
– मोतीराज बम
तिमी फुल या नफुल गोदावरी
मैले चुमे त भो
तिम्रो फूलजस्तो जोवन
तिमी हाँस या नहाँस गोदावरी
मैले टोके त भो
तिम्रो ओठजस्तो मुस्कान
को लठ्ठिएनन् र यहाँ
को मात्तिएनन् र यहाँ
तिम्रो पोटिलो छातीको रङ्गमैदान
तिम्रो सौम्य अनुहारको इन्द्रेणी रङ
तिम्रो बैंसालु नजरको अतृप्त रसपान
कसले लिएनन् र यहाँ
कसले पिएनन् र यहाँ ।
हो गोदावरी
तिमी जानुपर्दैन कतै
यतै आउँछन् सबैसबै
कोही मान्छेरूपी भँमरा
कोही भँमरारूपी मान्छे
हो एकसाथ आउँछन्
एकसाथ जान्छन् र भन्छन्
गोदावरी
तिमी नओइलाउनु तिमी नचाउरिनु
हरेक बिहान
फुल्चोकीडाँडाको गर्भाधानबाट
फुत्त निस्किने लालीझैँ
सधैँ चम्किरहनु
हामी एकसाथ आउनेछौँ
फेरि एकपटक
कुप्रो अनुहार लिएर
तर, नभन्नु त्यो बेला
मक्किएका भुँइमान्छेहरू
नबस मेरो छेउ
न टोक मेरो गाला ।
प्रतिक्रिया