोध’, ‘कुना’, ‘अभाव’, ‘खै आँखाहरू’ लगायतका कविता सुनाए ।
दोस्रो चरणमा प्रस्तुत भएका थिए कवि गिरी । पाका कवि प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, एल.बी. क्षेत्रीदेखि युवा पुस्ताकी चर्चित कवि सरिता तिवारीका साथै हलमा खचाखच भरिएका काव्य पारखीहरूलाई साक्षी राखेर उनले आफ्ना चर्चित र लोकप्रिय कविताहरू पस्किए ।
उनले ‘चटामरी’, ‘पाठ’, ‘हाँसोको बजारशास्त्र’, ‘पुनः नारायणहिटी’, ‘नायक’लगायत दश कविता सुनाएका थिए । उनको कविता खुब रुचाइयो । उनले दर्शक तथा स्रोताको अनुरोधमा ‘पुनः नारायणहिटी’ र ‘नायक’ दोहो¥याएर सुनाउनु प¥यो ।
कार्यक्रम आयोजक संस्था अराजक अक्षर समूहका अध्यक्ष मुकुन्द खलपात्रले कविद्वयलाई कार्यक्रम स्वागत तथा सम्मान गरे । कवि सरिता तिवारीले कविद्वयका बारेमा प्रकाश पारेकी थिइन् भने मिताली थापा र उत्तम गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
प्रतिक्रिया