खै म के लेखुँ

खै म के लेखुँ


basanta dhungana

– वसन्त ढुङ्गाना ‘यात्री’

खै म के लेखुँ
काल्पनिक लेखुँ त
झुट हुने डर
यथार्थ बयान गरुँ त
टर्रो–तीतो हुने डर
सत्य खोजी औँल्याऊँ त
कसैलाई खरो हुने डर
झुटकै पक्षमा लेखुँ त
सच्चा आत्मा बिलाउने डर
खै म के लेखुँ

खै केबाट सुरु गरुँ लेख्न
मानवताको स्थिति अथ्र्याउन खोज्छु
आधुनिकताको तुवाँलोले ढाकिदिन्छ
त्यसको तुवाँलो हटाउन खोज्छु
ऐसको चाहनाले छारो हाल्दिन्छ
ऐशको चाहना पखाल्न खोज्छु
स्वार्थले पानी धमिल्याइदिन्छ
स्वार्थलाई छानेर फाल्न खोज्छु
अहङ्कारले घाँटी निमोठिदिन्छ
त्यसलाई हटाउन कलम चलाउँछु त
शब्द आपँैm अलमल्ल पर्छन्
खै केबाट सुरु गरुँ लेख्न

खै म के लेखुँ
देशभक्तिको व्याख्या गरुँ त
देश–चालकका चरित्र आउने डर
सच्चा असल मान्छे छानौँ त
कलम अघि नसर्ने डर
सुन्दर प्रकृतिको महत्व दर्शाऊँ त
विज्ञान र आधुनिकताले सराप्ने डर
स्वच्छ आँतहरूले शब्द चम्काऊँ त
स्वार्थको रापले कविता सल्किने डर
खै म के लेखुँ ?!
– पोकली, ओखलढुङ्गा